लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा जितिया पर्वको शुभकामना

IMG

तिलोत्तमा सिटी,१३ असोज २०७८। राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन् ।बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।


साथै यस पर्वबाट समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा मिलोस् भनी राष्ट्रपति भण्डारीले कामना गरेकी छन् ।नेपालको तराई क्षेत्रमा बसोवास गर्ने मधेशी तथा थारु समुदायका महिलाहरूले जितीयालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्त्वपूर्ण पर्व हो ।प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।




जितिया पर्वले एकता र सद्भाव प्रवर्धन गरेको छ – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताएका छने ।प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्दै उनले एकतावद्ध भएर पर्व मनाउन अनुरोधसमेत गरेका छन् ।जितिया पर्वको अवसरमा देश-विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना दिंदै प्रधानमन्त्रीले नेपाली संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको उल्लेख गरेका छन् । त्यसमध्ये जितिया पनि एक भएको उनको भनाइ छ ।साथै जितिया पर्वले समस्त आमा र सन्ततिबीच माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरेका छन् । उनले यस्ता पर्वको संरक्षण र सम्बद्र्धनमा सरकार प्रतिबद्ध रहेकोसमेत बताएका छन् ।

कमेन्ट गर्नुहोस्