लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उपाधि कागलाई हेलमेट लगाएजस्तो नहोस्ः गौरी मल्ल

IMG

तिलोत्तमा सिटी,५ असोज २०७८।नायिका गौरी मल्लले कलाकारलाई दिइने कुनै पनि उपाधि कागलाई हेलमेट लगाए जस्तो हुन नहुने जवाफ दिएकी छिन् । नायकद्धय शिव श्रेष्ठ र भुवन केसीले आइतबार आयोजित एक कार्यक्रममा गौरीलाई ‘महानायिका’ भनेका थिए ।सोही समारोहमा उपस्थित गौरीले भनिन्–‘कुनै पनि उपाधि धान्न सकिने हुनुपर्छ । उपाधिका लागि सो व्यक्ति लायक पनि हुनुपर्छ । पाउने व्यक्तिले पनि उपाधिको लागि आफू लायक छु या छैन भनेर अन्तरबोध गर्न आवश्यक छ ।’


गौरीले आफूहरुले काम सुरु गर्दा उपाधि पाइन्छ भनेर नगरेको समेत स्पष्ट पारिन् । भनिन्–‘मैले काम सुरु गर्दा कुनै उपाधि पाइन्छ भनेर गरेकै होइन । विस्तारै हिड्दै हिड्दै यहाँ आएकी हुँ । मलाई त यो देशमा कुनै पनि उपाधिको औचित्य छ जस्तै लाग्दैन । यहाँ त उपाधि भनेको कुनै पनि तस्वीरलाई भित्तामा सजाएर पूजा गरे जस्तो मात्र भएको छ । यसैले, मलाई यस्ता उपाधि चाहिएको पनि छैन । हामी काम गर्ने मानिस हौं, हामीलाई काम दिए पुग्छ ।’गौरीले आज बोलेका कुराहरु भोलीको पुस्ताका लागि इतिहास बन्ने भएकाले सोच विचार गरेर मात्र बोल्नुपर्ने र उपाधि दिइनुपर्ने बताइन् । भनिन्–‘हामीले राणाकालमा कसले कसलाई मार्यो, देखेनौं । तर, पुस्तकमा जे लेखिएको थियो त्यसैलाई स्विकार गर्यौं । राज दरबार हत्याकाण्डमा पनि जे सुन्यौ, त्यही विश्वास गर्यौं ।’


अबको ३० वा ५० बर्षपछिको पुस्ताले अहिले भनिएका कुरालाई नै मान्ने उनको तर्क छ । गौरीले भनिन्–‘कुनै पनि श्रृङ्गार, अलङ्कार सही व्यक्तिलाई दिनुपर्छ । ४ जना मान्छेलाई खुशी बनाउन उपाधि दिएर के गर्ने । आज हामीले बोल्ने कुराले भोलीको पुस्ताको मनस्थिती बदल्छ । मलाई यस्ता कुरामा फिटिक्कै रुची छैन ।’गौरीले कलाकारहरुले यस्तो उपाधिको पछाडि लाग्नु भन्दा पनि कामले प्रमाणित गर्नेतर्फ सोच्नुपर्ने सुझाव दिइन् । उनले, आफूले न त राजाको तर्फबाट न त कुनै सरकारको तर्फबाट कुनै सम्मान नपाएको भन्दै प्रश्न गरिन्–‘के म सम्मानका लागि लायक थिइनँ होला र ? पक्कै पनि थिएँ होला नी । तर, नपाएपनि मलाई कुनै दुःख छैन । दर्शकले दिने स्नेह नै सबैभन्दा ठूलो हो ।’

कमेन्ट गर्नुहोस्