लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जातीय विभेद हटाउने जिम्मा गैरदलितको हो : राजेश हमाल

IMG

तिलोत्तमा सिटी, २६ भदौ २०७८।  जातीय विभेद हाम्रो सोचबाट उत्पन्न समस्या भएकाले यसको निरुपणका लागि हाम्रै सोच परिवर्तन गर्न आवश्यक रहेको अभिनेता राजेश हमालले बताएका छन्।टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’को दोस्रो शृंखलाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा बाेल्दै अभिनेता हमालले आफूले जातीय विभेद अन्त्य गर्नका लागि सोच परिवर्तन गर्नुपर्ने बताएका हुन्। दलित समुदायमाथि हुने गरेका हिंसा, जात व्यवस्थाले सिर्जना गरेको संरचनागत विभेद र त्यसको समाधानबारे छलफल गरिने टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’मा सञ्चालक रहँदा अझ गहिराइमा बुझ्ने मौका पाएको हमालको भनाइ थियो।जातीय विभेदका घटनाले आफूलाई निकै सताउने गरेको अभिनेता हमालले सुनाए। फिल्ममा दलित पात्रको अभिनय गर्दा ती चरित्रलाई नजिकबाट आत्मसाथ गर्ने मौका पाएको उनको भनाइ थियो। “मन-मस्तिष्कको कुनै कुनामा मैले ती चरित्रका भोगाइ, बुझाइ र अनुभव संगालेको छु,” हमालले भने, “बेग्लाबेग्लै जात वा पृष्ठभूमि हुँदैमा एउटा मानवले अर्को मानवप्रति गर्ने व्यवहार किन यति फरक छ भन्ने कुराले मलाई सताउँछ।”


जातीय विभेद हटाउन गैरदलितले पनि लाग्नु पर्ने हमालको भनाइ थियो। “यसको उत्पत्ति त्यो व्यक्तिबाट भयो जो व्यक्ति जातीप्रथामा वा थिचोमिचोमा परेको छैन, गैरदैलित व्यक्तिको सोचबाट यो विदेभको चलन शुरू भएको हो,” हमालले भने, “त्यस मानेमा यो सोच र जातीय विभेद हटाउने जिम्मा पनि गैरदलितकै हो।”अघिल्लो पटक अभिनेता हमालले सञ्चालन गरेको यो कार्यक्रममा यसपटक उनीलाई अर्का अभिनेता दयाहाङ राई, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, गायक प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुंगाना चौधरीले साथ दिनेछन्। पत्रकार सम्मेलनमा बाेल्दै अन्सारीले आयोगमा छँदा आफूले जातीय विभेद भोगेको बताइन्। “मेरो समुदायबाट त्यो संवैधानिक निकायमा पुग्ने सायद म पहिलो व्यक्ति हुँ,” अन्सारीले भनिन्, “नेपाल सरकारले पहिचान गरेर त्यहाँ पुर्‍याएको थियो। तर, त्यहाँ पनि विभेद खेपियो।” आयोगमा हुँदा पनि आफू ‘पितृसत्ताको तापमा जेलिएको’ उनले बताइन्। निर्णय प्रक्रियामा पुरुषहरू मात्रै सामेल भई आफूलाई हस्ताक्षर गरिदिनुस् भन्ने गरेको अन्सारीले सुनाइन्।मैले (जीवनमा) कुनै पनि समय भेटेको छैन, जतिवेला विभेद नखेपेको होस्,” मानवअधिकार आयोगकी पूर्व सदस्य अन्सारीले भनिन्, “मेरो नाम र थरलाई लिएर सौहार्द व्यवहार पाएको याद छैन। मेरो जात र धर्म दुवैमाथि प्रश्न गर्ने गरिएको छ।”


जातीय व्यवस्थाका आधारमा आफू यो समाजको ‘माइलो’ समुदायजस्तै भएको अभिनेता राईको भनाइ थियो। “मभन्दा माथिल्लो जात छ, जसले मैले छोएको खान मिल्दैन,” राईले भने, “मभन्दा तल्लो जात छ, उसले छोएको मैले खानु हुँदैन भन्ने मानसिकता बोकेको समाजमा म हुर्किएँ। तर, यस्ता विभेद हुनुहुँदैन भन्ने कुरा विस्तारै बुझ्दै गएँ।” ‘मेरो पनि हैन र यो देश...’ गीतका गायक सपूतले आफूलाई ‘थरमा विश्वकर्मा नलेखी किन सपूत लेखेको?’ भनेर प्रश्न आउने गरेको बताए। “कति धेरै विभेदका घटना भोगेको छु, कति त बिर्सि पनि सकेँ,” गायक सपूतले भने, “आज तिनै विभेदविरुद्ध आवाजमा आवाज मिसाउन ‘जातको प्रश्न’मा जोडिएको छु।” ढुंगाना थरकी आमा र चौधरी थरका बुबाकी छोरी निश्माले दुई जातबीच समाजले कसरी विभेद गर्छ भन्नेबारे बताइन्।जातको प्रश्नलाई अझ सशक्त बनाउन र सिर्जनात्मक उत्तरको खोजी गर्न कार्यक्रम निर्माण गरिएको समता फाउन्डेशनका कार्यकारी अध्यक्ष प्रदीप परियारले बताए।यो कार्यक्रमको निर्देशन शान्ता नेपालीले गरेकी छन्। कार्यक्रम २२ असोजदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ।

कमेन्ट गर्नुहोस्