लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तरंगित बिदेशी पाहुना : बिक्रम थापा (हाल दक्षिणकोरिया)

IMG
तिलोत्तमा सिटी, २५ भदौ २०७८। कुनै पनि राष्ट्रलाई विदेशी  राष्ट्रले आधिपत्य जमाउन सुरुवातिमा सियो नै बनेर पस्ने गर्दछन।क्रमैसित सानो सानो कुराको अधिकार माग्दै जान्छन।अन्त्यमा पुरै राष्ट्र अधिनमा लिएर राज्यनै कप्ल्याक्क निलिदिन्छन।उदाहरणको तौरमा हाम्रो छिमेकी राष्ट्र भारतमा यस्तै भएको थियो।१७औँ  शताब्दीमा हकिन्स भन्ने एक व्यापारी बेलायतको दुत बनेर जहाँगिरको दरबारमा आएको थियो।मुगल शासक जहाँगिरले बिशेष  पाहुनाको रुपमा दरबारमा भब्य स्वागत गरे।किनकी भारतमा पनि अतिथि देवो भवको संस्कार रहेको छ।त्यो पाहुना, व्यापारको उद्देश्यले थोरै पुँजी लिएर भारत आएको थियो।जहाँगिरले पनि व्यापार गर्ने अनुमती दिए।

त्यो व्यापारीले बिस्तारै बिस्तारै राज्यका सानातिना अधिकार लिँदै गयो।बेलायतबाट रानीको निकट पात्र बोलायो।बेलातको बथान बढाउँदै गयो।भारतको आन्तरिक कुरा बुझ्दै गयो।अनि  राष्ट्रिय चेतना तथा एकतालाई धमिल्याउँदै गयो।अन्त्यमा भारतलाई  गुलाम बनाई छाड्यो।त्यतिले मात्र कहाँ उसको मन मान्योर अखण्ड भारतलाई दुई टुक्रामा विभाजन गरेर मात्र स्वदेश फर्कियो।ताकी चन्द्र र सुर्य रहुन्जेल भाइभाईमा लडिरहुन,दोषी बेलायत नबनोस।बिचरा जहाँगिरलाई थाहा थिएन त्यो एक दिनको पाहुनाले आफ्नै बंशजको बिनाश गर्ने छ,पतन गर्ने छ भनेर।भारत हाम्रो छिमेकी हो।अब उपरान्त त्यस्ता व्यापारी पाहुना पाल्न नपरोस।हाम्रो सुभकामना।त्यस्ता "बरा भन्दै जरा खन्दै"गर्ने विदेशी  व्यापारि कोरियामा पनि आएका थिए त?आज कोरियाको इतिहासको विदेशी पाहुनाको पानाबाट।

१९ औँ शताब्दीको मध्यसम्म तत्कालिन अखण्ड कोरियामा  विदेशी राष्ट्रको आगमनमा रोक लगाईएको थियो।कुनै पनि विदेशीलाई बैधानिक रुपमा कोरियामा छिर्न पाउने अधिकार थिएन।देशमा शान्ति सुव्यवस्था कायम थियो।तर अचानक  पुर्वको देश जापान कोरिया आउन सफल भएको थियो।कसरी भयो त।तथ्यगत इतिहासबाट जानौं।

कोरियामा जापान आगमनको सुरुवाती दिन(१८७६)
सन १८७५ सम्म कोरियामा कुनै पनि राष्ट्रले प्रवेश पाएको थिएन। सन १८७६ मा अचानक जापानले आधुनिक हतियार लिएर  कोरिया आयो।युद्धसँग डराएको कोरियाले सन्धि गर्न बाध्य भयो।सन्धिमा कोरियाको कानुनलाई तल पारेर आफ्नो सन्धि बलियो बनायो।जापानमा बनेको समान ल्याएर व्यापार गर्न पाउने अधिकार लियो।सन्धिमा यस्तोसम्म लेखिएको थियो कि " एदि जापानीहरुले कोरियामा हुँदा कुनै निकृष्ट काम गरेमा त्यसको कार्वाही कोरिया सरकारले गर्न नपाउने।"मुद्दा जापानबाट फैसला हुने कुरा लेखिएको थियो।यसको अर्थ जापानले बलात्कार,हत्या गरेपनि कोरिया बोल्न नपाउने झल्किएको थियो।जापानले जबर्जस्ति कोरियालाई दबाएर आफ्नो फाइदाको लागिमात्र एकतर्फी असमान सन्धि गरेको थियो।

कोरियामा जापानी पुँजीपतिको आगमन 
कोरियन व्यापारी मारमा (१८८०)
जापानले आफ्ना मानिसहरु बोलाएर कोरियामा कारखाना खोल्न लगायो।जापानी कारखानामा बनेको  समान मात्र खरिद गर्ने नियम ल्यायो।यसले कोरियन व्यापारीहरुको कारखाना बन्द हुन पुगे।कोरियन मालिक मारमा परे।कोरियामा अझ सशक्त हुनको लागि कोरियाको सैनिकलाई बिशेष तालिम दिएर नयाँ सैनिक बनाइदिने कुरा कोरियाका राजालाई राख्यो।राजाले खुसी हुँदै स्वीकार गरे।यहि तालिमको नाममा जापानी बिशेष जासुसीहरु कोरिया छिर्न सफल भए।यिनिहरुले कोरियाको गोपनियता, राजा र प्रजाबिचको आन्तरिक कलह पत्ता लगाउन सफल भए।

जापानको युद्ध चीन र रसियासँग,
बास्तबमा कोरियालाई धेरै विदेशी राष्ट्रले अधिनमा लिन चाहेका थिए।तर असफल भएका थिए।रसिया र चीन छिमेकी राष्ट्र उपनिवेश बनाउन दाउ नहुने कुरै भएन।तर जापानले पहिल्यै पाइला टेकेकोले रसिया र चीनलाई समस्या परेको थियो।जापानलाई कोरियाबाट हटाएर आफुले राज गर्ने दाउमा चिनले जापानलाई आक्रमण गर्‍यो।चिनले जित हासिल गर्न सकेन।युद्धमा जापानको जित भयो।लगत्तै रसिया पनि जापानसँग युद्धमा होम्मियो।रसियाले पनि यो युद्धमा हार बेहोर्नु पर्‍यो।जापान कोरियाको एकलौटी  मालिक बन्ने अवसर मिल्यो।

कोरियाको सार्वभौम जापानको अधिनमा  
"प्रभु परें तिम्रै सिरभर ।
जे मन लाग्छ तेहि गर ।।"
भनेजस्तै शासक कमजोर बनेको कोरियामा जापान देश सर्वेसर्वा हर्ताकर्ता बन्न पुग्यो। सन १८७६ मा जापानले कोरियामा व्यापार मात्र गर्ने सन्धि गरेर छिरेता पनि  सन १९०५ मा राज्य नै कब्जामा लिने अर्को असमान  सन्धि गर्न पुग्यो।सन्धि अनुसार कोरियाले  कुनै पनि राष्ट्रसँग वैदेशिक सम्बन्ध राख्न नपाउने कुरामा हस्ताक्षर गरायो।दोस्रो सन्धिको आड्मा जापानी राजनीतिज्ञ कोरिया आइपुगे।कोरियाको मुद्रा पतन गराएर जापानको पैसा मात्र चल्ने बनायो।चन्द्रमासको आधारमा प्रयोग हुँदै आएको कोरियाको धार्मिक पात्रो खारेज गरेर ग्रोगोरियन पात्रो सुरु गरायो।अर्काको देशको शासक आएर आधिपत्य जमाएपछी जनताले आन्दोलन गर्ने राम्रोसँग बुझेको जापानले आधुनिक जेल बनायो।कोरियन जनताहरुको संस्कार,संस्कृति पतन गराउन कोरियनहरुको टुप्पी काट्न लगायो।कोरियनहरुले त्यतिबेला टुप्पी राख्दथे। टुप्पिमा आफ्नो आमा बुबाको बासस्थान हुन्छ भन्ने मान्यता रहिआएको थियो।कोरियाको भाषा बन्द गराएर जापानी भाषा सुरु गराए।

खनिज पदार्थ ओसारपसार गर्न चिनसम्म रेल जोडे।हतोत्साहित बन्दै गएको कोरियन राजालाई पाखा सार्दै "सिङ्गो बाख्रो खाएर कानलाई झ्याक झ्याक भनेझैँ" बचेखुचेको अधिकारहरु मध्यको कोरियन  सेना खारेज गर्न सफल भयो। जापानबाट आफ्नो सैनिक ल्याएर जापनी सेना तैनाथ गरायो।भनिन्छ सफलता ले समय मागेको हुन्छ।सन १८७६ मा कोरिया छिरेको जापान सन १९१० मा कोरियालाई पुर्णरुपमा कब्जामा लिन सफल भयो।सँगसँगै कोरियाको राजबंश पतन भएर गयो।सन १९४५ सम्म  अखण्ड कोरिया देश जापानको गुलामी बनेर रहन पुग्यो।गुलामीको कारण भाषा हरायो।देश हरायो।नाम हरायो।जमिन भित्रको खजना लुटियो।कोरिया एउटा बन्द कारागार बन्न पुग्यो।हजारौं चेली बलात्कृत भए।कहिल्यै पनि नमेटिने घाउको रुपमा कोरियाको कालो इतिहास बनेर कोरिन पुग्यो।

रामलाई जुठो बयर खुलाउने महान नारी शबरी 
त्रेता युगको रामायण कथामा माता सीता बाहेक अर्की  एक महान नारी पनि थिइन।तिनको नाम शबरी थियो।उनी दण्डकारण्य बनमा रामको नाम पुकार्दै बस्दथिन।त्यो उनको पुकार एकदिन मतङ भन्ने ऋषिले सुनेछन।तत्पश्चात ति ऋषिले "तिम्रो यो पुकार रामले सुन्ने छन।एकदिन तिमिलाई भेट्न राम तिम्रै दैलोमा आउने छ्न"तथास्तु भनेर गएछन।नभन्दै एकदिन राम उनकै दैलोमा आए शबरीले बयर खुलाइन।उनको मनोकामना पूरा भयो।

 हामी पनि  सरकारलाई पुकारौं,
सन्सारको २३७ वटा देशमा जहाँजहाँ हामी नेपाली रहेका छौं। हामी सारा नेपालीले गरेको प्रार्थना पनि एउटै छ।हामी नेपाली बिदेशीन नपरोस।विदेशीएका स्वदेश फर्केर देश बिकासमा टेवा पुगोस।१२६ जातिको हाम्रो नेपालमा कसैको आँखा नलागोस।हामी सबैको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता बिदेसिन नपरोस।

कमेन्ट गर्नुहोस्