लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिनेमा प्रदर्शन अन्योलमा

tillotmacitynews - 2021 Sep 04 03:53 PM
IMG

तिलोत्तमा सिटी, १९ भाद्र २०७८, शनिवार । प्रेमगीत-३, म यस्तो गीत गाउँछु-२, चपली हाइट-३ जस्ता केही प्रतीक्षित चलचित्र थिए, जसले प्रदर्शन मिति तय गरिसकेका थिए । छायांकन, सम्पादनका सम्पूर्ण काम सिध्याएर प्रचार-प्रसारको तारतम्य पनि मिलाइसकेका थिए ।तर, कोरोना महाव्याधिले नसोचेको झट्का दियो । प्रदर्शनको मुखमै आएर सिनेमाहरू रोकिए । अब के गर्ने ? सिनेमाकर्मी अन्योलको भुमरीमा गुम्सिए ।फागुनको २३ गते । यदि ‘बाघी’ नामक हिन्दी चलचित्र रिलिज नभएको भए शायद नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुन्थ्यो होला । तर, हिन्दी चलचित्रका कारण निर्देशक तथा निर्माता सुदर्शन थापाले चलचित्रको प्रदर्शन मिति फागुन ३० गतेसम्म धकेले ।विडम्बना । फागुनको २३ गते । चलचित्रको अन्तिम प्रचारका लागि मोफसल दौडमा रहेको समयमा सुदर्शनले विज्ञप्ति मार्फत चलचित्र अनिश्चितकालका लागि पछि सरेको जानकारी दर्शकलाई दिनुपर्‍यो । यो समयमा नेपालमा पनि कोरोनाको त्रास बढिसकेको थियो । हिन्दी चलचित्र ‘बाघी’ हेर्न नै दर्शकले हलसम्म जान रुचि नदेखाएपछि धमाधम नेपाली चलचित्रको मिति पछि सर्‍यो । यसको मारमा सबैभन्दा बढी सुदर्शन थापा परे । किनकि, उनले प्रचारका लागि सबै काम सकिसकेका थिए ।


यसपछि, चैत ७ गतेलाई प्रदर्शन मिति तोकिएको ‘निरफूल’, चैत २१ गतेलाई प्रदर्शन मिति तोकिएको ‘लक्का जवान’, चैत २८ गतेलाई प्रदर्शन मिति तोकिएको ‘प्रेमगीत ३ र चपली हाइट ३’ को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित भयो । वैशाखमा चलचित्र ‘हिजोआजका कुरा’को पनि प्रदर्शन मिति तय गरिएको थियो । यो चलचित्रको प्रदर्शन पनि लकडाउन भएपछि हुन सकेन ।धमाधम प्रदर्शन मिति तोकिएका चलचित्र अनिश्चितकालका लागि पछि सर्दा निर्माताको करोडौं रकम फ्रिज भयो । डेढ वर्ष भइसक्दा पनि यी चलचित्र रिलिज हुनसकेका छैनन् । यसले, निर्मातामा तनाव त थपिदिएको छ नै, साथमा अर्को प्रोजेक्ट शुरू गर्नका लागि जोश पनि आउन सकेको छैन ।पहिलो चरणको लकडाउन सकिएपछि धमाधम केही चलचित्रको छायांकन भयो । ती चलचित्रका निर्माताले प्रदर्शन मिति तय गर्दै काम सम्पन्न गरे । तर, वैशाखबाट फेरि निषेधाज्ञा भएपछि छायांकन भएका दर्जनौं चलचित्रको प्रदर्शन कहिले हुन्छ भन्न सकिने अवस्था छैन ।

कमेन्ट गर्नुहोस्