
तिलोत्तमा सिटी,१५ भाद्र २०७८,मंगलबार।लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन् । घर्ती समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद हुन् ।
मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएकी छन् । आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ । आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयलाई यसबारे पत्राचार गरेपछि प्रदेश सभामा कायम राजनीतिक दल र प्रदेश सभा सदस्यको अभिलेख अद्यावधिक गर्नेछ ।
योसंगै नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा खाता खोलेको छ । यसअघि पाँच दल रहेकामा अब प्रदेश सभामा प्रतिनिधित्व राजनीतिक दलको संख्या ६ पुगेको छ । घर्तीले एमालेका अरु केही सांसद पनि एकीकृत समाजवादीमा आउन सक्ने दावी गरिन् ।‘दुई–दुई पटक संसद विघटन गरेर प्रतिगामी बाटोमा हिँडेको एमाले भन्दा विचार, दृष्टिकोण, नेतृत्वको कार्यशैली सबै हिसाबले राम्रो लागेर एकीकृत समाजवादी रोजेकी हुँ’–घर्तीले भनिन् । उनले आफ्नो दलले लुम्बिनीमा चार दलीय गठवन्धनलाई समर्थन रहने र सरकारमा पनि जानसक्ने बताइन् ।
एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाएपछि एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ ।पार्टी विभाजनपछि दुबै दलले जनप्रतिनिधिहरुलाई आफूतिर तान्ने कसरत गरिरहेका छन् । ८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ भएको छ ।
कमेन्ट गर्नुहोस्