
तिलोत्तमा सिटी,१५ भाद्र २०७८,मंगलबार। नर्भिक अस्पताल, थापाथलीमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नभएको अस्पतालले जानकारी दिएको छ । आज अस्पताल परिसरमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निशाको स्वास्थ्य अवस्थामा उद्धार गरिएको ३ महिनासम्म पनि अपेक्षित सुधार हुन नसकेको जानकारी दिइएको हो ।अस्पतालका प्रमुख कर्पोरेट कम्यूनिकेशन एण्ड पीआर सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा निशाको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ ।
उद्धार गरिएको केही दिनसम्म निशाको स्वास्थ्यमा सुधार हुने केही लक्षण देखिएपनि अहिले भने अवस्था स्थिर नै रहेको अस्पतालले जनाएको छ । विज्ञप्तीमा भनिएको छ–‘निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ । तर, पनि स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । अहिले कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर छ ।’नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले केही समाजसेवीहरुको सहयोग लिएर जेठ २७ गते निशाको उद्धार गरि नर्भिक अस्पतालमा उपचार सुरु गराएकी थिइन् । हालसम्म निशाको उपचारका लागि ५० लाख बढी खर्च भएको समेत जानकारी दिएको छ ।नर्भिकले निशाको उपचारका लागि बाहिरी सहयोगको आवश्यकता नपर्ने बताउँदै सहयोग रकम संकलन नगर्न पनि अनुरोध गरेको छ ।
निशाको स्वास्थ्य अवस्थाको सबै खालको विकल्पको बिषयमा समेत सोच्नुपर्ने अवस्था आएको अस्पतालले जानकारी दिएको छ । निशाको स्वास्थ्य अवस्था स्थिर नै रहने हो भने एक राम्रो रिहाब सेन्टरको आवश्यकता पर्ने समेत नर्भिक अस्पतालले जनाएको छ ।दुर्घटनाका कारण निशाको ब्रेन इन्जुरी भएको र अवस्था निक्कै नै जटिल रहेको समेत उपचारमा संलग्न डाक्टर पंकज जलानले जानकारी दिएका छन् । निशाको स्वास्थ्य अवस्था पूर्ण रुपमा सामान्य नहुने समेत अस्पतालले जानकारी दिएको छ ।दुर्घटनापछि निशाको ब्रेन निक्कै ड्यामेज भएको र लामो समयसम्म उपचारविहिन अवस्थामा राखिएकाले पनि अहिले सबै कोशिशका बाबजुत अवस्थामा अपेक्षित सुधार नआएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।यस्तै, पत्रकार सम्मेलनमा नीशाका पिता प्रेम घिमिरेले भने–‘बाहिर बजारमा छोरीको बिषयमा अनावश्यक कुराहरु सार्वजनिक भैरहेका छन् । यसले, हामीलाई पनि तनाव दिएको छ । देश तथा विदेशबाट फोन आइरहेको हुन्छ । यसैले भ्रमपूर्ण हल्ला नफैलाइदिन म अनुरोध गर्दछु ।
३ बर्ष अगाडि अध्ययनका लागि भारत पुगेकी मोडल घिमिरे कार दुर्घटनामा परेकी थिइन् । उनको दुर्घटना लगतै केही समय भारतमा उपचार भएपनि आर्थिक अभावका कारण उनको परिवारले नेपाल ल्याएर उपचार गराएको थियो । तर, विगत केही समयदेखि निशा अचेत अवस्थामा घरमै थिइन् । निशाको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उपचार निःशुल्क रुपमा सुरु गरेकी थिइन् ।
https://www.tilottamacitynews.com/2021-06-10-053452
कमेन्ट गर्नुहोस्