
तिलोत्तमा सिटी,०७ भाद्र २०७८, सोमबार। नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यताकै कारण महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएकोमा सोमबार नेताहरुले सहमति जुटाएका हुन् ।सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । देउवालाई प्रतिवेदन बुझाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उपस्थित थिए ।
देउवा निवास बुढानीलकण्ठमा प्रतिवेदन बुझ्दै सभापति देउवाले महाधिवेशन निर्धारित मितिमा हुने बताए ।साउन ३० को केन्द्रीय कार्यसमिति बैठकले भदौ २ सम्म सहमति गरी भदौ ३ मा सभापतिलाई प्रतिवेदन बुझाउन भनेको थियो । तर तीन नेता सम्मिलित कार्यदलले पाँच दिन ढिलो गरी सहमति जुटाएको हो ।लेखक संयोजक रहेको क्रियाशील सदस्यता छानविन समितिले साउन १२ मा प्रतिवेदन बुझाउँदै बारा, सप्तरीसहित १३ वटा निर्वाचन क्षेत्रको विवाद सुल्झाउन पार्टीलाई सिफारिस गरेको थियो । यी क्षेत्रमा समायोजनसम्बन्धी विवाद बढी थियो । समितिले बारा र सप्तरीको फाइल भने खोलेको थिएन । ‘अब क्रियाशील सदस्यतासम्बन्धी सबै विवाद मिल्यो,’ नेता रमेश लेखकले भने, ‘सहमतिमा हामीले सदस्यता विवाद टुंग्याएका छौं ।’
कांग्रेसले पाँच पटक महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । चार वर्षमा नियमित महाधिवेशन गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ । तर विधानले दिएको थप एक वर्षको सुविधा र संविधानको ६ महिनाको समय पनि गुजार्दै कांग्रेसले मंसिरमा महाधिवेशनको मिति तोकेको हो ।कांग्रेसको वर्तमान कार्यसमिति चयन भएको भदौ २३ गते साढे पाँच वर्ष पूरा हुँदैछ । कांग्रेसले पार्टीको वैधानिकता जोगाउन भन्दौ भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको हो ।
कमेन्ट गर्नुहोस्