लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गाईबस्तु छाडा छाड्ने प्रवृत्ति रोक्न तिलोत्तमामा कडा निगरानी

IMG

बिपी गौतम / तिलोत्तमा सिटी,१५ साउन २०७८,शुक्रबार। तिलोत्तमा नगरपालिकाले चौपायालाई सडक तथा वनजंगलमा छाड्ने प्रवृत्ति रोक्न निगरानी बढाएको छ। केही समययता नगरका विभिन्न स्थानमा छाडा गाई÷गोरु तथा बाच्छाबाच्छी बढेको पाइएपछि त्यसको नियन्त्रणको लागि नगरपालिकाले निगरानी बढाएको कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले जानकारी दिनुभयो ।‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि’ कार्यान्वयनमा ल्याएको नगरपालिकाले घरमा पालिएका चौपाया बेवारिसे छाड्ने व्यक्तिलाई जरिवाना गर्ने नियम समेत बनाएको छ  कार्यविधिमा घरपालुवा चौपाया बेवारिसे छाडा छाड्नेलाई पहिलो पटक बढीमा रु तीन हजारसम्म जरिवाना गर्न सकिने उल्लेख छ ।




केही दिनअघि वडा नं. १२ मा एकैनाशका दश वटा छाडा जर्सी गाईका बाच्छा भेट्टिएका थिए । यस्तै वडा नं. ११ को वन क्षेत्रमा पनि छाडा गाईबस्तुहरु देखिन थालेको स्थानीयले बताएका छन् । एकै प्रकृतिका छाडा गाईबस्तु सामूहिक रुपमा भेट्टिन थालेपछि नगरपालिकाले यसको बारेमा सुक्ष्म अध्ययन समेत थालेको छ । कुनै व्यक्तिले बाहिरबाट योजनाबद्ध तरिकाले छाडा चौपाया तिलोत्तमा नगर क्षेत्रमा ल्याएर छाडेको हुनसक्ने आशंकाबीच नगरपालिकाले निगरानी बढाएको हो ।तिलोत्तमा नगरपालिकामा गौशाला भए पनि घर–गोठमा पालिएका पशु चौपायालाई छाडा छाड्ने प्रवृत्ति नरोकिँदा छाडा चौपायाका कारण विभिन्न समस्या देखिने गरेका छन् । बेवारिसे छाडा पशु चौपायाले सडक एवं सार्वजनिकस्थलमा पु¥याइरहेको अवरोधले हुनसक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा क्षति नियन्त्रण गर्न कार्यविधि जारी गरिएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले जारी गरेको यो कार्यविधि विपरीत घर–गोठमा पालिएका पशु चौपाया नियतवश घरबाट हटाउने उद्देश्यले सार्वजनिक स्थलमा बेवारिसे छाडी दिने गरेको पाइएमा नगरपालिकाले त्यस्ता पशु चौपाया धनीको पहिचान गरी पहिलो पटक बढीमा तीन हजार र पटक–पटक गरेमा क्रमशः ५० प्रतिशतका दरले बढाउँदै जरिवाना गरी नियन्त्रणमा लिइएका त्यस्ता छाडा पशु चौपाया सम्बन्धित पशुधनीकै जिम्मा लगाउने नियम नगरपालिकाले बनाएको छ ।घर–गोठबाट पशु चौपाया हटाउने मनसायले त्यस्ता पशु चौपाया सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा छाड्ने, छाड्न लगाउने कार्यमा संलग्न पशु चौपाया धनीको सूचना दिने व्यक्ति, सङ्घ संस्थालाई त्यस्तो चौपाया धनीबाट असुल गरिएको जरिवानाको ५० प्रतिशत रकम पुरस्कारस्वरुप उपलब्ध गराउने व्यवस्था पनि नगरपालिकाले गरेको छ ।

कमेन्ट गर्नुहोस्