लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

"आर्थिक विकास र सामाजिक न्याय सहकारीको अध्याय"

tillotmacitynews - 2021 Jul 23 12:11 PM
IMG

तिलोत्तमा सिटी,८ साउन २०७८,शुक्रवार। समान उद्देश्य र आर्थिक अवस्था भएका एकै प्रकारको आवश्यकता रहेका व्यक्तिहरु एक आपसमा परस्पर मिलेर गठन गरिने संगठन सहकारी संगठन हो । त्यसै गरी दीर्घकालसम्म टिकिरहने र आर्थिक रुपमा उत्थान गरी जीवनस्तरमा सुधार ल्याउने खालको आर्थिक विकास दिगो आर्थिक विकास हो र समाजमा सबैलाई स्वतन्त्रता, समान हैसियत र अधिकार प्रदान गर्नु सामाजिक न्याय हो । सहकारी संगठन व्यवसायिक एकाधिकार बिरुद्ध लड्नुका साथै, मध्यस्थकर्ता, प्रतिस्पर्धा र चुहावट हटाउन खोलिएका हुन्छन् । यिनले समाजमा दिगो आर्थिक विकास गर्न र सामाजिक न्याय प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछन् ।


‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मुल सिद्धान्त सहकारीले बोकेको हुन्छ । सर्बप्रथम सन् १८४४ मा इङ्ग्ल्याण्डको म्यान्चेस्टर सिटीमा २८ जना मजदुरबाट सहकारी संगठनको सुरुवात भएको हो । नेपालमा चाहिँ चितवनको बखान सहकारी हुँदै सहकारी प्रणालीको सुरुवात भएको मानिन्छ । सहकारी संगठन एउटा त्यस्तो संगठन हो । जहाँ समान आर्थिक हैसियत भएका मानिसले व्यवसायिक संगठनमार्फत् आफ्नो कमजोरीलाई शक्तिमा बदल्ने प्रयत्न गर्दछन् ।


सहकारीले ठूला व्यापारी र पुँजीपतिको शोषण र दमनबाट मुक्त हुनका लागि आपसी सहयोगद्वारा स्व–सहयोग भन्ने मान्यताका आधारमा आफ्ना शेयर सदस्यहरुलाई न्युन ब्याजदरमा ऋण उपलब्ध गराउने तथा सुपथ मुल्यमा वस्तु तथा सेवा प्रदान गर्ने गर्दछ । जसले गर्दा सहकारीमा आवद्ध रहेका मानिसको आर्थिक विकास हुनुका साथै सामाजिक न्याय प्राप्त गर्दछन् । कम व्याजदरमा ऋण र सुपथ मुल्यमा वस्तु पाउँदा शेयर सदस्यहरुको आर्थिक स्तर माथि उठ्नमा सहयोग पुग्दछ । यसरी उनीहरुले पुँजीपतिको चर्को व्याजदर र आर्थिक शोषणबाट मुक्त भइ सामाजिक न्यायको महशुष गर्दछन् ।


सहकारीले आफ्ना शेयर सदस्यहरुलाई अनिवार्य वचत गर्न प्रोत्साहित गर्दछ । जसले गर्दा शेयर सदस्यहरु ठूलो आर्थिक भार महशुष नगरिकन नै पुँजि निर्माण गर्दछन् । यसरी आर्थिक रुपमा ठूलो बोझ नउठाइकन नै आफुलाई आवश्यक परेको आर्थिक संकट पार गर्न र आफ्नो वचतलाई पुँजीको रुपमा परिचालन गरी स्वरोजगार बन्न सक्छन् । मानविय विभिन्न आवश्यकता पुरा गर्न तथा व्यवसाय सञ्चालन गर्न पुँजी चाहिन्छ । पुँजी निर्माणका लागि बचत आवश्यक हुन्छ र वचतका लागि वचत गर्ने सुविधा हुनुपर्दछ । त्यो सुविधा प्रदान गर्ने काम सहकारीले गर्दछ । सहकारीमा शेयर सदस्यले वचत गर्ने सुविधा प्राप्त गर्नुका साथै कम व्याजदरमा ऋण प्राप्त गर्ने र तिर्दा पनि किस्ताबन्दीमा सहजै तिरे हुने भएकाले सहकारीले आफ्ना शेयर सदस्यलाई आर्थिक पाटोमा दिगो रुपले दरिलो बनाउन ठूलो सहयोग गरेको छ । जसले गर्दा समाज पनि समानता, स्वतन्त्रता र न्यायको बाटोमा अघि बढिरहेको छ ।


सहकारी मार्फत् नै राष्ट्र निर्माणको अपेक्षा हामीले राख्न सक्छौँ । सहकारीले नै कमजोर आर्थिक स्थिति भएका मानिसको जीवनस्तर उकास्न सक्ने र समाजमा समानताको स्थिति खडा गर्न सक्ने हैसियत राख्दछ । तर सहकारी शहर केन्द्रित र वचत संकलन तथा ऋण प्रदान जस्ता कुरामा मात्र सिमित रहनु हुँदैन । यो देशमा सहकारीको कार्यक्षेत्र व्यापक छ र जिम्मेवारी पनि ठुलो छ । नेपाल सरकारले तीन खम्बे अर्थ नीति अवलम्बन गरेको छ जस अन्तर्गत सरकार, नीजि क्षेत्र लगायत  सहकारी पनि एक हो । सरकार सबै ठाउँमा पुग्न सम्भव हुँदैन र नीजि क्षेत्रले नाफा हेरेर काम गर्ने हुँदा हरेक क्षेत्रमा पुग्दैन तसर्थ सरकार नपुगेको र नीजि क्षेत्र जान नचाहेको ठाउँमा पुगेर कार्य गर्ने हुँदा आर्थिक विकास र सामाजिक न्यायमा सहकारी एक महत्वपूर्ण खम्बाको रुपमा स्थापित छ ।


तसर्थ नेपाली जनता र नेपाली समाज रुपान्तरणको सम्वाहकको रुपमा सहकारी अघि बढ्नुपर्दछ । नेपाली जनतालाई आर्थिक उन्नति र सामाजिक न्यायको तिर्खा मेटाउने स्रोत सहकारी बन्न सक्दछ । देशमा सहकारी मार्फत् नै दिगो आर्थिक विकास र सामाजिक न्याय पुर्ण रुपमा ल्याउन सकिने भएकाले त्यसतर्फ सम्पुर्ण सहकारीकर्मी भिष्म प्रतिज्ञाका साथ लाग्नु आवश्यक छ ।


गोविन्द भुसाल

तिलोत्तमा–२, रूपन्देही

कमेन्ट गर्नुहोस्