लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महामारीकैबीच आजदेखि सुरु हुँदैछ टोकियो ओलम्पिक, गौरिका र एलेक्सले नेपालको राष्ट्रिय झण्डा बोक्ने

tillotmacitynews - 2021 Jul 23 08:21 AM
IMG

तिलोत्तमा सिटी,८ साउन २०७८,शुक्रवार। कोरोना भाइरस को बढ्दो संक्रमणकैबीच विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आजदेखि जापानको राजधानी टोकियोमा औपचारिक रूपमा सुरु हुँदैछ ।३२औं संस्करणको गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिकका केही खेलहरू दुई दिन अघिदेखि नै सुरू भए पनि उद्घाटन समारोह आज हुन लागेको हो ।२०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि धकेलिएको थियो । त्यसैले यस ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै छ ।ओलम्पिकको इतिहासमै पहिलो पटक स्थगित भएर एक वर्षपछि ओलम्पिक हुन लागेको हो । यसअघि विश्वयुद्धका कारण तीन पटक भने ओलम्पिक रद्द नै गरिएको थियो ।


टोकियो ओलम्पिक २०२० को उद्घाटन नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । नेशनल स्टेडियम टोकियोमा हुने उद्घाटन समारोहमा १५ राष्ट्र र संगठन प्रमुख उपस्थित हुने तयारी भइरहेको छ । औपचारिक उद्घाटन आज हुन लागेको टोकियो २०२० को सफ्टबल र फुटबल खेलहरु भने दुई दिन अघिदेखि नै सुरु भइसकेको छ ।हरेक खेलाडीको सपना कम्तीमा एक पटक ओलम्पिक खेल्ने हुन्छ नि त्यसमा पदक जित्दै अझ ठूलो उपलब्धि हात पार्न चाहन्छन् । १७ दिन चल्ने ओलम्पिकमा यस पटक पनि करिब ११ हजार भन्दा बढी खेलाडी थप उपलब्धि हासिल गर्ने लक्ष्यसहित टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् ।




टोकियोमा कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा आपतकालीन अवस्था लागू गर्दै विनादर्शक ओलम्पिक आयोजना हुँदैछ । टोकियोमा अहिले झण्डै दैनिक करिब २ हजार संक्रमण देखिन थालेको छ । टोकियोमा त्रास बढिरहेको छ । स्थानीय बासिन्दाहरु ओलम्पिक आयोजनाको विरोधमै छन् । तैपनि विश्वकै धेरै खेल एकैपटक हुने कुम्भमेला ओलम्पिक आजदेखि सुरु हुँदैछ । यस पटकको सबैभन्दा ठूलो फरक भनेकै दर्शकविना ओलम्पिक हुँदैछ । दर्शकले अब टेलिभिजनमै ओलम्पिक हेर्नेछन् ।यसैगरी ओलम्पिकमा सहभागी हुने देशहरुबाट भ्रमण गर्ने पदाधिकारीको संख्या पनि यसपटक घटाइएको छ ।


आयोजकले कोभिड-१९ को असरलाई ध्यानमा राख्दै सहभागिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न सेटमा प्लेबुक सार्वजनिक गरेको छ । जसलाई खेलाडी अफिसियलदेखि लिएर ब्रोडकास्टरहरुले समेत पालना गर्नुपर्नेछ । दैनिक रुपमा सबैले कोरोना परीक्षण गराउनुपर्नेछ। ओलम्पिक भिलेजमा सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ ।ओलम्पिक सुरु हुनु अघिल्लो दिन गिनीले कोरोनाकै त्राका कारण आफ्नो कुनै खेलाडी नपठाउने निर्णय गरेको छ । उत्तर कोरियाले पनि यसअघि नै कोरोनाकै कारण ओलम्पिकमा सहभागी नहुने जनाइसकेको छ ।टोकियो ओलम्पिकमा अमेरिकाबाट सबैभन्दा धेरै ६१३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । आयोजक जापानबाट ५५२ खेलाडी प्रतिस्पर्धा गर्दैछन् । यस पटक शरणार्थी टिमबाट २९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।टोकियो ओलम्पिकमा पाँच नयाँ खेलसँगै विभिन्न ३३ खेलको ३३९ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ ।




नेपालबाट ५ खेलाडी सहभागी

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले सहभागिता जनाउँदैछन् । जसमा पौडीका गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट छन् ।गौरिका, एलेक्स र सरस्वती युनिभर्सल कोटामा ओलम्पिकका लागि छनोट भएका हुन् भने कल्पना र सोनियाले वाइल्ड कार्डमार्फत् ओलम्पिकमा खेल्ने अवसर प्राप्त गरेका हुन् ।पाँचमध्ये नेपालका चार खेलाडी जापान पुगिसकेका छन् । पौडी खेलाडी गौरिका र एलेक्सले जापानको तोकुशिमा दुई साताको विशेष प्रशिक्षण गरेर ओलम्पिक भिलेजमा पुगेका हुन् । यस्तै सुटिङ खेलाडी कल्पना र जुडोका सोनिया पनि ओलम्पिक भिलेजमा पुगिसकेका छन् ।ढिला प्रतिस्पर्धा गर्ने भएकाले एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी लगायत केही पदाधिकारीको टोली भने जुलाई २४ अर्थात शनिबार जापानतर्फ प्रस्थान गर्दैछन्।


नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसँगै २६ जनाको टोली ओलम्पिकमा सहभागी हुने नेपाल ओलम्पिक कमिटीले जनाएको थियो । तर राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले व्यक्तिगत कारण भन्दै ओलम्पिकमा सहभागी नजनाउने भन्दै विज्ञप्ती नै सार्वजनिक गरे । यसैगरी नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङले पनि ओलम्पिक नजाने निर्णय गरे । अब ओलम्पिकमा नेपालबाट खेलाडी र प्रशिक्षक गरी ९ जना र पदाधिकारी १५ जना सहभागी हुनेछन् ।यस पटक ओलम्पिकको उद्घाटन समारोहको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले संयुक्त रुपमा बोक्नेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलले लैंगिक समानता गर्न भन्दै यस पटकदेखि एक महिला र एक जना पुरुष खेलाडीले झण्डा बोक्न पाउने निर्णय गरे अनुसार नेपालबाट पनि दुई खेलाडीले झण्डा बोक्नेछन् ।


पाँच वर्षअघि ब्राजिलको रियोमा भएको ओलम्पिकमा सबैभन्दा कान्छो खेलाडी बनेर चर्चा कमाएकी गौरिका लगातार दोस्रो पटक ओलम्पिक खेल्दैछिन् । यसअघि पौडीकै प्रशिद्धजंग शाहले सन् २००८ र २०१२ मा लगातार ओलम्पिक खेलेका थिए ।नेपालबाट सर्वाधिक ओलम्पिक खेल्ने कीर्तिमान भने म्याराथन धावक बैकुण्ठ मानन्धरको नाममा छ । मानन्धरले सन् १९७६ देखि १९८८ सम्म लगातार ओलम्पिकमा म्याराथनका दौडेका थिए । यस्तै हरि बहादुर रोकायले पनि दुई पटक ओलम्पिकमा सहभागिता जनाएका छन् ।


कल्पना र सोनियाको प्रतिस्पर्धा शनिबार

नेपालबाट टोकियो ओलम्पिक सहभागी ५ खेलाडी मध्ये सुटिङकी कल्पना र जुडोका सोनियाले ओलम्पिक उद्घाटनको भोलिपल्टै प्रतिस्पर्धा गर्नेछन् ।दुवै खेलाडी वाइल्ड कार्डमार्फत छनोट भएका हुन् । कल्पनाले महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । यस्तै सोनियाले महिला ४८ केजी तौलसमूहमा खेल्नेछिन् । उनले पहिलो चरणमै रुसकी डोल्गाभा इरिनासँग प्रतिस्पर्धा गर्नेछिन् ।यस्तै पौडी खेलाडी एलेक्स शाहले जुलाई २७ मा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । गौरिका सिंहले जुलाई २८ मा महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।नेपालबाट टोकियो २०२० मा प्रतिस्पर्धा गर्ने अन्तिम खेलाडी एथ्लेटिक्सकी सरस्वतीले जुलाई ३० मा महिला १०० मिटर दौडमा सहभागिता जनाउनेछिन् ।

(फोटो: आइओसी/एनओसी/एनएसजेएफ)

कमेन्ट गर्नुहोस्