लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रत्यौलीकी आमा, रातारात गायिका,बसन्तले बनाए चर्चित

IMG

तिलोत्तमा सिटी,८ साउन २०७८,शुक्रवार।  विख्यात फिल्ममेकर सत्यजित रेको एउटा कथा छ, ‘पटोल बाबु फिल्मी स्टार ।’ यसमा एक पात्र छन्, पटोल बाबु । उनको उमेर ५० वर्षको हाराहारीमा छ । जीवनको उत्तरार्द्धमा उनीसँग केही गरौंला भन्ने रहर, आकांक्षा छैन ।सानो छँदा नाटक, रंगमञ्चमा काम गर्ने खुब रहर थियो । उनले जात्राहरुमा त भाग लिएका थिए । तर, सोचेजस्तो कहाँ हुन्छ र जीवन ? अनेक हण्डर खाँदै उनी गुजाराकै लागि संघर्ष गरिरहे । वैंशालु रहरहरु यत्तिकै थान्को लगाएर ।


तर, एकदिन नसोचेको भयो । उनलाई एउटा फिल्मका लागि अफर आयो । त्यो उमेर-चरणमा अनायासै आएको यो प्रस्तावले उनको मनमा कस्तो हलचल पैदा गर्‍यो होला ? कथाले विस्तारमा भन्छ ।पटोल बाबु र चन्द्रा सुवेदीको उमेर मिल्छ, दुवै ५० हाराहारीका । रहर मिल्छ र कथा पनि करिब-करिब ।सुर्खेत बानियाँटारकी हुन् चन्द्रा सुवेदी । उमेरमा उनी रौसे थिइन् । गाउँघरका बिहे-बटुलोमा गीत गाउँथिन् । मनको कतै कुनामा सुषुप्त रहर थियो, गायिका बन्ने । तर, जीवन त्यत्तिकै घर्केर गयो । मेलापात, घाँस दाउरामै दिनहरु बिते । उमेर पुग्यो, बिहे गरिन् । घरजम भयो, चार छोराछोरी भए । उमेर बुढ्यौलीतर्फ ढल्कियो ।तर, एकदिन अचम्मै भयो । उनलाई काठमाडौंबाट फोन आयो । त्यो फोन एक गायक/संगीतकारको थियो । उनले फोनमा भने, ‘तपाईं काठमाडौं आउन सक्नुहुन्छ ? गीत रेकर्ड गराउनुहुन्छ ? म्युजिक भिडियोमा खेल्नुहुन्छ ?’ फोनकर्ता थिए, वसन्त थापा ।




‘सालको पात टपरी’, ‘चौतारीको बर’, ‘जाम सुस्तै’ ‘बोकेझार’ जस्ता मोहनी-गीतका संगीतकार । गायक र मोडल पनि ।घर-गृहस्थीमा व्यस्त चन्द्रा सुवेदीलाई के भनौं, के नभनौं भयो । एकछिन त वाक्य फुटेन । जीवनमा कहिल्यै नसोचेको कुरा अप्रत्यासित आइपर्दा कस्तो हुन्छ ? उनी भावशून्य भइन् ।‘शुरुमा त पत्याउनै गाह्रो भयो’ चन्द्रा सुनाउँछिन्, ‘गाउने रहर त सानैदेखि थियो तर यो उमेरमा आएर कसैले गीत गाउने मौका दिन्छ भन्ने लागेकै थिएन ।’ काठमाडौंबाट संगीतकारको फोन आएको कुरा उनले हौसिँदै घर-परिवारलाई सुनाइन् । सबैजना दंग परे । अनि जुटे, यात्राका लागि बन्दोबस्ती मिलाउन । तीन दिनपछि चन्द्रा घरबाट हिँडिन्, बहिनी र छोरीलाई साथ लगाएर । सुर्खेतबाट काठमाडौं जाने बसमा चढिन् ।


०००


वसन्त थापा पर्खिरहे । दिन बित्यो, दुई दिन बित्यो । चन्द्रा सुवेदी आइपुगिनन् ।वसन्तले चन्द्रा सुवेदीलाई त्यसअघि चिनेका, भेटेका थिएनन् । सुर्खेतमै एकजना भाइ थिए, उमेश अधिकारी । वसन्तले उनैलाई चन्द्रा सुवेदीको मोबाइल नम्बर खोज्न सहयोग मागे । फोन नम्बर फेला पर्‍यो । वसन्तले फोन गरे ।‘त्यो गीत गाएको हजुरले हो आमा ?’ उनले फोनमा सोधे ।उताबाट जवाफ आयो, ‘हो बाबु, मैले गाएको ।’वसन्तले प्रश्न गरे, ‘तपाईं काठमाडौंमा आएर गीत रेकर्ड गराउन चाहनुहुन्छ ? वा अरू कसैले गीत रेकर्ड गराइदिने भनेको छ ?’मनको कतै कुनामा सुषुप्त रहर थियो, गायिका बन्ने । तर, जीवन त्यतिकै घर्केर गयो । मेलापात, घाँस दाउरामै दिनहरु बिते । उमेर पुग्यो, बिहे गरिन् । घरजम भयो, चार छोराछोरी भए । वैंश बुढ्यौलीतर्फ ढल्कियो । तर, एकदिन अचम्मै भयो ।जवाफ आयो, ‘मैले त उहिलेदेखि नै गीत गाएकी हुँ । साथीभाइ, छिमेकीले रेडियोमा गाउन भनेकी थिइन् । खै, त्यो दिन कहिल्यै आएन बाबु । गाउने रहर त कति छ कति ।’वसन्तले उनलाई काठमाडौं डाके । यसो भन्दै, ‘ढुक्कले आउनुहोस् आमा, म गीत रेकर्ड गराइदिन्छु ।’




भाइको विवाह थियो गाउँमा । खुब रमझम थियो । आफन्त, छिमेकीहरु गीत गाउँदै रमाइलो गरिरहेका थिए । यत्तिकैमा कसैले त्यसको भिडियो खिचेर युट्युबमा अपलोड गरेछ ।रत्यौलीको टुक्का टिकटकमा भाइरल भयो ।टिकटकमै देखेपछि वसन्तले चन्द्रा सुवेदीको आवाजमा गीत रेकर्ड गराउने मनसाय बनाए । रत्यौली एक सांस्कृतिक गीत हो । खासगरी विवाहमा गाउने गरिन्छ । रत्यौली पनि दुई प्रकारको हुन्छ । एउटा, बेहुली लिन जन्ती हिँडेपछि बेहुलाको घरमा महिला मात्र भेला भएर गाउने । यतिबेला पुरुषलाई निषेध गरिन्छ । महिलाहरु मनखुसी गाउँछन् । यो केही उत्ताउलो हुन्छ । खुलेर यौनका प्रसंगहरु जोड्न सकिन्छ ।खासमा बेहुली लिन गएपछि एकरात उतै बस्ने र भोलिपल्ट मात्र दुलही लिएर आउने प्रचलन छ । यसरी बेहुली लिएर फर्किएपछि पनि पुनः रत्यौली सुरु हुन्छ । तर, यतिबेला अघिल्लो रातको जस्तो उत्ताउलो गर्ने छुट हुँदैन । अलि संयमित भएर खेल्नुपर्छ । नव दुलहीलाई रत्यौलीमा ‘सानी माया’ भनी सम्बोधन गरिन्छ ।अहिले विवाहमा रत्यौली गाउने प्रचलन हराउँदै गएको छ । तर, सुर्खेतको विवाहमा खिचिएको भिडियो टिकटकमा भाइरल भएपछि यसको रौनक बढेको हो ।वसन्त थापाले रत्यौलीको ट्र्याक तयार गरिसकेका थिए । उता चन्द्रा सुवेदी आइपुगेकै थिइनन् । ‘उताबाट हिँडेपछि निकै बिजोग भएछ’ थापाले सुनाए, ‘नवलपरासी र नारायणघाट खण्डको पहिरोले उनीहरुलाई चार दिनसम्म रोक्यो ।’आखिर दुःखजिलो सहदै चन्द्रा सुवेदी काठमाडौं आइपुगिन् ।


०००


सुरुमा स्टुडियो भित्र लगेपछि चन्द्रा सुवेदी आत्तिइन् । ‘अलि डर लाग्यो बाबु’ चन्द्रा सुवेदी सुनाउँछन्, ‘कहिल्यै त्यस्तो देखिएको थिइनँ ।’


एकैपटक स्टुडियोमा लगेर गाउन लगाउँदा गाह्रो हुन्छ भनेर वसन्त थापाले गाडीमा पनि गीत गाउन लगाए । ‘सुरुमा उहाँलाई स्केल थोरै हाइ भयो, टाइमिङ समेत समात्न गाह्रो भयो’ वसन्त भन्छन्, ‘गाउँमा स्वतन्त्र गाउन र स्टुडियोमा एउटा फ्रेमभित्र गाउन धेरै अन्तर हुन्छ ।’  तीन चार दिनसम्म आफैँसँग राखेर वसन्त थापाले गायनको अभ्यास गराए । यसको लय संकलन र शब्द रचना उनै चन्द्रा सुवेदीको थियो ।गीत रेकर्ड भयो । सुरुमा ज्योति मगरले गीत उठाएकी छिन् र त्यसपछि चन्द्रा सुवेदीले गाएकी छिन् । अडियो तयार भयो ।‘यसमा मैले तीज र रत्यौलीको भेद छुट्याउन खोजेको छु’ वसन्त भन्छन्, ‘साथै सभ्य रत्यौली र अलि शृङ्गारिक रत्यौलीको भेद पनि छुट्याउन खोजेको हुँ ।’

०००


म्युजिक भिडियोको तयारी भयो । चन्द्राले अब क्यामेराको अघिल्तिर उभिएर नाचगान गर्नुपर्ने भयो । यो पनि नसोचेकै भयो ।दुई हप्तासम्मको काठमाडौं बसाइँ यस्तो भयो, मानौं उनी एक चल्तापूर्जा सेलिब्रेटी हुन् । कहिले रेकर्डिङमा, कहिले सुटिङमा, कहिले अन्तर्वार्तामा । गाउँमा घाँस दाउरा गर्दै बसेकी उनलाई यो शहरले बेग्लै आतिथ्य दियो ।यसपालि काठमाडौंबाट फर्कँदा उनले बसको पट्यारलाग्दो यात्रा गर्नुपरेन । त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उड्दै गर्दा उनले नयाँ चिनारी पाउँदै थिइन्, गायिका ।

कमेन्ट गर्नुहोस्