लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कमरेड हराएको सूचना !

IMG
प्रकाश तिवारी /तिलोत्तमा सिटी,८ साउन २०७८,शुक्रवार। 
‘जनता इतिहासका निर्माता हुन् । एककाँटी सलाई ज्वालाको बीउ रोप्छ । आगोको सानो फिलिङ्गोले सारा बस्ती उजाड पार्छ । जब ज्वालामुखी फुट्छ, चट्टानहरू पग्लन्छन् । इन्द्रासन डग्मगाउँछ । प्रलयको उद्भव युगौंदेखि धर्तीको गर्भमा दमित असन्तोष हो ।’उसको यही भनाइ मार्चपास गरिरहेको थियो मभित्र । यसैबीच मेरा आँखा प्रहरी चौकीको भित्तामा लेखिएको ‘प्रहरी मेरो साथी’ वाक्यांशमाथि पर्छन्। अनायास विचार प्रवाहमा राजा महेन्द्र मल्ल र श्री-३ पद्मशमशेर प्रकट हुन पुगे ।महेन्द्र मल्ल हरेक दिन धुरीमा चढी प्रजाका घरबाट धूवाँ आए नआएको हेर्थे भन्ने भनाइ छ । सत्तासीन छँदा श्री-३ पद्मशमशेरले पनि ‘म राष्ट्रको नोकर हुँ’ भनी दावा गरेका थिए रे । त्यसो त सत्ताको मुलायम कुर्सीमा बसी पपुलिस्ट कुरा गर्नेहरूको श्रृङ्खला यतिमै टुङ्गिंदैन । तर दावा गर्नु एउटा कुरा, यथार्थमै जनताको दुःख-सुखमा साथसाथ रहनु अर्को कुरा हो ।

म फेरि ‘ब्याक टु मंगलमान’ हुँदै प्रारम्भमा पुग्छु- ‘एककाँटी सलाई ज्वालाको बीउ रोप्छ । आगोको सानो फिलिङ्गोले सारा बस्ती उजाड पार्छ । प्रलयको उद्भव युगौंदेखि धर्तीको गर्भमा दमित असन्तोष हो ।’मलाई उसको त्यस अभिव्यक्तिले निरन्तर पछ्याइरहेकै थिए ।कुरा २०२७/२८ सालतिरको हो । चूक पोखेजस्तो कालो रात । औंसीको सीमान्त विन्दु भेट्ने रहरमा ओइलाउँदै गएको जून । रूखका पातहरू फड्कार्दै बहेको थियो तातो हावा । सुकेको खरको राँको बाल्दै बीस-बाइसको पठ्ठा जवान बास माग्न आइपुग्छ ।रौं-रौंमा ‘अतिथि देवो भव’को संस्कार पालेको मैले विना हिच्किचाहट उसको स्वागत गरें । उसले पिठ्युँको झोला निकाली पिंढीमा बिसायो । ऊ थाकेको मात्र होइन, गर्मीले पाकेको पनि थियो । त्यस दिन उसले लगातार दश कोस लामो यात्रा गरेको रहेछ ।

उसले रूद्रघण्टी नचाउँदै दुई अङ्खोरा पानी पियो अनि रूमाल झिकेर पसिना पुछ्यो । रूमाल निकाल्दा झोलाभित्रको रातो किताब फुत्त बाहिर निस्कियो । मेरा आँखा पुस्तकको कभरमा अङ्कित दाह्रीवाल मनुष्यको तस्वीरमाथि परे । दाह्रीवाल हाम्रा आदिम ऋषि महर्षि जस्तै देखिन्थे । निमेषभरका लागि पुस्तकको कभरमा अङ्कित दाह्रीवाल र मेरा आँखा जुधे । मैले फोटोतर्फ नजर लाएको देखेर आगन्तुक बोल्न थाल्यो- ‘यी दाह्रीवाल वृद्ध हाम्रा आदर्श हुन् । एक दिन हामी यिनको दर्शनमा आधारित समतामूलक समाज निर्माण गरेरै छोड्नेछौं ।’ऊ निकै भोकाएको थियो । उसले गुन्द्रुकको अचारसँग केही घान मकै मीठो गरी चपायो । अनि ओछ्यानमा जानुअघि एल्बम निकालेर आफ्नो बाबुको फोटो देखायो । फोटो २००७ सालको क्रान्तिको उद्घोष गर्न बसेको वैरगनिया सम्मेलनताका खिचिएको थियो । फोटोमा उसको बाबु काँधमा बन्दूक भिरी राणाशाही विरूद्ध सशस्त्र युद्धको विगुल फुकिरहेको सहजै अनुमान लगाउन सकिन्थ्यो ।

यमराज त्यसपछि एकैचोटि २०४६ सालमा मेरो घर आइपुग्यो । रातमै आयो, अनि उज्यालो नहुँदै निस्केर गयो । त्यसपटक पनि कहाँ जाँदै थियो ऊ, न मैले सोधें, न उसले बतायो !कोठामा टुकीको मधुरो प्रकाश छाइरहेको थियो । त्यसरात आगन्तुक र मबीच लामै भलाकुसारी चल्यो । उसले शोषित, उत्पीडित र सीमान्तकृत वर्गको मुक्ति नै वास्तविक अर्थको रामराज्य भएको व्याख्या गर्‍यो ।‘तपाईंको नाम के पर्यो ?’ सोध्न मुख बाउँदै थिएँ म । ‘मेरो नाम यमराज हो ।’ ऊ स्वयम् बोलिदिएपछि म चुप भएँ ।‘अलि राम्रो नाम दिएको भए पनि हुने नि हगि ? पण्डितले न्वारानका दिन यही नाम जुराएका रे ! म यही नामले चिनिंदै गएँ ।’ उसले यमराज नाम रहनु पछाडिको रहस्यसमेत खोल्यो ।‘त्यसो त नाममा के छ, गुलाफलाई जुनसुकै नाम देऊ ! गुलाफ गुलाफ नै हो’ मैले पनि भनिदिएँ ।

भोलिपल्ट भालेको डाँकोमा उठेर कहाँ जाँदै थियो ऊ ? न मैले सोधें, न उसले भन्यो । यमराज त्यसपछि एकैचोटि २०४६ सालमा मेरो घर आइपुग्यो । रातमै आयो, अनि उज्यालो नहुँदै निस्केर गयो । त्यसपटक पनि कहाँ जाँदै थियो ऊ, न मैले सोधें, न उसले बतायो !पछिल्लो पटक २०६२ सालमा मेरो घर आएको थियो ऊ । यमराज त्यतिबेलासम्म बूढो भैसकेको थियो । तर जोश, जाँगर, उमङ्ग, उत्साह भने बाइस वर्षे पठ्ठा जवानकै जस्तो थियो । उसको अनुहारमा प्रचण्ड तेज वा चमक देखिन्थ्यो । त्यसपालि पनि उसले वस्त्रहीनलाई नाना, ओतविहीनलाई छाना, भोकालाई खानाको आदर्श परिकल्पना सुनायो ।‘मैले बाबुको सिको गर्दै निरङ्कुशता विरूद्ध हतियार उठाएँ । पछिल्लो हमलामा अनपेक्षित क्षति व्यहोर्नुपर्यो । नेपाल आमाका दर्जनौं सपुतहरूले सहादत प्राप्त गरे’ गोलीको छर्राले खाएका दुई ठूटे औंला देखाउँदै उसले भन्यो ।

‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए । बन्दैन देश दुई चार सपुत मरेर नगए’ मैले जोडिदिएँ ।यमराजको बोलीवचन अति मिजासिलो थियो । ऊ गाउँलेहरूसँग विनम्रताका साथ कुरा गर्थ्यो । आम जनसमुदायलाई आमा बुबा, दाजु-भाइ, दिदी-बहिनीको साइनो लाउँथ्यो । गाउँलेहरू उसलाई कमरेड भनी बोलाउँथे ।‘तपाईं पनि मलाई कमरेड भन्न सक्नुहुन्छ । कमरेड शब्दको अर्थ साथी हो । हाम्रोमा ठूलादेखि सानासम्मलाई कमरेड भन्ने चलन छ’, उसले कमरेड शब्दको बारेमा बतायो पनि ।त्यो नै उसको र मेरो अन्तिम भेट रह्यो । त्यसपछि कहिल्यै फर्केर आएन । कोही भन्थे ऊ मर्यो । कोही भन्थे ऊ मारियो । अनि कोही भन्थे बैरागिंदै मुग्लान पस्यो ।यसैबीच ६ महीनाअघि यमराजले लेखेको पत्र मेरो हातमा पर्यो । पत्रमा उसले आफ्ना सहयोद्धाप्रति गुनासो गरेको थियो –

‘संसार बदल्छौं भनी हिंडेकाहरूलाई सत्ताले बदलिदियो ! हातमा नेपाल आमाको मुटु-कलेजो ! मुखमा राधाकृष्णको मायावी भजन ! चोथाले धाईआमाको हातमा क्रान्तिवीर्य-बालक । वान्स मोर भन्दै ताली पिटिरहेका सिद्धान्तहीन नयाँपुस्ता । कोही थकित हुँदै दाह्रीवाल बूढाको फोटो अङ्कित बहुमूल्य रातो किताब सत्ताको छक्का दाउमा बन्धकी राख्न खोज्छन् त कोही ‘त्वमेव माता च पिता त्वमेव’ भन्दै लाल बादशाहको महिमा गाउँछन् !हामी जनताका सेवक रहेनौं ! अति भयो, अतिले खती हुन्छ भन्दै सचेत गराउने कोशिश पनि गरें । मेरो आर्तनादलाई पागलको चीत्कार भने उनीहरूले !मानिसहरू भन्दा हुन् म मरें वा मारिएँ ! न म मरेको छु, न त मारिएको छु । आम नागरिकको कुरीकुरीबाट जोगिन केवल अज्ञातवासमा रहेको छु । जनतासामु मुख देखाउने हिम्मत हराएकाहरूको हविगत यस्तै त हुन्छ ।’

उसले पठाएको चिठी लामै थियो ।‘तपाईं अज्ञातवासमा रहने हैन जनताको माझ आउनुपर्छ । अनि शक्तिको उन्मादी नसाले ग्रस्तहरूको कानको जाली फुट्ने गरी भन्नुपर्छ- ए सत्तासीनहरू हो, हिजोका संघर्षपूर्ण दिनहरूलाई सम्झ । जनतामाझ खाएका वाचा-कसम याद गर्दै शहीदहरूसँग क्षमा माग । महान् मानिसहरू गल्तीप्रति क्षमा माग्न हिच्किचाउँदैनन् ।’मैले उसलाई सम्झिंदै पत्र लेखें । तर मेरो पत्र ऊसामु पुर्याउने कसरी ? मसँग उसको ठेगाना थिएन । चिठीमा कमरेड यमराजले आफ्नो ठेगाना उल्लेख गरेको भए पो !आज-भोलि गर्दै समय बित्दै गइरहेको छ । उसलाई भेट्ने मेरो धोको अझै पूरा भएको छैन । मलाई त्याग, तपस्या र बलिदानले भरिपूर्ण त्यो बेलाका यमराजसँग भेट्ने अति इच्छा छ । त्यसैले म यतिबेला राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्ने गरी एउटा सूचना ड्राफ्ट गरिरहेको छु –
कमरेड यमराज हराएको सूचना !

कमेन्ट गर्नुहोस्