
तिलोत्तमा सिटी,४ साउन २०७८,सोमवार। सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
ईद उल जुहा (बकर-इद) मुस्लिमहरुको दोस्रो महान् पर्व हो। ईद उल जुहाको अर्थ ‘त्याग’ हो। पवित्र महिना रमजानको करिब ७० दिनपछि आउने यो पर्वलाई मुस्लिम समुदायले हर्सोल्लासका साथ मनाईन्छ। इस्लामिक मान्यता अनुसार हजरत इब्राहिमले आफ्ना छोरा हजरत इस्माइललाई अल्लाहको निर्देशनमा भगवानको नाममा उनकै बाटोमा हिँड्नका लागि त्याग गरेको तर अल्लाहले जीवनदान दिएको सम्झनामा बकरिद मनाउने गरिन्छ।बकर-इदमा त्यागका लागि पशुबली दिने प्रचलन छ। नेपालका मुस्लिम धर्मगुरु सकिल अहमद कादरीका अनुसार मुस्लिम समुदायले खाने साना–ठूला चारखुट्टे जनावरलाई अल्लाहका नाममा त्याग गर्ने पर्व बकरिद हो। उनका अनुसार ईद–ए–कुर्बां पनि भनिने बकर-इदको शाब्दिक अर्थ त्यागको भावना भन्ने हुन्छ।
धार्मिक मान्यता अनुसार यस दिन अल्लाह मान्छेको निकै नजिक रहने गर्छन्। यो दिन सबैले नजिकको मस्जिद, इदगाह र मजारमा सामूहिक नमाज पढ्ने, शुभकामना अदानप्रदान गर्ने गरिन्छ। सामूहिक रूपमा ठूलो जनावरको बली दिने, गरिबलाई बाँड्ने र सामूहिक भोजनको आयोजना गर्ने गरिन्छ। बकर ईदको दिन संसारभरका मुस्लिम साउदी अरबमा रहेको मक्कामा भेला भएर हज मनाउने गर्छन्। मुस्लिम धर्मगुरु कादरीका अनुसार यो पर्वका दुई प्रमुख सन्देश छन्। पहिलो, परिवारका ज्येष्ठ सदस्यलाई स्वार्थभन्दा माथि उठेर सम्मान र सेवा गर्नु रहेको छ भने दोस्रो, आफू मानव उत्थान र सेवामा समर्पित रहनु भन्ने छ।
कमेन्ट गर्नुहोस्