
असार २८ गते सोमबार २०७८ तिलोत्तमा सिटी। रोबर्टो मान्सिनीले खेलाडीका रुपमा इटालीको राष्ट्रिय टोलीका लागि इतिहास लेखाउन सकेनन् । यद्यपि यो इतिहास उनले प्रशिक्षकको रुपमा लेखाउँदै छन् ।विश्वकप छनोटबाटै बाहिरिएको इटालीलाई तीन वर्षको अवधिमा नै उनी महत्वपूर्ण उपाधि जिताउन सफल भएका छन् । यसले पनि मान्सिनीको रणनीति टोलीको लागि कति महत्वपूर्ण थियो भन्ने देखाउँछ ।आइतबार इटालीले युरोकपको फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको हो । निर्धारित समय र थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा नतिजा बराबर रहेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा खेल जित्नु भाग्यको साथ पनि निकै महत्वपूर्ण हुन्छ ।
यद्यपि यो उपाधि दिलाउन ५६ वर्षीय प्रशिक्षक मान्सिनीले आफ्नो तर्फबाट सके जति सबै प्रयास गरेका छन् ।फाइनल खेलमा इंग्ल्याण्डका प्रशिक्षकका योजनाहरुले उल्टो नतिजा दिइरहेका थिए भने मान्सिनीका योजना सही साबित भएका थिए । जुन, खेलको लागि निकै महत्वपूर्ण रहन पुग्यो ।खेलको दोस्रो मिनेटमा नै इंग्ल्याण्डले खेलमा अग्रता लिएसँगै मान्सिनीले १२० मिनेटसम्म चलेको खेलको बीच–बीचमा केही खेलाडीहरुलाई परिवर्तन गर्दै टोलीलाई फिट राखिरहे । जसले खेलमा सकारात्मक प्रभाव पार्यो । इटालीले खेल अवधिभर एकनासको खेल प्रस्तुत गर्यो ।
घरेलु टोलीविरुद्ध इटालीले धेरै आक्रामक नखेली पहिलो हाफ सकायो ।दोस्रो हाफको शुरुवातमा मान्सिनीले मिडफिल्डमा निकोलो बारेलाको स्थानमा ब्रायन क्रिस्टान्टलाई ल्याए । त्यस्तै सेन्टर फरवार्ड सिरो इमोबिलेको स्थानमा डोमेनिको बेरार्डीलाई ल्याए ।त्यसपछि खेलमा इटालीले दबाब बढाउन थाल्यो । क्रिस्टान्टको उपस्थितिले इटालीको टोलीमा सेन्ट्रल मिडफिल्डमा थप ऊर्जा दिने काम गर्यो, जसको सहयोगमा इटाली गोली फर्काउन सफल भयो ।समग्रमा इटालीको सेटअप आइतबार निकै राम्रो रह्यो । उसले ६२ प्रतिशत समय बल आफ्नो कब्जामा राख्यो, गोलका लागि २० वटा प्रहार गर्यो । जबकि इंग्ल्याण्डले जम्मा ६ प्रहार गरेको थियो । इटालीले ७५५ पास खेल्दा इंग्ल्याण्डले ३४१ पास खेलेको थियो ।
कमेन्ट गर्नुहोस्