लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चार दशकको इतिहास मेटियो :पाल्पाको सन्तोष चलचित्र हल सधैका लागि बन्द

IMG

असार २५ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। कोरोना भाइरस ‘कोभिड १९’ महामारीकाविच एकपछि अर्को चलचित्र हलहरु बन्द हुन थालेका छन् । काठमाडौंसहित मोफसलका विभिन्न जिल्लामा गरेर २ दर्जन हल बन्द भैसकेका छन् । यसैविच कोरोना महामारीकै विच चार दशकको इतिहास बोकेको पाल्पाको एकमात्र चलचित्र हल सधैको लागि बन्द भएको छ ।सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ स्थायी रुपमा बन्द गर्ने निणर्य गरिएको हो । वि.सं २०३८ सालमा यस चलचित्र हलको स्थापना गरिएको थियो । अब चलचित्र हल सधैका लागि बन्द गर्ने निणर्य गरिएको संचालक सन्तोष लिगलले जानकारी दिए ।


‘केही वर्षयता चलचित्र हेर्ने दर्शक समेत घटेका थिए । सामान्य अवस्थामा पनि हलमा दर्शक नहुँदा कर्मचारीलाई तलब दिन र विद्युत महशुल बुझाउन समेत गाह्रो थियो’ लिगलले अनलाइनखबरसँग भने, ‘कोरोना महामारीका कारण डेढ वर्षदेखि हल ठप्प छ । अब खुलेपनि चलाउन गाह्रो हुने भएकाले सधैका लागि बन्द गर्ने निणर्यमा पुगेका हौं ।’हलमा ३४५ सिट क्षमता रहेको थियो । कुनै समय हलमा चलचित्र हेर्न गाउँ–गाउँबाट दर्शकको बाक्लो भीड लाग्दथ्यो ।


तर, पछिल्ला केही वर्षयता दर्शकको संख्या घट्दै गएको थियो । सूचना प्रविधिको सहज पहुँचसँगै दर्शकले चलचित्र हेर्ने माध्यमको विकल्प खोज्न थालेपछि हलमै गएर चलचित्र हेर्ने दर्शक घटेको लिगल बताउँछन् । एक दशक अगाडिसम्म दर्शकको भीड लाग्ने हलमा कोरोना महामारी अगाडि १०–१५ जना मात्र दर्शक आउने गरेका थिए ।हलमा पछिल्लो पटक चलचित्र ‘आमा’ प्रदर्शन भएको थियो । २०७६ चैत्रमा लकडाउन भएसँगै चलचित्र हल बन्द भएको थियो । जिल्लामा रहेका केही हाइभिजन हल यसअघि नै बन्द भईसकेका थिए ।


कमेन्ट गर्नुहोस्