लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाँचौं वर्ष प्रवेशको अवसरमा तिलोत्तमाका जनप्रतिनिधिले रोपे विरुवा

IMG

असार २१ गते सोमबार २०७८ तिलोत्तमा सिटी। तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधिहरुले पदस्थापन गरी कार्यप्रारम्भ गरेको सोमबार चार वर्ष पूरा भएको छ । तिलोत्तमा नगरपालिका स्थापना भएपछि पहिलो पटक २०७४ असार १४ गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले असार २१ गते पदस्थापनसँगै कार्य प्रारम्भ गरेका थिए ।पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा जनप्रतिनिधिहरुले सोमबार नगरकार्यपालिकाको कार्यालय परिसरमा वृक्षारोपण गरे । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ को नारासहित हरियाली प्रवद्र्धन र सरसफाईलाई प्राथमिकतामा राख्दै आएको तिलोत्तमाले पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा पनि वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।



वृक्षारोपण सुभारम्भ गर्दै कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले सीमित स्रोत र साधनको बाबजुद पनि तिलोत्तमाले आफ्नो पहिचान स्थापित गर्नेगरी काम गरिरहेको बताउँदै विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न बाँकी कार्यकालमा अझै सिर्जनात्मक काम गरिने बताए । चार वर्षमा जे-जति काम भए त्यसले नगरपालिकाको एउटा गन्तव्य तय गरेको बताउँदै उहाँले यो अवधिमा नगरपालिकाले अघि सारेका विभिन्न प्रवद्र्धनात्मक अभियान तथा विकास निर्माणमा सबैबाट प्राप्त सहयोग, सहकार्य र समन्वयले तिलोत्तमाको गरिमा बढाएको बताए।


यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नयाँ नगरपालिका भए पनि तिलोत्तमाले छोटो अवधिमा धेरै राम्रा काम गर्न सकेको बताउँदै जनप्रतिनिधिको कुशल नेतृत्व र सबैको सहयोगले यो सम्भव भएको बताए । नगर प्रवक्ता सुरेन्द्र श्रीले नगर कार्यपालिकाको पहिलो बैठकले वार्षिक ५० हजार विरुवा रोप्ने निर्णय गरेअनुरुप पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा पनि वृक्षारोपण गरिएको जानकारी दिए । त्यसअवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरुले नगर कार्यपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोपेका थिए ।

कमेन्ट गर्नुहोस्