लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका सडकचोकमा कोरोना नि:शुल्क परीक्षण बुधबार ११४ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण

IMG

असार १६ गते बुधबार २०७८ तिलोत्तमा सिटी। बुधबार तिलोत्तमा नगरपालिकाले नगरका प्रमुख सडक तथा चोकमा निःशुल्क कोरोना संक्रमण परीक्षण सुरु गरेको छ । लकडाउन खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम कायमैं रहेको भन्दै नगरपालिकाले संक्रमणको चेन ब्रेक गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो। ‘सडक एन्टिजन टेष्ट’ नाम दिइएको कोरोना परीक्षण कार्यक्रमको बुधबार मणिग्राम चोकमा सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारी पूर्णतः नहटेकोले सचेतना अपनाउन नगरबासीलाई अनुरोध गरे ।व्यक्तिको हेल्चेक्राइँले समुदायमा पुनः महामारी फैलन सक्नेप्रति सचेत गराउँदै नगर प्रमुख घिमिरेले दैनिक कार्यसम्पादनमा स्वास्थ्य सुरक्षा मापदण्ड परिपालनामा जोड दिए । यसअघि प्रत्येक वडामा कोरोना परीक्षण गरेको तिलोत्तमा नगरपालिकाले बुधबारबाट सडकमैं एन्टिजन परीक्षण सुरु गरेको हो । कोरोना फोकल पर्सन केशव भट्टराईले क्रमशः नगरका प्रमुख सडक चोकहरुमा एन्टिजिन परीक्षण गरिने जानकारी दिए । 


सोहिअवसरमा तिलोत्तमा वडा नम्बर ५ का अध्यक्ष चेत नारायण भण्डारीले कोरोना महामारी फैलिन नदिन सडककै छेउमा परिक्षण शुरु गरिएको र बढी चहल पहल हुने यो चोक संगै नगरपालिकाले विभिन्न चोकमा सो कार्यक्रम लैजाने बताए।उनले कसैमा कुनै कोरोना सम्बन्धि लक्षण देखिएमा आएर सम्पर्क गरेर समेत कोरोना चेक गर्न सकिने बताए। नगरबासी मात्रै नभएर यस क्षेत्रमा आवत जावत गर्ने सडकमा चेक गर्न आएकोले सबैलाई परिक्षण पछि सुरक्षित रहन परामर्श दिइएको परिक्षणमा संलग्न स्वास्थ्यकर्मी कुसुम थापाले बताईन।बुधबारको परीक्षणमा ११४ जनाको नमूना संकलन गर्दा १३ जनामा कोरोना देखिएको थियो । परिक्षण शिबिर कार्यक्रममा तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु स्वास्थ्य अधिकृत थानेश्वर बस्याल ,कुसुम थापा, प्रवेश पौडेल,कृष्ण घिमिरे, मिलन श्रेष्ठ लागयात्को टोलि परिचालन थियो। 



सडकमा हिँडेकाहरु मध्येबाट नमूनाको रुपमा कृषक, व्यवसायी, विद्यार्थी, गृहिणी, चालक सहचालकलगायतको कोरोना परीक्षण गरिएको थियो । एन्टिजिन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुन्छ । पछिल्लो समय समुदायस्तरमा परीक्षण कम हुँदा संक्रमण घटेको हुन सक्ने आशंका भैरहँदा तिलोत्तमाले परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको हो । यो परीक्षणले नगरपालिकामा कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने र यसबाट महामारी नियन्त्रणका लागि आवश्यक थप योजना बनाउन सकिने नगरपालिकाका कोरोना फोकल पर्सन भट्टराईले बताए ।


कमेन्ट गर्नुहोस्