लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डोलबर्गको दुई गोलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा

IMG

असार १३ गते आइतबार २०७८ तिलोत्तमा सिटी। क्यास्पर डोलबर्गको दुई गोल मद्दतमा वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा शनिबार राति भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेको हो ।यसअघि समूह चरणको तीन खेल घरेलु मैदानमा खेलेको डेनमार्कले घर बाहिर पहिलो खेल खेल्दै शानदार जित हात पारेको हो । डेनमार्कले अब क्वाटरफाइनलमा नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।युसुफ पउलसेन घाइते भएपछि उनको स्थानमा पहिलो रोजाइमा खेलेका डोलबर्गले दुवै हाफमा एक/एक गोल गरे ।


यस्तै योकिम माहेले र मार्टिन ब्रेथवेइटले एक/एक गोल गरे।खेलको २७औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । उनले मिकेल डाम्सगार्डको पासमा गोल गरेका थिए ।यस्तै दोस्रो हाफको सुरुमै डोलबर्गले गोल थपे । ४८औं मिनेटमा वेल्सका निको विलियम्सले गल्ती गरेपछि डोलबर्गले गोल गरेका थिए ।८८औं मिनेटमा योकिम माएलेले गोल माथिएस जेनसेनको पासमा गोल गर्दै डेनमार्कलाई ३-० को अग्रता दिलाए । ८९औं मिनेटमा वेल्सका ह्यारी विल्सनले सिधै रातो कार्ड पाउँदै मैदान छाडेका थिए । विल्सनले डेनमार्कका माहेलेलाई फाउल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।इन्जुरी टाइममा ब्रेथवेइटले गोल गरेपछि डेनमार्कले फराकिलो जित हात पार्‍यो । ब्रेथवेइटको गोलले भिएआरको सहयोगमा मान्यता पाएको थियो।


डेनमार्क सन् २००४ पछि पहिलो पटक क्वाटरफाइनल पुगेको हो । त्यसपछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ मा समूह चरणबाटै बाहिरिएको थियो भने २०१६ मा छनोट हुन सकेको थिएन।डेनमार्कले सन् १९९२ मा उपाधि जितेको थियो । त्यसयता पहिलो पटक नकआउट चरणमा डेनमार्कले गोल गरेको हो ।उता गारेथ बेलको कप्तानीमा लागतार दोस्रो युरो खेलिरहेको वेल्स यस पटक भने अन्तिम १६ बाटै बाहिरिएको छ । पाँच वर्षअघि फ्रान्समा भएको युरोकपमार्फत डेब्यु गरेको वेल्स त्यतिबेला सेमिफाइनलसम्म पुगेको थियो ।

कमेन्ट गर्नुहोस्