
असार १२ गते शनिबार २०७८ तिलोत्तमा सिटी। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावित परिवारलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राहतस्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।असार १ गते आएको बाढीले मेलम्ची नगरपालिकामा ठूलो धनजनको क्षति भएकोले विपद्को समयमा राहतस्वरुप ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।
‘एउटा पालिकामा विपद् पर्दा अर्को पालिकाले सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यता अनुसार मेलम्चीका बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेका हौं,’ नगर प्रमुख घिमिरेले भने ।लुम्बिनी प्रदेशका स्थानीय तहमध्ये मेलम्चीका बाढी प्रभावितलाई राहतस्वरुप आर्थिक सहयोग दिने निर्णय गर्ने तिलोत्तमा पहिलो पालिका भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताए । नगरपालिकाले गरेको निर्णय अनुसार मेलम्ची नगरपालिकाको विपद् व्यवस्थापन कोषको खातामा एक–दुई दिनभित्रै रकम पठाइने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्