लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ह्याप्पी बर्थ डे राजेश हमाल

IMG

जेष्ठ २५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। नेपाली चलचित्रका सर्वाधिक चर्चित तथा सफल नायक राजेश हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन् । नायक राजेश हमालको जन्म पाल्पामा भएको हो । नायक राजेश हमालले आफ्नो उमेर स्पष्ट रुपमा बताउने गरेका छैनन् । तर, उनी आजबाट ५८ बर्षमा प्रवेश गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा व्यवसायिक रुपमा अगाडि बढ्न नसकिरहेको समयमा नायक राजेश हमालको प्रवेश भएको थियो । उसो त हमालले चलचित्र ‘भाग्य रेखा’मा पनि काम गरेका थिए । तर, यो चलचित्रबाट उनी बाहिरिए । यसैले, उनले अभिनय गरेको पहिलो चलचित्र ‘यूगदेखि यूगसम्म’ हो । यो चलचित्रमा काम गरेपछि हमालले कहिले पनि करिअरलाई फर्किएर हेर्नुपरेन ।


हमालले चलचित्र क्षेत्रमा ३ दशक बिताइरहँदा करिब २ दशक भने एक छत्र राज गरे । उनले अभिनय गरेका चलचित्रले व्यवसायिक रुपमा सफलता कायम गरे । हमालले अभिनय गरेका ‘देउता, भाउजु, साथी, अल्लारे, गाउँले, अजम्बरी नाता, ढुकढुकी, बसन्ती, हामी तिन भाई’ लगायतका चलचित्र सफल मानिन्छन् ।कुनै समय नेपाली चलचित्रमा नायक राजेश हमालको पोष्टर राख्दा पनि दर्शकको भीड लाग्थ्यो । यसैले, हमालले चलचित्र क्षेत्रलाई बदल्न भन्दा पनि आफ्नो अनुहार विकाउनमा नै बढी केन्द्रित भएको आरोप लाग्ने गरेको छ ।नायक हमाललाई १४ बर्ष अगाडि ‘महानायक’को उपाधी दिइएको थियो । यसपछि, उनलाई दर्शक र मिडियाले ‘महानायक’को रुपमा सम्बोधन गर्ने गरेका छन् ।


चलचित्र क्षेत्रमा लागेपछि खासै विवादमा नआएका, बौद्धिक, हरेक बिषयमा तार्किक कुरा राख्न सक्ने क्षमताकै कारण राजेश हमाल हरेक बर्गका दर्शकाझ लोकप्रिय छन् ।चलचित्र करिअरमा दोश्रो दशकमा दौडदै गर्दा नायक हमालले संख्यात्मक रुपमा बढी चलचित्र खेले । एकातिर, नेपाली चलचित्रले परिवर्तन खोजिरहेको अवस्था त अर्कोतिर हमालले गुणस्तर भन्दा संख्यात्मक चलचित्रमा ध्यान दिएका कारणले पनि पर्दामा उनको क्रेजक कमजोर बन्न पुग्यो । तर, पर्दा बाहिर राजेश हमालको स्टारडम र क्रेज भने उस्तै छ ।७ बर्ष लामो प्रेम सम्बन्धपछि मधु भट्टराइसँग बिहे गरेर राजेश हमाल विगत केही बर्षदेखि घरयासी जीवनमा बढी व्यस्त छन् । ४ बर्ष अगाडि चलचित्र ‘शकुन्तला’मा काम गरेर असफल भएपछि राजेश हमालले नयाँ चलचित्रमा काम गरेका छैनन् । उनी, गतबर्ष नै चलचित्र ‘सत्यम्’बाट पर्दामा फकिने तयारीमा थिए । तर, यो चलचित्रको काम सुरु नहुँदै कोरोना संक्रमण बढ्यो र छायांकन रोकियो ।नेपाली चलचित्रमा सर्वाधिक क्रेज बनाएका नायक राजेश हमाललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

कमेन्ट गर्नुहोस्