लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा प्रादेशिक बसपार्क निर्माण अघि बढ्दै, आर्थिकबर्षको शुरुमै टेण्डर हुने

IMG
जेष्ठ २४ गते सोमबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका यसै पनि राष्ट्रिय स्तरमै चर्चामा छ। पछिल्लो समय नेपाल सरकारको सबैभन्दा बढी रकम अनुदान बजेट पाएकोले झन् यसको चर्चा देशभर रहेको छ। सामाजिक र समृद्धिको सहज र बिकाशशील गतिविधिले झनै चर्चामा रहेको नगरपालिकाले लगानी सम्मेलन गरेर पस्केको गौरवको योजना तिलोत्तमा प्रादेशिक बसपार्क निर्माण कार्य अघि बढ्ने पक्का भएको छ।  तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले सो को बारे जानकारी दिदै आगामी आर्थिक बर्षको शुरुमै यस बसपार्कको टेन्डर प्रक्रिया अगाडी बढाइने बताउनुभएको छ।  



तिलोत्तमामा प्रस्तावित प्रादेशिक बसपार्क निर्माण कार्य संघ / प्रदेशको सह लगानीमा सम्पन्न गर्न संघिय कार्यक्रम बजेटमा समाबेस भएको नगराप्रमुख बासुदेव घिमिरेले बताउनुभयो। उहाले यस कार्यप्रति सहयोगी भूमिका खेल्नुहुने नेपाल सरकारका उप प्रधानमन्त्री  तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल , लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल, अर्थ मन्त्री वैजनाथ चौधरीलाई नगरपालिका र नगरबासीको तर्फबाट बिशेष  धन्यवाद व्यक्त गर्नुभएको छ। सो प्रादेशिक बसपार्कको बिस्तृत परियोजना प्रतिवेदन नगरपालिकाले तयार गरीसकेकोले आगामी आर्थिक बर्षको सुरुमै बहूबर्षे योजनाको रुपमा टेन्डर आब्हान गरीने नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभएको छ ।  

लुम्बिनी प्रदेशको कामु राजधानी रहेको रुपन्देहीको तिलोत्तमामा प्रादेशिक बस टर्मिनल बनाउन गतबर्ष प्रस्ताव गरिएको थियो । करिब ८० करोड लागत अनुमान गरिएको सो बसपार्क तिलोत्तमा नगरपालिकाको वडा नं. १३ र १४ को टिकुलिगढमा प्रस्ताव गरेको हो । प्रस्तावित बस टर्मिनलको जग्गा तिनाउ नदीको नदी उकास क्षेत्र हो । यहाँको झण्डै ३० विगाहा क्षेत्रफलमा सुविधासम्पन्न आधुनिक बस टर्मिनल बनाउन सकिने नगरपालिकाको प्रस्ताव छ । प्रस्तावित बस टर्मिनल बुटवल–बेलहिया सडकको पत्थरडाँडा चोकबाट ६ किलोमिटर पश्चिमको दुरीमा पर्दछ ।प्रस्तावित बसपार्कबाट तिनाउ पूलपारी झण्डै तीन सय मिटर दुरीमा बेलबास–बेथरी सडक रहेको छ । यहाँबाट भैरहवा विमानस्थलको दूरी ६ किलोमिटर रहेको छ ।


बुटवल र भैरहवामा हाल रहेका बसपार्कहरु जीर्ण र साँघुरा रहेकाले नगरपालिकाले टिकुलिगढमा प्रदेशस्तरको नयाँ बस टर्मिनल निर्माण प्रस्ताव गरेको हो ।प्रस्तावित बस टर्मिनल निर्माणका सन्दर्भमा नगरपालिकाले गत बर्ष नै प्रदेश सरकारका मन्त्री, सांसद, सरकारी अधिकारीहरु, स्थानीय तहका प्रमुख, यातायात तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिलगायतसँग छलफल गरेको थियो ।नजिकै रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पर्टकीय क्षेत्र लुम्बिनी, सिक्स लेन सडक, बेलबास–बेथरी सडक जस्ता पूर्वाधारले प्रादेशिक बस टर्मिनलको आवश्यकता र औचित्यलाई पुष्टि गर्ने उल्लेख गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि रुपन्देहीमा बढ्ने सवारी चापलाई समेत ध्यानमा राखी परिवर्तित आवश्यकतालाई पूरा गर्न सक्नेगरी नगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको अवधारणा अघि सारेको बताए ।

कमेन्ट गर्नुहोस्