लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महामारीमा मनकारी नवज्योति,भोकै कोही नमरुन- अध्यक्ष कंडेल

IMG

जेष्ठ २२ गते शनिबार २०७८ तिलोत्तमा सिटी। यस्तो समय आयो ,कहालीलाग्दो।  मनग्य पैसा भएर पनि केहि नभएको निर्धो जस्तो, सातापुस्ताका १३ नाति भएपनि आफन्त कोही नभएजस्तो। दयालु छिमेकी सबै टाढिए जस्तो। अनि भगवान हराए जस्तो र बैज्ञानिकहरु निरिह बनेजस्तो। सायद कसैले सोचेको पनि थिएनन होला, कोरोना एकपटक फेरी आएर यसरि तथानाम तहस नहस गरेर जाला ? आखिर भयो नसोचेकै। प्याक-प्याक भएका आफन्त, साथीभाई, छिमेकी, टोल, वार्ड, नगरबासिको दु:ख मात्रै होइन संजालमा देशभरका दु:ख देखेर पनि केहि गर्न नसक्ने आवस्थामा थियौ हामी, तर मन नमान्दो रैछ त्यो दृश्य हेर्न, अनि पीडाको दर्दनाक अवस्थामा आफुलाई गुजार्न। कुनै समय कोभिड-१९ संक्रमित हिडेको बाटो अरु हिड्दैनथ्ये । संक्रमितको घर बारे । सक्रमण मुक्त भएपछि पनि लामो समय बोलेनन् । समय फेरिएको छ । अहिले गाउँ र शहरमा संक्रमित धेरै भए । कोभिड १९ ले धनी र गरिव भनेन् । त्यसैले संक्रमितले पनि माया पाउन थाले । हो त्यहि मायामा निरन्तर लाग्यो शुरुवातदेखि नै नवज्योति युवा क्लब। 


रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१ लाइ बिशेस कार्य क्षेत्र बनाएर सामाजिक सेवामा अग्रसर बनेको यस क्षेत्रकै गरिमा बोकेको नव ज्योति क्लब सामाजिक मात्रै होइन धार्मिक , राजनीतिक, आर्थिक , नैतिक तथा  समसामयिक रुपमा अघि बढिरहेको छ। एक लक्ष्य हासिल गर्न लालायित युवाहरुको जमात अहिले नवज्योतिमा देख्न पाइन्छ।  अनबरत रुपमा जब बैशाख १६ देखि लकडाउन भयो तबदेखि सामाजिक चासोमा क्लब खुल्न लाग्यो , कि कसैको कालमा ज्यान त गएको छैन ? कि कसैको चुल्हो निभेको त छैन ? यी यावत कुराले पदाधिकारी मात्रै होइन सदस्य , सल्लाहकार,र सुभचिन्तकहरुमा समेत चैनको निद परेन। तब जुर्मुरायो क्लबको एउटा ढिक्का अनि जोहो गर्न लाग्यो अक्सिजन र भोको पेटको लागि खाना।  आफैमा सचेत नागरिकको  एउटा क्लब जसले राहत दिएको तस्बीर सामाजिक संजालमा राखेन। जसले अक्सिजनको हाहाकारमा पनि कोही व्यक्तिलाई अक्सिजनको लागि मात्रै बाचेको जस्तो बनाएन, किनकि त्यो सेवा निश्वार्थ थियो , त्यो सेवाले कसैको ज्यान बचाउने मात्रै लक्ष्य राखेको थियो।  हो त्यहि मनकारी युवाहरुको नेतृत्व गरेका थिए अध्यक्ष दिपेश कंडेलले।




रोगले निकै सताउदा मान्छे बचाउने अभियानमा लागेको यस क्लबले अक्सिजन भर्ना लिन जान र ल्याएर बिरामीको माझ पुर्याउन दिनरात घामपानी सहेर अघि बढ्यो। यसमा निरन्तर अध्यक्ष कंडेल सहित क्लबका सबै पदाधिकारी अनि सदस्य र सल्लाहकार समेतले साथ् दिए। त्यति मात्रै हैन, तिलोत्तमा नगरपालिकाले संचालन गरेको अस्थायी कोरोना अस्पतालका लागि चाहिने सर-सामग्री ब्यबस्थापन , र संचालनमा समेत सहयोगी बन्यो क्लब।  अहिले पनि त्यो कार्यमा सुचारु बनिरहेको छ। तथापि जिल्ला प्रसासन कार्यालयले लगाएको निषेधाज्ञाको १ महिना पुरा हुदापनि सरकारबाट कुनै राहतको कार्य अघि नबढेपछि सामाजिक अभियन्ताहरु अहिले राहत जुटाउने अभियानमा छन्।  त्यहि अभियानको एउटा ससक्त नाम हो नव ज्योति युवा क्लब।  


"रोगले भन्दा भोकले कोहि नमरुन"भनी अभियान बोकेर अहिले चुल्हो नबालेको घरमा चुल्हो बाल्दै हिडेका छन् क्लबका युवाहरु।  स्वास्थ्य समस्यासंगै पारिवारको आर्थिक र सामाजिक समस्यामा अघि बढेकोमा धेरै मनकारी सहयोगीहरुको सहयोगले आफुहरुमा झन् उत्साह र प्रेरणा थपेको बताउछन , अध्यक्ष दिपेश कंडेल। " हामी बिहानै उठेदेखि सांझसम्म घरघरमा पुगेका छौ, धेरै मानिसहरु आफैले भन्न सक्नुहुन्न तर साथीभाइको सरसल्लाहले हामि उहालाई राहतका लागि सहयोग गरिरहेका छौ।  अहिले ब्यबसाय, पेशा, निजि नोकरी गर्नेहरु जो कोहीलाई पनि समस्या छ , हामि नेपालीले एकअर्काको समस्या बुझेर एकअर्काले सहयोग नगरे कसले गर्छ।" अध्यक्ष कंडेलले भन्छन।




कहिले अक्सिजन बोकेर, त कहिले खान बोकेर , कहिले कोरोना पोजिटिभका घर औषधि बोकेर , त कहिले आइसोलेसन ब्यबस्थापनमा, हामीलाई सामाजिक काम गर्न जति आनन्द केहि कुरामा आउदैन , खुसि ब्यक्त गर्दै अध्यक्ष कंडेलले भन्छन। क्लब भनेको सामाजिक सस्था हो, दु:खमा महामारीमा,बिपत्तिमा केहि गर्न सकियो भने मात्रै त्यसले अर्थ राख्छ, नभए त स्वार्थले समाज चल्दैन नि त , कुराकानीको क्रममा अध्यक्ष कंडेलले भन्छन। कंडेलले खुसि ब्यक्त गर्दै भने - "हामी फलफुल, पानी, खाजा, खानासंगै राहतका कार्यक्रमलाई पनि अघि बढाइरहेका छौ, यसमा हाम्रा क्लबका साथी भाइसंगै, अग्रजदाजुहरु , सल्लाहकार, देशबिदेशमा रहने शुभचिन्तक साथीहरुले सहयोग गर्नुभएको छ , यसप्रति क्लब सधै ऋणी रहेको जानकारी गराउछौ। " तिलोत्तमा सिटीसंग कुराकानी गर्दै उनले कोही कसैले खानाको समस्याले पिरोलेको छ भने, या देखेमा हामीलाई सम्पर्क गरि यो अभियानमा साथ् दिन आग्रह समेत गरेका छन्।


हाम्रो अहिलेको अभियान नै "रोगले भन्दा भोकले कोहि नमरुन" भएकोले यहि शोकमा त्यो दु:खद घटना सुन्न नपरोश भन्ने ईच्छ्या क्लबकाअन्य साथीजस्तै अध्यक्ष कंडेलको रहेको छ। अहिले एक परिवार बराबर चामल ५० केजी,दाल ५ केजी,चना ५ केजी,तेल १० लि.,नुन २ केजी सहित राहत कार्यक्रम अघि बढिरहेको अध्यक्ष कंडेलको भनाइ छ। कोही परिवार सानो या ठुलो भएको खण्डमा त्यसमा घटबढ गर्न सकिने कंडेल बताउछन।  सबैको सहयोगले सामाजिक कार्यको सफलतामा पुग्ने बताउदै अध्यक्ष कंडेलले यस कार्यप्रति सहयोग गर्ने नगरपालिकाका मेयर बासुदेव घिमिरे , उपमेयर जगेश्वरिदेवी चौधरी, प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेल, वार्ड अध्यक्षहरु, सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार, क्लबका सबै सदस्य, समाजसेवी बिद्धिजीबी, देशविदेशबाट सहयोग गर्ने सबै साथीभाइ अग्रजहरु, छिमेकी क्लब जागृति युवा क्लबका अध्यक्ष बिदुर के.सी.लगायत पदाधिकारी सबैलाई धन्यबाद समेत ज्ञापन गरेका छन्।    

कमेन्ट गर्नुहोस्