
जेष्ठ १८ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फरार प्रतिवादीअप्रेसन कार्यक्रम अन्तर्गत जघन्य अपराधका ५ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।प्रतिवादी मध्ये ४ जना तिलोत्तमाकै रहेका छन्। कर्तव्य ज्यान मुद्दाका ३, जवरजस्ती करणी मुद्दाका १ र अप्राकृतिक मैथुन मुद्दाका १ फरार अभियुक्तहरु एकैदिन पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिका-११ निवासी ५३ वर्षिय रुप बुढाथोकी भन्ने धन बहादुर बुढाथोकीलाई पक्राउ गरिएको छ । यस्तै कर्तव्य ज्यान मुद्दामै १४ बर्षकैद फैसला भएका तिलोत्तमा नगरपालिका-१६ बस्ने कन्हैया कुंवर जोगी लाई पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ३ महिना कैद सजाए भएका रुपन्देहीको गैडहवा-८ बस्ने बलु सुनार भन्ने वलबिर कुमार सुनारलाई पनि प्रकाउ गरिएको कार्यालयले जनाएको छ ।
जवरजस्ती करणी मुद्दामा ७ वर्ष कैद फैसला भएका तिलोत्तमा नगरपालिका-१६ बस्ने राजन चौधरी भन्ने वेनीराम कवर जोगीलाई पक्राउ गरिएको हो ।यस्तै अप्राकृतिक मैथुन मुद्दामा ४ वर्ष कैद सजाए भएका तिलोत्तमा नगरपालिका-२ का बावुराम बि.क.लाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
रुपन्देही जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्धेश्यले मिति २०७८ वैशाख १ गते देखि सञ्चालित “फरार प्रतिवादी बिरुद्धकोअप्रेशन कार्यक्रम अन्तर्गत जघन्य अपराधमा संलग्न १० बर्ष भन्दा बढी सजाय भएका फरार प्रतिवादीहरु हाल सम्म १६ जना पक्राउ गरिएको कार्यालयले जनाएको छ ।पक्राउ परेका सबैलाई अदालत पठाईएको कार्यालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्