लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साहित्यकार एवं चलचित्रकर्मी चेतन कार्कीको निधन

IMG

जेष्ठ ४ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। कवि,  उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको जेष्ठ २ गते  बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या भएर मृत्यु हुनु चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको  ८४ वर्षका उमेरमा मृत्यु भएको हो ।साहित्यकार मुरारी सिग्देलले भने, “केही दिनअघि उहाँलाई गाह्रो भएर कोरोना परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको थियो तर चार दिनअघि उहाँको मुटुमा समस्या भएर अस्पताल लाँदा आज स्वर्गारोहण भयो । ” विसं १९९५ कात्तिक २२ गते स्याङ्जा आरुखर्कमा जन्मनुभएका कार्कीले  नेपाली, हिन्दी तथा अङ्ग्रेजी र  उर्दू भाषामा थुप्रै कृति प्रकाशन गर्नुभएको बताइएको छ ।


उनका ‘आत्मा बेचेको छैन’, ‘हनिमुन’ ‘ढलेको गिलास’ र ‘कल्पना टुट चुकी है’, लगायत उपन्यास, ‘जुन निदाउन थाल्यो’ र ‘मायाप्रीतिको चोखो कथा’ गीतसङ्ग्रह,  ‘हत्केलाले सधैँ सूर्य छेकिँदैन’, मुक्तकसङ्ग्रह, ‘हो देश मेरो पनि गजलसङ्ग्रहलगायत कृति प्रकाशित छन् ।  कार्कीले ‘विश्वास’, ‘भुमरी’, ‘पहिलो प्रेम’ चलचित्र निर्देशन गर्नुभएको छ । कार्कीका चर्चित गीतमा ‘तीजको रहर आयो बरी लै’,  ‘कान्छी हे कान्छी’,  ‘बोलाऊँ भने लेक स्वर पुग्दैन, बोलाइरहन हुँदैन’, ‘बुझ्नै सकिनौ आँखाको भाका मेरो’, ‘बहिनीको दया छ भने रोधी घर दाइ नाच्यो नभन’ आदि  छन् ।


‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ जस्ता फिल्मको निर्देशन गरेका उनले थुप्रै फिल्मको स्क्रिप्ट र गीत लेखेका छन् । उनले कलाकार तथा निर्देशक नीर शाहको पहिलो फिल्म ‘परिर्वतन’ देखि स्क्रिप्ट लेखन सुरु गरेका थिए । स्याङ्जामा जन्मिएका कार्कीका प्रकाशित उपन्यासहरुमा ‘आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमुन’ चर्चित छन् । कार्कीको श्रीमती र २ छोरा छन् ।स्वर्गीय कार्कीको साहित्यिक रचनाकर्मको शुरुवात र प्रकाशन सन् १९५२ मा भारतको देहरादूनमा हिन्दीमा कविता लेखेर भएको थियो । उनलाई पिताले ४ वर्षको उमेरमै दाजुसँग देहरादून लगेर गोर्खा मिलिट्री स्कूलमा भर्ना गरिदिएका थिए ।


उनी त्यहाँ नौ कक्षासम्म पढे । उनले नेपालीसँगै हिन्दी र उर्दूमा पनि कविता लेखेका छन् । उनका तीनै भाषामा कविता पुस्तक प्रकाशित छन् । पोखराको मत्स्य विभागमा ६ वर्ष जागिर खाएका उनले त्यसपछि त्यहाँ राजीनामा दिएर नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका थिए । उनको निधनप्रति फिल्मकर्मीले दुःख व्यक्त गरेका छन् । नीर शाहले फिल्म क्षेत्रले एउटा ज्यूँदो इतिहास गुमाएको बताएका छन् । त्यस्तै, चेतन निर्देशित फिल्म ‘पहिलो प्रेम’ मा काम गरेकी करिश्मा मानन्धरले ‘तिमी मेरो हिरो’ भन्दै श्रद्धाञ्जली दिएकी छन् ।रासस

कमेन्ट गर्नुहोस्