लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार कोरोना तथा आपतकालिन कोषमा साँढे ७ लाख जम्मा

IMG

बैशाख ३० गते बिहिबार २०७८ तिलोत्तमा सिटी। नेपाल पत्रकार महासंघ रुपन्देहीको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ मा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता भएको छ । रुपन्देहीका विभिन्न व्यक्ति, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, विदेशमा रहेका नेपाली एंव पत्रकारिता क्षेत्रका व्यक्तिले कोषमा आर्थिक रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन । कोषमा स्वत स्फूर्त रुपमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको अध्यक्ष रामराज पोखरेलले जानकारी दिए । 


उनका अनुसार साँढे २ लाख रुपैयाँ पत्रकार महासंघको कोषमा प्राप्त भइसकेको छ । कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरु संक्रमित हुनेक्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष पोखरेलले बताए ।महासंघ रुपन्देहीको बैशाख २७ गते बसेको अनलाईन बैठकले  उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’ स्थापना गरेको थियो । कोष स्थापना गरिएको ३ दिनको अवधिमै सोचे भन्दा सहज रुपमा रकम जम्मा भएको महासंघका उपाध्यक्ष तथा कोषका संयोजक विश्वास ढकालले बताए ।


कोरोना महामारीले पत्रकारिता क्षेत्रमा थुप्रै चुनौती खडा गरेकाले यो पटक रुपन्देहीका पत्रकारलाई केहि हदसम्म भएपनि कोष मार्फत काम गर्न खोजेको उपाध्यक्ष अमृता अनमोलले बताईन । पत्रकारको उपचारमा सरकार तथा विभिन्न अस्पतालसँग समन्वय र सहकार्य गर्ने तथा त्यसपछि पत्रकारहरुलाई पर्ने अप्ठ्यारोमा कोषको रकमलाई प्रयोग गरिने जनाइएको छ । कोरोनाको दोस्रो लहरबाट रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएको सचिव विनोद परियारले जानकारी दिए । उनका अनुसार यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरुका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरि स्वास्थ्य सुरक्षा सामाग्री समेत वितरण गरिसकेको छ । 


कोषमा सहयोग गर्ने व्यक्तिहरुको नाम केहि दिनमा सार्वजनिक गर्ने कोषाध्यक्ष सञ्जय सौगातले जानकारी दिए । पत्रकारको उपचार, राहत तथा आपतकालीन अवस्थामा प्रयोग गरिने उक्त कोषमा सहयोग गर्न समेत महासंघले आग्रह गरेको छ । कोषमा जम्मा गर्न चाहनेले शाइनरेसङु्गा डेभलपमेन्ट बैंकको बुटवल शाखामा रहेको महासंघको बैंक खाता नम्बर  ००१००१००००५०३३०००००१ मा जम्मा गर्न अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्