लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भूमिहीनका लागि जग्गा नापजाँच शुरु,तिलोत्तमामा कन्ट्रोल प्वाइन्टको प्रारम्भ

IMG

तिलोत्तमा २०७८ बैशाख १७ गते शुक्रबार। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्य अन्तर्गत् जग्गाको नापजाँचको लागि कन्ट्रोल प्वाइन्ट स्थापना गर्ने कार्य प्रारम्भ भएको छ । वडा नम्बर ११ को भूपू सैनिकबाट यो कार्य प्रारम्भ भएको हो । नापी कार्यालय रुपन्देहीको समन्वयमा कन्ट्रोल प्वाइन्ट राख्ने कार्य अघि बढेको तिलोत्तमा नगरपालिकाका अमिन प्रविण बञ्जाडेले जानकारी दिए । 


आवश्यक स्थानमा कन्ट्रोल  प्वाइन्ट निर्माण गरेपछि आयोगको आवश्यक प्रक्रिया पूरा भएको स्थानमा जग्गा नापजाँच गरिनेछ । जग्गा नापजाँचको लागि सुकुम्बासी समस्या समाधान आयोगले सर्वेक्षक तथा अमिन खटाइ सकेको छ भने नगरपालिकाले अमिन नियुक्त गरिसकेको छ ।  तिलोत्तमामा झण्डै ८ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा सात हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको नगरपालिकाका शाखा अधिकृत माधवप्रसाद पोखरेलले जानकारी दिए । 


तिलोत्तमाका ६१९ जनाले भूमिहीन दलित, १ हजार ७४० जनाले भूमिहीन सुकुम्बासी र ५ हजार ५५९ जनाले अव्यवस्थित बसोबासीको लगत संकलन फारम भरेका हुन् । नगरपालिकाले दिएको विवरणअनुसार सबैभन्दा बढी वडा नम्बर ११ बाट आयोगको लगत संकलन फारम भरिएको छ । यहाँ १८० जना भूमिहीन दलित, ५३५ जना भूमिहीन सुकुम्बासी र दुई हजार ७६ जना अव्यवस्थित बसोबासी गरी दुई हजार ७९१ जनाले फारम भरेका छन् । यस्तै वडा नम्बर १२ बाट भूमिहीन दलित ८२, भूमिहीन सुकुम्बासी २१८ र अव्यवस्थित बसोबासी ७९६ गरी १ हजार ९६ जनाले फारम भरेका छन् । 

वडा नम्बर ७ बाट ५६२, वडा नम्बर १० बाट ५५३, वडा नम्बर ४ बाट ५३३, वडा नम्बर ३ बाट ४५९, वडा नम्बर १४ बाट ४२३ जनाले आयोगको लगत संकलन फारम भरेको नगरपालिकाले जनाएको छ । वडा नम्बर १७ मा सबैभन्दा कम भूमिहीन दलित सात, भूमिहीन सुकुम्बासी १० र अव्यवस्थित बसोबासी ३२ गरी जम्मा ४९ जनाले फारम भरेका छन् । वडा नम्बर २ मा ७४, वडा नम्बर ५ मा ७२, वडा नम्बर ९ मा ८१ जनाले आयोगको फारम भरेका छन् । 


त्यसै गरी वडा नम्बर १ बाट १४१, वडा नम्बर ६ बाट ३१६, वडा नम्बर ८ बाट ३६६, वडा नम्बर १३ बाट १५९, वडा नम्बर १४ बाट ४२३, वडा नम्बर १५ बाट १०७ र वडा नम्बर १६ बाट १३६ जनाले आयोगको लगत संकलन फारम भरेका छन् । तिलोत्तमा नगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालय स्थापना गरेर आयोगको सूचना अनुसार माघ ९ गतेबाट लगत संकलन कार्य सुरु गरेको थियो । कतिपय वडाले टोल–टोलमै पुगेर लगत संकलनको काम गरेका थिए । त्यसको लागि सम्बन्धित वडा सचिवलाई जिम्मेवारी दिइएकोमा जनप्रतिनिधिहरुको साथैं वडास्तरीय सहजीकरण समितिको सहयोगमा लगत संकलन गरिएको थियो ।


वडाहरुबाट प्राप्त लगतलाई कम्प्युटरमा ईन्ट्री गर्ने, फाईल स्क्यानिङ गर्ने लगायतका काम अघि बढेको शाखा अधिकृत पोखरेलले जानकारी दिए । तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएसँगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत संकलन गर्ने लगायतका कामलाई प्राथमिकता दिइएको थियो । 

कमेन्ट गर्नुहोस्