लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अचानक भएको छात्राको मृत्युले दिनभर तनावग्रस्त प्यारामाउन्ट

IMG

तिलोत्तमा २०७८ बैशाख ११ गते शनिबार। रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलमा अवस्थित प्यारामाउन्ट बोर्डिङ हाई स्कूलमा अध्ययनरत एक छात्राको स्वास्थ्यमा अचानक समस्या आएपछि मृत्यु भएको छ । अचानक भएको ति छात्राको मृत्युको कारण अस्पताल प्रसासनले समेत ठम्याएको छैन। स्वास्थ्यमा केहि समस्या देखिएपछि अस्पताल लैजादै गर्दा बाटोमै असहज भएकोमा अस्पताल पुर्याउदा नपुर्याउदै कक्षा १० मा अध्यनरत प्रतिभा सापकोटाको मृत्यु भएको विद्यालयका सह-प्राचार्य लिलाधर किरातले जानकारी दिए ।



‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले होस्टेलमा बस्दै आएकी प्रतिभाले छाती दुःख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर आज विहानै घर गएकी थिइन् ।’-किरातले भने ‘एक्कासी स्वास्थ्य समस्या आएपछि उपचारका लागि मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जानकारी प्राप्त भयो ।’ विद्यालयले वैशाख १५ गते सक्ने गरी परीक्षा सञ्चालन गरीरहेको थियो । विद्यालयमा हाल ५० जना बढी होस्टेलमा बस्दै आएको उनले बताए । क्रिमशन अस्पतालले उपचारका लागि ती छात्रालाई ल्याइपुर्याउँदा मृत्यु भइसकेको जनाएको छ । मृत्यु हुनुको कारण बारे नखुलेको बताउँदै अस्पताल प्रशासनले छात्रालाई उपचारका लागि ल्याइपुुर्याउनु अघि नै मृत्यु भएको जनाएको हो । छात्राको मृत्यु बारे परिवारले भने केही कुरा बोल्न चाहेका छैनन् । इलाका प्रहरी कार्यालय मँगलापुरका अनुसार मृतक छात्राका आमा-बुवा जापान बस्दै आएका छन् भने उनी आफ्नो ठूलो बुवा-आमासँगै तिलोत्तमा-५ मणिग्राममा बस्दै आएकी थिइन् ।


कक्षा १० मा अध्यनरत प्रतिभा सापकोटा गत दुई महिनादेखि स्कुलको होस्टेलमा बस्दै आएकि थिईन । गुल्मीको मजुवा घर भएकी १५ वर्षीया ती बालिकालाई दुई दिनदेखि ज्वरो आएको र छातीमा समस्या भएको तर विद्यालयले पूर्व जानकारी नदिएर लापर्बाही गरेकै कारण उनको ज्यान गएको उनका दाई प्रकाश सापकोटाले जानकारी दिए । ‘बिहान एक्कासी विद्यालयबाट कल आयो, बहिनी बिरामी छिन् आएर लैजानु भने, त्यतिबेलासम्म बहिनीको अवस्था सामान्य थियो’ जागरणपोष्टसँग गुनासो गर्दै उनले भने ‘घर पुगेपछि केहीबेरमा स्वासप्रश्वासमा समस्या आएर उनलाई मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा बाटोमै ज्यान गयो ।’


बिहान करिब ८ः३० बजे उनको मृत्यु भएको उनको भनाई छ । ‘विद्यालयले पूर्व जानकारी गराएको भए आज बहिनी मेरो साथमा हुने थिईन्’ उनले भने ।बालिकाको स्वास्थ्य समस्या गम्भिर भएपछि मात्रै अभिभावकलाई जानकारी गराएर गलत गरेको र त्यसैले उनको ज्यान गएको भन्दै उनीहरुले विद्यालयप्रति आक्रोस पोखेका थिए । तर विद्यालयका सह–प्राचार्य लिलाधर किरातले बालिकालेपनि पूर्व जानकारी नदिएकाले आफूहरु अवगत नभएको बताए । ‘आज बिहान मात्रै छाति दुख्यो भनीन्, अनि हामीले उनको दाईलाई सम्पर्क ग¥यौं’ उनले भने ।


सो विद्यालयमा एक साता पहिलेपनि एक शिक्षिकालाई कोरोना पोजेटिभ देखिएको थियो । साथै विद्यार्थीको पनि कोरोना कै कारणले मृत्यु भएको आशंका गरिएको छ । उनको ल्याब परिक्षणको रिपोर्ट आउन बाँकी छ ।सोही विद्यालयको कक्षा १२ मा अध्यारत विक्रान्त चापागाईले सरकारले जाखिम उठाएर अध्ययन अध्यापन नगराउन भनेपनि विद्यालयले अटेरी गरेको बताउँदै शिक्षिका लगाएत केही विद्यार्थीमा कोरोना संक्रमण देखिएको तर प्रशासनले गोप्य राखेर विद्यार्थीको ज्यानसँग खेलवाड गरेको ओरोप लगाए ।विद्यालयले वैशाख १५ गते सक्ने गरी परीक्षा सञ्चालन गरीरहेको थियो भने ५० जना बढी होस्टेलमा बस्दै आएका थिए । यो समाचार संप्रेषण हुने समयसम्म विद्यालय प्राङ्गणमा विद्यार्थीहरुको कोरोना परिक्षण भईरहेको थियो र विद्यालय प्रशासनका पदाधिकारी र पिडित अभिभावकबिच छलफल जारी रहेको थियो।

स्वर्गिय प्रतिभा सापकोटा । तस्वीर : उनको फेसबुक वालबाट

कमेन्ट गर्नुहोस्