लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा देशकै पहिलो नमुना दुग्ध उद्योग स्थापना हुने

IMG

तिलोत्तमा २०७८ बैशाख ५ गते। रूपन्देहीको तिलोत्तमा नगरपालिकामा देशकै पहिलो नमुना दुग्ध उद्योग स्थापना हुने भएको छ । सहकारी ऐन, २०७४ तथा प्रदेश सहकारी ऐन, २०७६ को व्यवस्थाअनुसार विभिन्न प्रकृतिका सहकारीको लगानीमा उद्योग व्यवसाय सञ्चालन गर्ने गरी स्थापना भएको लुम्बिनी विशिष्टीकृत सहकारी संघले उक्त उद्योग बनाउन लागेको हो ।


लुम्बिनी प्रदेशका दाङ, रोल्पा, प्यूठान र रुकुमबाहेकका जिल्लाका ८५ सहकारी संस्था संलग्न रहेको संघको उद्योग सञ्चालनको योजनाअनुसार उद्योग निर्माण गर्न लागिएको संघका अध्यक्ष खगराज शर्माले जानकारी दिए । सहकारीमा आबद्ध किसानको उत्पादन बिक्रीको सुनिश्चितता र मूल्य अभिवृद्धि गर्ने, उपभोक्ताका लागि उचित मूल्यमा वस्तु उपलब्ध गराउने र देशमै रोजगारीको वातावरण सिर्जना गर्ने उद्देश्यले दुग्ध उद्योग सञ्चालनको परिकल्पना अघि बढेको उनले बताए ।


उच्च प्रविधियुक्त बृहत् स्तरको यूएचटी दुग्ध प्रशोधन परियोजनाअन्तर्गत स्थापना हुने उद्योगमा प्रशोधित दूध, पनिर, घिउ, बटर, नौनी, कुराउनी, आइसक्रिम, लस्सी, चकलेट, चिज, छुर्पी, मोही, पाउडर दूध आदि दुग्ध परिकार उत्पादन हुने संघले जानकारी दिएको छ । यसका लागि ५९ करोड ८५ लाख रुपैयाँको डीपीआर तयार भएको शर्माको भनाइ छ । यूएचटी प्रशोधन विधिले दुग्धप दार्थको आयु बढाई ६ देखि ८ महिनासम्म उपभोग गर्न मिल्ने गरी काम गर्छ । यसका लागि २ देखि ५ सेकेन्डभित्र १ सय ३८ देखि १ सय ४० डिग्री सेन्टिग्रेडसम्मको उच्च तापक्रममा तताएर जीवाणुरहित बनाई प्याकेजिङ गरिन्छ ।


परियोजना निर्माण सम्पन्न गर्न संघमा सदस्य रहेका सहकारी संस्थाबाट ५० लाखदेखि ३ करोड रुपैयाँसम्म संकलन गर्ने र अन्य बजेट प्रदेश र संघीय सरकारबाट माग गर्ने शर्माले बताए । उद्योग निर्माण गर्न तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा वार्षिक १ लाख ५० हजार रुपैयाँ तिर्ने गरी नगरपालिकाले साढे २ बिघा १० कट्ठा जग्गा भाडामा दिने सम्झौता भएको छ । उद्योग बनाउने योजनाअनुरूप पहिलो चरणमा आईईपी गरी तारबार लगाउने, सडक, माटो सम्याउने काम र स्टोर कोठा अनि शौचालय निर्माणका काम भइसकेको संघका व्यवस्थापक रामप्रसाद पाण्डेले जानकारी दिए । ‘प्रारम्भिक कार्य पूरा गर्न तिलोत्तमा नगरपालिकाले पूर्वाधार विकास कार्यक्रममार्फत सहयोग गर्ने उद्देश्यले छुट्याएको बजेटबाट २० लाख रुपैयाँ सघाएको हो,’ उनले भने, ‘२५ लाख रुपैयाँ खर्च भइसकेको अवस्थामा ५ लाख संघले खर्च गरेको छ ।’


तिलोत्तमा नगरपालिकामा गरिएको लगानी सम्मेलनबाट नगरभित्र दुग्ध उत्पादन केन्द्र स्थापना गर्ने प्रस्तावमा सहकारी संघ परियोजना निर्माण गरी सञ्चालन गर्ने गरी अघि बढेको हो । सहकारी संस्थासँग ठूलो पुँजी नभएकाले संघमा आबद्ध सहकारीबाट संकलित ४० करोड र सरकारको बजेट सहयोगमा दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष शर्माले बताए । आउँदो आर्थिक वर्षमा सरकारले बजेट कार्यक्रममा समावेश गर्ने गरी छलफल भइरहेको र उद्योगमा दैनिक ५० हजार लिटर दूध संकलन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘दूध उत्पादन सिजनेबल हुन्छ,’ उनले भने, ‘बाह्रै महिना दूधको माग पूरा गर्न यो उद्योगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

कमेन्ट गर्नुहोस्