लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

४० वर्ष भारतको जेलमा रहेका दीपकलाई रिहा गर्न आदेश

tillotmacitynews - 2021 Mar 17 09:13 PM
IMG

तिलोत्तमा २०७७, ४ चैत्र । ४० वर्ष भारतको जेलमा रहेका नेपाली दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई छाड्न अदालतले आदेश दिएको छ ।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले उनलाई रिहा गर्न बुधबार साँझ आदेश दिएको हो ।यसअघि उच्च अदालतले दार्जिलिङ अदालतको मिसिल मगाउन आदेश दिए पनि दीपकका वकिल हिरक सिन्हाले यसअघि नै त्यो मिसिल पेश गरिसकेको जानकारी दिएका थिए । त्यसपछि दीपकलाई रिहा गर्ने आदेश दिइएको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका कार्यालय सचिव सतीश थापाले जानकारी दिए ।


अदालतले दीपकलाई अझै कारागारमा राख्नुको नपर्ने उल्लेख गर्दै दीपकलाई नजिकको आफन्त प्रकाशचन्द्र तिम्सिनाको जिम्मा लगाउन भनेको छ । अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्य ९ वर्ष ९ महिनाको व्यक्तिको जस्तो पाइएको उल्लेख गरेको छ । र, दीपकलाई अझै थुनामा राखेर न्यायको कुनै उद्देश्य पूरा हुन्छ भन्ने नलागेको अदालतले भनेको छ।सन् १९८२ को जेनुवरीमा उनी अदालती ट्रायलका लागि मानसिकरुपमा स्वास्थ्य नभएको अदालतले भनेको थियो । त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उनले ४० वर्षसम्म कारागारमा बस्नु परेको थियो ।इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए ।


दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका उनी विभिन्न जेलमा सारिए, यता परिवारले उनी आन्दोलनमा मारिएको हुनसक्ने आशंका गर्‍यो ।दार्जिलिङमा भएको एक आगलागीमा उनको कागजपत्र पनि जलेको थियो । त्यसपछि विक्षिप्त भएका उनी मानिसकरूपमा कमजोर बन्दै गए । अदालतले स्वास्थ्य जाँच गरेर सुनुवाइका लागि ल्याउन भनेको थियो । तर, उनको पक्षमा बोल्न मानिसहरु नभएपछि जाँचका लागि पनि लगिएन । बरु ट्रायलविनै विभिन्न कारागारहरू घुमाइराखियो ।कोलकाताको दमदम कारागारमा दाधेश्याम दास नामक कैदीले उनलाई १० वर्षअघि देखेका थिए ।


गत जेनवरीमा पनि दिपकलाई त्यहीँ देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो । र, दासले थुनामुक्त भएपछि वेस्ट बंगाल रेडियो क्लबमा खबर गरेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यममा उनी ४० वर्षदेखि जेलमा रहेको खबर सार्वजनिक भयो र उनको पक्षमा माहोल बन्यो ।दुर्गाप्रसादका दाइ प्रकाश, आफन्त गोपाल तिम्सिना र सामाजिक काम गर्ने इन्द्र बस्नेतले कारागारमा गएर १० फागुन २०७७ मा उनलाई भेटे । नाता प्रमाणित गरेपछि कारागारले भेट गर्न दिएको थियो । त्यसपछि उनलाई तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिइएको थियो ।

कमेन्ट गर्नुहोस्