लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब महानगरबाट चुनाब लड्छौ,महानगरको कार्यालय पनि तिलोत्तमामैं बन्छ: अर्थमन्त्री पौडेल

IMG

तिलोत्तमा, फागुन २० गते २०७७। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुभएको छ । २०७४ माघ ७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा शिलन्यास गर्नुभएको भवनको बिहीबार अर्थमन्त्रीको रुपमा उहाँ आफैंले उद्घाटन गर्नुभएको हो । आठ बिगाहा १४ कट्ठा क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन परिसरमा १९१२.६ वर्गमिटरमा फैलिएको चार तलाको भवन निर्माण भएको छ । भवनमा करिव १२० जना क्षमताको सभाहलसहित ४० कोठा रहेका छन् । अपाङ्तामैत्री, लिफ्ट सुविधासहितको भवनमा आकर्षक गार्डेनिङको काम अघि बढेको छ । ८ करोड ७९ लाख लागत अनुमान रहेको भवनको निर्माण सम्झौता ६ करोड ४२ लाखमा भएको थियो । 



भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमा कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्नेगरी तिलोत्तमा नगरपालिकाले ‘प्राइम लोकेशन’ मा भवन निर्माण गरेको उल्लेख गर्नुभयो । तिलोत्तमा रुपन्देहीकैं केन्द्र भागमा रहेकोले बुटवल, तिलोत्तमा, सिद्धार्थनगर र तिलोत्तमालाई छोएका अन्य पालिका समेटी बन्ने महानगरको कार्यालय यहीँ ठाउँमा निर्माण हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले अर्को स्थानीय तहको निर्वाचनसम्ममा यो क्षेत्र महानगरको रुपमा विकाश हुने र अबको त्यो चुनाबमा महानगरको तर्फ़बाट यहाका प्रतिनिधि चुनाव लड्ने बताउनुभयो । 



तिलोत्तमाका जनप्रतिनिधिहरुले जनताको हित र विकासप्रति समर्पित भएर काम गर्ने असल एवं सफल जनप्रतिधिको पहिचान बनाएको बताउँदै उहाँले नगर प्रमुख, उप–प्रमुखलगायतका जनप्रतिनिधिहरुको प्रशंसा गर्नुभयो । तिलोत्तमाले देशभरका पालिकाहरुमा याद गरिने, आश गरिने नगरपालिकाको पहिचान बनाएको बताउँदै अर्थमन्त्री पौडेलले विकासप्रति यहाँका जनप्रतिनिधिले देखाएको सक्रियतामा आफ्नो सधैं साथ रहने स्पष्ट पार्नुभयो । नयाँ नगरपालिका भए पनि तिलोत्तमाले गरेका कामहरु निकैं प्रभावकारी रहेको चर्चा गर्दै उहाँले यसले विकासको मानक स्थापित गरेको बताउनुभयो । रुपन्देही देशमैं विकासको रोलमोडल बनिरहेको चर्चा गर्दै अर्थमन्त्री पौडेलले जिल्लाको मध्यभागमा रहेको तिलोत्तमा समेत यसमा एकाकार रहेको उल्लेख गर्नुभयो । तिलोत्तमाले विकास निर्माण, सामाजिक परिवर्तन, वातावरण संरक्षण, सरसफाईमा दह्रो कदम चालेको उल्लेख गर्दै उहाँले तिलोत्तमा अब अघि नैं बढिरहने बताउनुभयो । 

कमेन्ट गर्नुहोस्