
बैतडी । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले पत्रकार सम्मेलन गरी भट्टलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले प्रत्यक्षदर्शी, प्राप्त प्रमाण र साबिती बयानका आधारमा दिनेश भट्टराई पक्राउ गरिएको बताए ।सोधपुछका क्रममा दिनेशले भागरथीका बुबाले आफ्नी फूपूलाई जवरजस्ती गरेको बदला लिन भागरथीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
भट्ट भागरथीलाई न्याय माग्दै गरिएको प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए ।जिल्ला अदालत बैतडीले आजै अभियुक्त भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको डीआईजी सुवेदीले जानकारी दिए । आरोपित भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।बुधबार बिहान अभियुक्त भट्टविरुद्ध भागरथीका दाइ केशवराज भट्टले किटानी जाहेरी दर्ता गराएका छन् ।अभियुक्त भट्टले आफूले भागरथीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । उनलाई प्रहरीले घरबाट मंगलबार साँझ पक्राउ गरेको थियो ।
माघ २१ गते स्कुल गएकी १७ वर्षीया किशोरी भागरथी घर नफर्किएपछि खोजविन हुँदा उनको शव गत माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।
कमेन्ट गर्नुहोस्