
सुुरेश बिडारी, ३० माघ, वीरगञ्ज ।
माघ २५ गते मृत भेटिएकी बारा महागढीमाई नगरपालिका–१ बरियारपुर कान्तीदेवी कुशवाहको हत्या भएको खुलेको छ । घरभित्रै शव भेटिएको उनको हत्यामा संलग्नको आशंकामा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटना भएको पाँच दिनपछि महागढीमाई–१ कचहरी टोलका ४२ वर्षीय लालबाबु प्रसाद कुशवाह र मठवा टोलकै ४८ वर्षीय धनेश्वरी देवी कुशवाह पक्राउ परेका हुन् । प्रहरीले घटनास्थलबाट अभियुक्तको रातो गम्छा र औठी भेट्टाएको थियो । गाउँको प्रत्येक घरमा गएर गम्छा र औठीको सम्बन्धमा बुझ्नुको साथै प्रविधिको प्रयोग गरेर अभियुक्त पत्ता लगाएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालयले यो घटना अनुसन्धानका लागि मिश्रकै नेतृत्वमा टोली खटाएको थियो । त्यस्तै प्रदेश नं २ प्रहरी कार्यालयले पनि प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतो नेतृवको टोली खटाएको थियो । पक्राउ परेका कुशवाहले घटनास्थलमा भेटिएको गम्छा र औंठी आफ्नो भएको र घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको भनाइ छ ।
मृतक कान्तीदेवीको परिवार र धनेश्वरीबीच जग्गा जमिन लगायत विषयमा किचलो थियो । सोही रिसईबी साँध्नका लागि अपराधिक मनोवृत्तिका लालबाबुको साथ लिएको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाही बताउँछन् ।‘लालबाबु अपराधिक मनोवृत्तिका मानिस रहेछन्, उनलाई धनेश्वरीले उक्साएर घटना घटाएको देखिन्छ’ उनले भने ‘लालबाबुले नै मारेको हो त्यसमा कुनै शंका छैन । उसलाई प्रलोभनमा पारिएको हो वा के गरिएको हो अनुसन्धान पछि खुल्छ ।’
पटक पटक अपराध र जेल सजाय
लालबाबु कुशवाह ०६५ सालदेखि ०६१ सालसम्म तीन वटा डाँका मुद्धा, हातहतियार तथा खरखजना र सार्वजनिक अपराधको १/१ मुद्धामा पक्राउ परी सजाय भोगिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीविरुद्ध बारा वञ्जरिया–५ बस्ने ओम प्रकाश महतो धानुकले ०५६ कात्तिक ७ गते उजुरी गरेका थिए ।उनले घरमा धनमाल लुटपाट गरेको भन्दै डाँका मुद्धा दर्ता गराएका थिए । त्यस्तै बाराको तत्कालिन बरियारपुर गाविस–९ बस्ने राम नारायणप्रसाद यादवले ०६१ साउन २६ गते र बाराकै तत्कालिन बघवन गाविस–१ बस्ने उपेन्द्र जयसवालले पनि डाँका मुद्धा दर्ता गरेका थिए । यादवले २ लाख ३६ हजार ४ सय रुपैयाँ बराबरको र जयसवालले २२ हजार ८ सय ८६ रुपैयाँको धनमाल लुटेको आरोप लगाएका थिए ।०५७ चैत ११ गते केही सार्वजनिक अपराध विरुद्ध र २०५८ पुस ११ गते हातहतियार तथा खरखजना मुद्धामा उजुरी परेको थियो । प्रहरीले गस्तीको क्रममा कलैया उपमहानगरपालिका– ६ बाट कुशवाहलाई कटुवा बन्दुक १ थान र त्यसमा लाग्ने गोली १ थान बरामद गरेको थियो । यी सबै घटनामा उनले अदालतबाट सजाय पाइसकेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्