लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गरिव चाहनाहरू : सुजित गुरुङ

IMG

         पौष महिना चलिरहेकोछ। आज पौषको १५ गते हुन पर्छ। बिहानै टाउकेका बा उठ्छन् र हात मुख धोएर घर भित्र गएर बल्छिका धागाहरू र तिखा घुम्रिएका बल्छिसङ्गै बाँसको टाँगो र बल्छि अड्याउने काठका पाटिहरू निकालेर पिँढिमा ल्याउँछन्। आज ऊसलाई तलको डुम्रे खोलामा माछा मार्न जानु पर्नेछ। ऊ गत २ महिना देखि माछा मार्न जान पाइरहेको छैन। आज तमु ल्होसार पनि हो त्यसैले माछाको झोल र ढिडो खाएर ल्होसार मनाउने ऊसको परिवारको योजना हिजै बनेको थियो। ऊसले आज आफ्नो छोरा टाउकेलाई पनि साथै माछा मार्न लैजाँदैछ। ऊसकि छोरि कोप्चि भने आमासित मेला पातमा पर्म जाने भएकिछे। टाउके र कोप्चि सानै छन्। टाउके गएको कार्तिक महिनाबाट ८ वर्षको भयो भने कोप्चि आउने चैतमा ६ वर्ष पुग्नेछे। टाउके र कोप्चिकि आमा फेरि गर्भवति भएकिछे तर गरिव गर्भवतिहरूको लागि आराम र पौष्टिक भोजन भन्नु तारा र जुन जस्तै हुन्। 


त्यसैले ऊ गर्भवति भए पनि काममा गइरहन्छे। टाउके र कोप्चि भने सानै भएकोले आमा बुवाको पछि लागेर ऊनिहरू जहाँ पुग्छन् त्यहि जान्छन्। पुच्छर जस्तै। आज टाउके पनि छिटै उठेको छ। कोप्चि भने अझै निदाइरहेकि छे। ऊसकि आमा १० बजे पछि मात्र पर्म जान्छे नि त त्यसैले। टाउकेको वास्तविक नाम के हो ऊसको बुवा आमालाई बाहेक कसैलाई थाहा छैन भन्दा केहि फरक पर्दैन। त्यसो भए ऊसको आमा बुवालाई सोध्ने पो हो कि? भै गो छाडिदिउँ। त्यसको कुनै अर्थ हुँदैन सायद। किनभने ऊसलाई बोलाउने वा चिनाउने नाम हामीले पाइसक्यौँ। ऊसको टाउको अलि ठूलो छ त्यसैले ऊसलाई सबैले टाउके भन्ने गर्छन्। अब त ऊ आफैलाई पनि ऊसको नाम टाउके नै हो भन्ने लाग्छ। अनि कोप्चिको नि? ऊसको वास्तविक नाम पनि अर्कै छ। ऊ आइतवार जन्मिएकि थिइ। 


त्यसैले ऊसको नाम आइत माया, आइत कुमारी वा आइती आदि इत्यादि मध्ये एक हुनु पर्छ। तर होस हामीसङ्ग ऊसलाई चिनाउने नाम कोप्चि रहेको छ। त्यसैले ऊसको आमा बुवालाई सोधिरहनु राम्रो हुने छैन। हामी सर् हौँ। मलाई माफ गर्नु होला लेखक महोदय म सर् होइन। एक्कैछिन् पर्खनुहोस पाठक महोदय। गाउँले गरिव र अशिक्षित मानिसहरूले आफ्नो गाउँ बाहिरका सुकिला-मुकिला मानिसहरूलाई सर् भन्ने गर्छन्। “तर मैले कहिल्यै पनि पढाउने काम गरिन।“  “ प्रिय पाठक मैले अघि नै भनेँ नि, त्यसको कुनै अर्थ रहँदैन यिनिहरूको नजरमा। हो, हामी सर्हरूले ऊनिहरूको स्वत स्फूर्त दैनिक जीवनमा धावा बोल्न हुँदैन। नत्र हामीले चाहेको जस्तो नतिजा नपाउन सक्छौँ। ऊनिहरू हाम्रो अगाडि आफ्ना दयनिय जीवन प्रदर्शन गर्न लजाउँछन्।


 त्यसैले हामी न त टाउके र कोप्चि न त ऊसका आमा बुवाको नै नजरमा पर्नेछौँ। हामी त केवल लुकेर ऊनिहरूलाई चिहाइरहनेछौँ। टाउकेको बुवाको नाम पुड्के साहिला हो। खै! किन ऊसको नाम पुड्के साहिला रहन गयो कसैलाई थाहा छैन। ऊसकि आमाको नाम चाँहि मसिनी। ऊसको नाम किन मसिनी भयो भन्ने पनि कसैलाई थाहा छैन। सबै नामहरूको अर्थ खोज्नु ठिक पनि हुँदैन। किनभने हामी शहरवासि भनाउँदाहरूले पनि अर्थ न व्यर्थको नाम राख्ने गर्दछौँ। जस्तो कि बुवाको नाम प्रशान्त आमाको सुविधा र थर तामाङ होस तब ऊनिहरूको छोरिको नाम प्रसुता भइहाल्यो। प्रसुताको कुनै अर्थ थाहा पाउनु भएको छ तपाईँले? यदि छ भने त्यो त राम्रो भयो तर हामी त्यसमा अल्झिनेछैनौँ। ऊनिहरूको बोलाउने नाम जे सुकै भए पनि लोग्ने स्वास्निले परसपरमा भने टोड्कि र टोड्के भनेर बोलाउने गर्दछन्। 


टाउके र कोप्चिलाई ऊनिहरूको बुवा आमाको नाम कून चाँहि सहि हो थाहा छैन। र थाहा हुन जरूरि पनि छैन। किनभने त्यो थाहा नहुँदा ऊनिहरूको भात तियुन अवश्य रोकिनेछैन। र परिक्षामा जस्तो अङ्क पनि काटिनेछैन। किनभने ऊनिहरूले विद्यालयको मुख देख्न पाएकै छैनन्। वैसाखमै डुम्रे प्राथमिक विद्यालयका हेड मास्टरले घरमै आएर टाउके र कोप्चिलाई भोलिबाट विद्यालय पठाइदिनु भनेका त थिए नि। तर ऊनिहरूसङ्ग विद्यालयमा लगाउन पर्ने पोषाक छैन। किताब हाल्ने झोला पनि छैन। त्यति मात्र होइन गोडामा लगाउने चप्पल पनि छैन। अनि कट्टु र खकाले गन्जि लगाएर रित्तो पैताला बजाउँदै कसरि जाउन तिनिहरू स्कूल। त्यसैले गएनन्। “तर आज भोलि त विद्यालय पोषाक सरकारले दिने गर्छ हैन र लेखक महोदय?” हो तर शुरूका दिनहरूमा ऊनिहरू त्यहि कट्टु र गन्जिमा सजिनु पर्नेछ। 


त्यो पनि १ देखि २ महिनासम्म। त्यति बेलासम्म जाँङमा प्वाल परेको कट्टु लगाएर कसरि जाओस स्कूल। अनि सरकारले चप्पल त दिँदैन होला सायद। अँ दिएछ भने पनि त्यो पक्कै ढिलो हुनेछ। टाउकेको बाले करेसाबाट गड्यौँलाहरू खोजेर ल्याए। र एउटा प्लास्टिकमा हालेर पोको पारे। अब टाउके र ऊसका बा डुम्रे खोला झर्दैछन्। साथमा बाँकि रहेको हिजोको ढिडोको डल्लाहरूलाई आगोमा पोलेर ल्याएका छन् अनि नुन खुर्सानि पिसेर कागजमा पोको पारेर पनि। आजको बिहानको खाना टाउके र ऊसको बुवाको त्यहि पोलेको ढिँडो र नुन खुर्सानि हुनेछ। खोलामा पुगेर टाउकेको बाले गड्यौँलाहरूलाई एक-एक गर्दै बल्छिमा मिलाएर उन्छन्। र गड्यौँलासहितको बल्छिहरूलाई पालै पालो केहि दूरिको अन्तर बनाएर खोलाको बीचसम्म पुग्ने गरि हुर्याउँछन्। अर्को पट्टिको भागलाई पानि बाहिर जमिनमा काठको पाटि बाँसको टाँगो र ढूङ्गाहरूको मद्दतले अल्झाउँछन्। र आफू चाँहि गँगटाहरू खोज्न थाल्छन्। टाउके भने बाको पछि-पछि बाको कृयाकलापहरूलाई नियाल्दै हिँडिरहेकोछ। 


बेला-बेलामा टाउकेका बा बल्छि भएतिर नजर डुलाउँछन् र माछा परे-नपरेको नियालिरहन्छन्। गँगटाहरू फाट्ट-फुट्ट भेट्टिरहेकाछन्। तर बल्छिमा भने माछा परेको सङ्केत देख्खिरहेको छैन। करिव बिहानको ११ बजेतिर ऊनिहरूले पोलेको ढिँडोको डल्लोलाई नून खूर्सानिको लेदोसङ्ग चोप्दै खूब स्वाद मानि-मानि खाए। टाउकेले झन् आगोले पोलिएको ढिँडोको रागलाई गहिरिएर गन्ध र स्वाद लिँदै साना हातहरूले कपाकप मुखमा ढिँडोको गाँसहरू कोच्यो। आगोले डामेर ढिँडोको सतहमा बनाएको कडा माङ्रि जस्तो बोक्रालाई झनै टाउकेले असाध्यै दिलचस्वि लगाएर चपायो। ऊसको जिउमा जाडो याममा पनि पातालो गन्जि र घुँडासम्म मात्र आउने कट्टु झुन्डिरहेकोछ। त्यसैले टाउके खोलाको ठूलो ढूङ्गा माथि बसेर घाम लागुन्जेल दुवै हात कट्टुको दायाँ-बायाँको गोजिमा छिराएर मज्जाले घाम तापिरहन्छ। गोजिभित्रबाटै ऊसले आफ्ना साना दुइ तिग्राहरूलाई हत्केला र औँलाहरूले छामिरह्यो। 


ऊसका तिघ्राहरू ऊ आफैलाई सानो र दुब्लो लाग्यो।एकैछिन्मा फेरि ऊसले आफ्नो ध्यान बुवा र बल्छि भएतिर नै लगायो। दिउँसोतिर माछा मार्न भनेर गाउँकै ठिटो कालिपारे पनि आइपुग्यो। तर ऊ बेसौरि बोकेर आएको थियो। त्यसैले ऊसले खोलामा पसेर सम्भावित माछा भएका ठाउँहरू खोजेर बेसौरि थाप्यो। ऊसले भने धेरै माछाहरू फेला पार्यो। तर साना। हातका औँला जत्रा जत्रा। करिव २ बजेतिर टाउकेको बाले थापेको बल्छिको डोरिहरू मध्ये एउटा डोरि बेस्सरि थरथराउन थाल्यो। टाउकेको बाले निश्चय गर्यो त्यसमा माछा परेको छ भनेर। र ऊ हतार-हतार त्यो बल्छिको छेउ गयो र त्यसको काठको पाटिलाई थिचि राखेको ढूङ्गा हटाएर दुवै हातले बेस्सरि समायो। र नियम अनुसार बल्छि तान्ने र छोड्ने गर्न थाल्यो। टाउकेले त्यो दृष्य बाको नजिकै गएर नियाल्न थाल्यो। टाउके एकोहोरो बाले बल्छि तान्ने र छोड्ने गरिरहेको हेरिरहन्छ। तर ऊ उसको बाले प्रत्येक पटक तान्दा-तान्दैको बल्छि छोडिदिएको देख्दा भने अचम्म परेर हेरिरहन्छ। 


तर यस पटक बुवाले बल्छि छोड्दै गर्दा आफ्नो कौतुहलता रोक्न नसके पछि आफ्नो बाको मुखमा हेरेर मायाँ लाग्दो स्वर निकालेर सोध्छ। “बा किन तिमिले बल्छि छोडेको?” “माछालाई पनि बल्छि तान्न दिनु पर्छ नि त। अनि बल्ल माछा थाक्छ र बाहिर ल्याउन सजिलो हुन्छ। नत्र बल्छि चुँडाएर माछा भाग्छ नि।“ बुवाको जवाफ सुनेर ऊ अचम्म मान्दै कति बेला माछा थाक्छ होला भनेर खोलाको पानिमा हेरिरहन्छ। केहि बेरमै टाउकेको बाले बल्छि बाहिर निकाल्छन्। नभन्दै बल्छिमा ठूलो माछा परेको रहेछ। सायद १ किलोको हुन पर्छ माछा। टाउकेको बाले अन्दाज लगायो। माछा बाहिर आउनासाथ टाउके खूशिले एक पटक बेस्सरि बुरूक्क उफ्रियो। र चर्को स्वरमा माछा निस्कियो भनेर चिच्यायो। टाउकेको बाले माछाको पुच्छर पट्टिको भागलाई होसियार पूर्वक समायो र छेवैको ठूलो ढूङ्गामा टाउको पट्टिको भागलाई पछार्यो। ३/४ पटक पछारेपछि मात्र माछा छट्पटाउन छोडेर शान्त भएर टाउकेको बाको हातमा लमतन्न परेर मर्यो। 


माछा ढूङ्गामा पछारिउन्जेल टाउके खूब डरायो। ऊसले आफ्नो दुवै आँखा बन्द गर्यो र बाले माछालाई ढूङ्गामा पछार्दा निस्किएको डर लाग्दो आवाज मात्र काम्दै सुनिरह्यो। माछा मरे पछि ऊसको बाले यि यता हेर् त छोरो भन्दै मरेको शान्त माछा देखाइरहँदा मात्र ऊसको डर हरायो। अब फेरि टाउके खूशि हुन थाल्यो। अब भने ऊ बेलुका खाइने माछा र तातो झोलको परिकल्पनामा डुब्न थाल्यो। पक्कै पनि आज बेलुका भने टाउकेले माछाको तरकारिमा त्यो अमिलो तोरिको पिना हाल्न दिनेछैन आफ्नो आमालाई। ऊसलाई पिना हालेको तियुन पटक्कै मन पर्दैन। तर ऊसका आमा-बुवालाई पिना हालेको तियून खूब मन पर्छ। यो कुरा टाउके र ऊसको बहिनि कोप्चिलाई पनि राम्ररि थाहा छ। बेला-बेला ऊनिहरूले बुवा आमाले पिना हालेको तियून खान नपाएको धेरै भो भनेर गुनासो पोखेको सुनेकाछन्। तर टाउके र कोप्चिलाई भने पिनाको नाम सुन्नासाथ पनि अमिलो डकार आउँछ। 


खै! त्यस्तो नमिठो अमिलो पनि किन मन परेको होला बुवा र आमालाई। छ्या! पिनाको अमिलो त असाध्यै नमिठो हुने के। कस्तो अमिलो? खै! कस्तो हो कस्तो। त्यो निबुवा वा कागतिको अमिलो जस्तो मिठो भने अवश्य होइन। गन्ध पनि महिनौँ ननुहाएको जिउबाट निस्कने दूर्गन्धित पसिनाको जस्तो। उफ्! टाउके र कोप्चिलाई पिनाको नाम सुन्दा मात्र पनि छाद आउन-आउन आँट्छ। २ महिना अघि माछा पकाउँदा त्यसैले टाउके र कोप्चिले राम्ररि ढिँडो खानै सकेनन्। बरू त्यो भन्दा अघिको माछाको स्वाद भने टाउकेको जिब्रोमा अझै अल्झिरहेकोछ। तातो मिठो झोलमा ढिँडोको डल्लो चोपल्दै निलेको दिन ऊसलाई आजै हो कि झैँ लागिरहन्छ। कालिपारे भने करिव ३ बजेतिर घर फर्किन्छ। तर टाउके र ऊसको बुवाले दोस्रो माछाको प्रतिक्षा गरिरहन्छन्।खै! किन हो टाउकेको सम्झनामा हिजो मात्र जम्बुले बटारेको कालो पाठो याद आइरह्यो। 


त्यो ऊसको लागि एउटा दूःखत घटना थियो। किनभने गएको २ महिना देखि त्यो कालो पाठो ऊसको अभिन्न मित्र जस्तै भएको थियो। त्यो कालो पाठोको जुम्लिया सेति पठ्याक्रि पनि छे। ऊसलाई भने जम्बुले बटार्न भ्याएन। बुवाले देखिहाल्नु भयो नि त त्यसैले। बुवाले एउटा गज्जबको ढूङ्गाले मर्ने गरि जम्बुलाई बैठ्याएको पनि हो तर धेरै टाढाबाट लागेकोले जम्बुलाई घाउ चोट लाग्न सकेन। टाउके र कोप्चिले ति पाठा र पाठिको लागि दिनभर बारिका कान्लाहरूमा डुलेर ढालेखोको खोजेर धागोमा उनेर सयपत्रि मखमलिको माला जस्तै बनाएर पनि लगाइदिएका थिए। तर टाउकेको त्यत्रो मेहनत जम्बुकै कारण माटोमा मिलेको थियो। माटोमा के भन्नु जम्बुको भुँडिमा मिलेको थियो। तर कोप्चिको मेहनत भने खेर गएको थिएन। तर आज ऊसङ्ग एउटा ठूलो खूशि छ। ऊसले आज घरमा सानकासाथ दिनभरिका घटनाहरू बहिनी कोप्चिलाई सुनाउन पाउनेछ। माछा बल्छिमा पर्दा, बाले बल्छि तान्ने र छोड्ने गरेको पल, र माछा बाहिर आउँदाको क्षण र बुवाले माछालाई ढूङ्गामा पछार्दाको त्यो अजङ्गको आवाज बारे ऊसले विरताको साथ बहिनि र आमाको अगाडि वयान गर्नेछ। 


माछा खाँदा पनि ऊ माछाका प्रत्येक चौटाहरूलाई प्रेम पूर्वक सुम्सुम्याउनेछ। अति आदरकासाथ मुखमा हाल्नेछ र खूब होसियार भएर स्वाद लि-लि चपाएर निल्नेछ। अँ अब भने ऊसले त्यो कालो पाठोलाई भूल्नेछ किनभने ऊसङ्ग अहिलेसम्मकै ठूलो माछा छ र त्यो भन्दा अविस्मरणिय त त्यो माछा बल्छिमा पर्दाको हर एक घटना चुस्त दुरूस्त ऊसको दिमागमा खिचिएकोछ। एकैछिन्मा हस्याङफस्याङ् गर्दै गाउँकै डोल्मा खोलामा आइ पुगि। डोल्मा गाउँकै धनि राम बहादूर साहूको खाद्यान्न पसलमा नोकरि गर्छे। ऊ खोलामा आइपुगि र टाउकेको बातिर हेर्दै भनि। “पुड्के साहिला ठूलाबा राम बहादूर साहूले भन्नु भाको यो माछा उहाँलाई बेचिदिनु रे।“ यो कुरा सुनेर टाउके छाँगाबाट खसे जस्तै झसङ्ग भयो। ऊसको मन दूःखि भइरह्यो। टाउकेको बा पनि डोल्माको कुराले अवाक भएर डोल्माकै मुखमा वाल्ल पर्दै हेरिरह्यो। केहि बेरमै सम्हालिँदै टाउकेको बा बोल्यो “तर यो माछा हाम्रै लागि हो। आज अरू माछा परेन आज त्यसैले।“ “जे भए पनि बेलुका राम बहादूर साहूको पसलमा पसेर मात्र घर जानु रे भन्नु भा,छ।“ डोल्माले यति मात्र भनि र सरासर आफ्नो बाटो लागि। 


गाउँको सबै पसल राम बहादूर साहूकै हो। गहुँ, मकै, कोदो, तोरि सबै-सबै पिस्ने मिल गाउँमा ऊसैको हो। त्यति मात्र होइन, रामबहादूर साहूको कुखूरा फारम, कपडा पसल, किराना पसल पनि छ। त्यसैले ऊसले कमाउनसम्म पैसा कमाएको छ। गाउँ घरकै सबैभन्दा रसिलो-पोषिलो र मिठो मसिनो ऊसकै पेटमा छिर्छ। अरूको घरमा राम्रो वस्तू वा खाद्यान्न देखे मात्र पनि ऊसको नेत्र जलेर आउँछ। त्यसैले ऊसले ति सबै वस्तु र खाद्यान्न आफैले किन्छ। ऊसङ्ग जति पनि पैसा छ नि त त्यसैले। अहिले त लोकतन्त्र देखि गणतन्त्र सबै छ। त्यसैले ऊसले पैसा खर्च गर्न पर्छ। नत्र त गाउँमा ऊसको हुकूमी शासन चल्थ्यो। केको पैसा। महाजनलाई आफ्नो घरको उत्तम वस्तु अर्पण गर्न पाउनु नै त्यो गाउँवासिहरूको अहो भाग्य ठहरिन्थ्यो। गाउँलेहरूले राम बहादूर साहूकै लागि मेहनत पसिना बगाएर कुखुराको भाले, खसि, बोका पालिदिन्थे। र हुर्काएर बढाएर जखमले बनाइसके पछी खूशी हुँदै राम बहादूर साहूको आँगनमै टक्र्याइदिन्थे। र महाजनको सेवा गर्न पाएकोमा गौरवले छाति फुलाउँदै घर फर्किन्थे। २०६३ सालमा लोकतन्त्र भनाउँदो आए पछि राम बहादूर साहूले सबै गाउँले भेला गरे अनि भाषण गर्दै भने “आदर्णीय गाउँले दिदि बहिनी, दाजू भाई तथा आमा बुवाहरू, देशमा भर्खरै लोकतन्त्र आएकोछ। 


त्यसैले अब देखि तपाईँहरूले मलाई कुनै जिन्सि ल्याएर प्रदान गर्नु भएमा म पनि हजूरहरूलाई बक्सिस स्वरूप नगद प्रदान गर्नेछु।“ त्यस दिन डुम्रे प्राथमिक विद्यालयको चौरभरि तालि गुन्जिएको थियो गाउँलेहरूको। त्यस पछि मात्र राम बहादूर साहूको पैसा अलिकति भए पनि बाहिर जान थालेको हो। टाउके र टाउकेको बुवाले अड्कल काटे कि पक्कै पनि माछा परेको कुरा राम बहादूर साहूलाई त्यहि कालिपारेले भनेको हो। तर एक-अर्कालाई भने बताएनन्। टाउकेले त झन् कालिपारेलाई मनमनै सराप्नसम्म सराप्यो। आउने वैशाखमा कालिपारेले बिहे गर्दै छ रे। कालिपारेले बिहे गरे पछिका दिनहरूको लागि तयारि स्वरूप नयाँ कम्मल र गुन्द्रि पनि किनेकोछ रे। लगाउने लुगाहरू पनि किनेको छ रे। नयाँ पायल चप्पल पनि हिजो मात्रै किनेको रे। स्वास्निको लागि भनेर चुरा, धागो, सिँदूर पोते पनि किनिसकेको छ रे। टाउकेले त्यसको बिहे भाँडिजाओस भनेर खूब सराप्यो तर मनमनै। भोलिबाट त्यसको बेसौरिमा माछा पर्दै नपरोस भनेर पनि सराप्यो तर त्यो पनि मनमनै।


 त्यसको नयाँ कम्मल र गुन्द्रि पनि आजै राती च्यात्ति जाओस भनेर सराप्यो। पायल चप्पल पनि नलगाउँदै चुँडियोस भनेर पनि सराप्यो। चुरा पोते पनि हराइजाओस भनेर मुर्मुरिँदै सराप्यो। तर तपाईँले थाहा पाइहाल्नु भयो पाठक महोदय ऊसले कसरि सराप्यो भनेर। बेलुका टाउके र टाउकेको बुवा राम बहादूर साहूको खाद्यान्न पसलमा पुग्यो। “खै! पुड्के साहिला, माछा ल्याइस् त?” राम बहादूरले अलि चर्को स्वरमा सोध्यो। “हा...हाजूर साउ  बा, ल्यायो। तारा जहानले पनि माछा खाने मन गरेथ्यो। आइले त ऊ दुइ जिउको पनि भा.छा। तेसैले नबेच्ने कि भन्ने सोँचेको।“ टाउकेको बाले भुइँतिर हेर्दै जवाफ दियो त्यो पनि सानो स्वरमा। “ह्या के नचाहिने कुरा गर्छ यो पुड्के साहिला? म पैसा दिहाल्छु नि। त्यो पैसाले मेरो फारममा गएर आधा किलो बोइलरको मासु किनेर लैजानु। म त्यो लालेलाई भनेर टाउको खुट्टा आधा किलो जति त्यसै पठाइदे भनिदिउँला।“ राम बहादूरले लोलोपोतोको भाषा बोल्यो। 


अनि माछा कस्तो र कत्रो रहेछ त भनेर माछा हालिएको फुर्लुङमा आँखा लगायो। माछा फुर्लुङमा नअँटाएर आधाभन्दा बढि बाहिर नै झुन्डिरहेको थियो। टाउकेको बाले एक हातमा माछाको फुर्लुङ र अर्को हातमा कालो पलास्टिकमा गँगटा बोकिरहेको थियो। अर्को हातको गँगटा देखाउँदै राम बहादूर साहू फेरि बोल्न थाल्यो “ए, गँगटा पनि रहेछ त। लौ त पुड्के साहिला यति भए आजको ल्होसार खास्साको हुन्छ। त्यसै गरौँ त है।“ “ए, डोल्मा यो माछा जोख् त।“ राम बाहदूरले आदेश दियो। माछा डोल्माले समाइ र फुर्लुङबाट निकालि। त्यसलाई डिजिटल काँटामा राखि माछा १ किलो १५० ग्राम रहेछ। तर राम बहादूरले १ किलोको मात्र पैसा टाउकेको बाको हातमा थमाइदियो र कुखुरा फारममा जान भन्यो। टाउके र टाउकेको बा निन्याउरो पर्दै लुरुक्क फारममा पुगे। टाउकेको बाले आधा किलो मासू किन्यो। र आदेश अनुसारको आधा किलो टाउको खुट्टा पनि पायो। र टाउके र टाउकेको बुवा साँझपख मात्र घरमा पुगे। 


घरमा टाउकेकि आमा भड्डुमा ढिँडो ओडालिरहेकिथि। कोप्चि भने अगेनोको छेउमै आगोको न्यानो राप पाएर भुसुक्कै निदाइसकेकि थि। टाउकेको बाले ब्रओइलरको मासु स्वास्निको हातमा थमायो र अलि धेरै गोलभेडा हालेर मिठो हुने गरि पकाउन भन्दै धारातिर गयो। टाउके भने मुन्टो निहुराएर आमाकै देब्रे छेउमा टुसुक्क बस्यो र भड्डुबाट निस्किरहेको तातो बाफ हेर्दै ढिँडो छड्किएको आवाज सुनिरह्यो। टाउकेकि आमाले बुझिसकेकिथि ब्रोइलर मासुको कथा। त्यसैले दूःखी मन बनाउँदै प्याज र गोल्भेडा काट्न लागि। प्याज र गोल्भेडा काट्दै गर्दा ऊसको मनमा मेलामा सङ्गिनिहरूले भनेका कुराहरू सम्झिरहि। दुइ जिउको हुँदा पोषिलो खानु पर्छ रे। लोकल कुखुराको मासु, माछा फलफूल आदि। बोइलरको मासु खानु त्यति राम्रो होइन रे। खै! ऊसले ठम्याउन सकिन को चाँहि दोजियाको भएको हो राम बहादूर साहू कि ऊ स्वयम। तर फेरि सम्झि रहि ब्रोइलरको मासु गर्भवतिहरूको लागि राम्रो हुँदैन। राम्रो हुँदैन।


कमेन्ट गर्नुहोस्