लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हल तत्काल खोल्नुपर्छ: प्रदिप खड्का

IMG

९ पुस, २०७७ तिलोत्तमा। नायक तथा निर्माता प्रदिप खड्काले चलचित्र भवनहरु संचालनमा ल्याएर मात्रै दर्शक हलसम्म नआउने बताएका छन् । आज काठमाण्डौको नयाँ बाँनेश्वरमा संचालनमा आएको ‘मःम मज्जा, स्वाद घरको’ रेष्टुरेन्टको उद्घाटन गर्दै उनले हल खोलेर मात्र नहुने भन्दै निर्मातालाई सुरक्षित बनाउने बिषयमा सोच्नुपर्ने बताए ।उनले भने–‘चलचित्र भवनमा जस्तै रेष्टुरेन्टमा पनि कडाई थियो । तर, जब रेष्टुरेन्टहरु खुले, मानिसहरु आउन थाले । तर, हल खोलेर मात्र हुँदैन निर्माताले चलचित्र दिने वा नदिने भन्ने कुरा पनि मुख्य हो । यो अवस्थामा निर्मातालाई प्रोत्साहन गर्ने कुनै नीति नै नल्याई हल मात्र खोलेर हुँदैन ।’प्रदिपले आफू हल खोल्नुपर्छ भन्ने कुराको विपक्षमा नरहेको बताए । तर, एउटा निर्माताले जोखिम मोलेर चलचित्र चलाएपछि के पाउँछ भन्ने बिषयमा सरोकारवाला निकायले सोच्नुपर्ने तर्क उनको थियो ।


उनले अगाडि भने–‘हामीले चलचित्र प्रेमगीत ३ चलाउने बिषयमा चलचित्र संघ, निर्माता संघसँग बैठक पनि गरेका थियौं । तर, निर्माताले जोखिम मात्र मोल्ने भन्ने हुँदैन । नेपालमा निर्माताले एउटा डुबेपछि अर्को बनाउन निकै समस्या छ । राम्रो चलचित्रलाई प्रोत्साहन गरेर चलाउने हो भने दर्शक हलसम्म आउँछन् ।’शुक्रबारदेखि पुरानै नेपाली चलचित्र चल्न लागेको बिषयमा प्रदिपले भने–‘दर्शकलाई हलसम्म आउनुहोस् भनेर मैले त भनौंला । तर, नयाँ चलचित्र हेर्न नै दर्शकलाई आउनोस् भन्दा गाह्रो मान्नुहुन्छ । राम्रो चलचित्र चलायो भने दर्शक यसै पनि आउनुहुन्छ । पुरानो चलचित्र चलाउँदा यो जोखिमको समयमा दर्शकलाई आउनुहोस् भनेर आउनुहुन्छ जस्तो मलाई लाग्दैन । पुरानो चलचित्र हेर्नका लागि रकम खर्च गरेर आउनुहोस् भनेर कसरी भन्ने ? निर्मातालाई सुरक्षित बनाएर राम्रो चलचित्र बजारमा ल्याउन आवश्यक छ ।’

कमेन्ट गर्नुहोस्