लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका १२ सामुदायिक विद्यालयमा नर्सिङ्ग सेवा

tillotmacitynews - 2020 Nov 09 05:26 PM
IMG

तिलोत्तमा, २४ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा  विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम सुरु भएको छ । सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय : एक नर्स’ कार्यक्रमलाई तिलोत्तमा नगरपालिकाले १२ जना स्टाफ नर्स नियुक्त गरेर अघि बढाएको हो । विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य परीक्षणका लागि सुरु गरिएको कार्यक्रमअनुसार तिलोत्तमामा पहिलो चरणमा १२ सामुदायिक विद्यालय छनौट भएका छन् । नगरपालिकाले शान्ति, पशुपति, शिवपुर, जनभावना, टिकुलिगढ, जनहित, गौतमबुद्ध, जनता, जनज्योती, शंकरनगर दुर्गादत्त, जनजागृति र बरौलिया माविलाई पहिलो चरणमा विद्यालय नसिङ्ग कार्यक्रम सञ्चालनको लागि छनौट गरेको हो । बाँकी सामुदायिक विद्यालयका लागि पनि विद्यालय नर्स नियुक्त हुने नगरपालिकाको भनाइ छ । 


विद्यार्थीको समग्र स्वास्थ्य, सरसफाई र पोषणमा प्रवद्र्धन गर्दै मानसिक स्वास्थ्य र किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अवस्थामा सुधार ल्याउन विद्यालय नर्सिङ्ग सेवा कार्यक्रमको अवधारणा आएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । कार्यक्रमअनुसार नर्सहरुले विद्यालयमा स्वास्थ्य सम्बन्धी प्रवद्र्धनात्मक सेवा, पोषण सम्बन्धी सेवा, प्रतिकारात्मक सेवा, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन् । त्यस्तै उनीहरुले स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, पोषणको अवस्था मापदण्डअनुसार भए/नभएको यकिन गर्ने, विद्यार्थीको स्वास्थ्य स्थितिको लेखाजोखा गर्ने, घाउ, खटिरा तथा अपर्झट आइपर्ने स्वास्थ्य समस्याको व्यवस्था गर्ने, महिनावारीसँग सम्बन्धित समस्याको समाधानमा किशोरीलाई सहयोग गर्ने, दीर्घ रोग लागेको विद्यार्थीको कार्ययोजना बनाइ स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि गर्नेछन् ।  


सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न नमूना काम गर्दै आएको तिलोत्तमाले यो कार्यक्रम सञ्चालनपछि सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको थप आकर्षण बढ्ने विश्वास लिएको छ ।  नगरप्रमुख बासुदेव घिमिरेले विद्यालयबाटै स्वास्थ्य सेवा प्रवाहले बालबालिकाको स्वास्थ्यमा  सकारात्मक प्रभाव पार्ने बताउँदै यो कार्यक्रमले सामुदायिक विद्यालयमा थप आकर्षण बढाउने बताए । जनप्रतिनिधि आएसँगै सुरु गरिएका सुधारका कार्यक्रमले तिलोत्तमाका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको छ ।कोरोना महामारीको कारण हाल विद्यालयहरु बन्द रहेकोले नियुक्त गरिएका स्टाफ नर्सलाई कोरोना महामारी नियन्त्रण तथा बिरामीहरुको उपचारमा खटाउने तयारीमा नगरपालिका छ । केही नर्सलाई शंकरनगर आइसोलेशन सेन्टरमा बनाउने तयारीमा रहेको आइसियुमा खटाइनुको साथैं केहीलाई संक्रमितहरुको घर–घरमैं पुगी उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा अपडेट रहने गरी खटाइने नगरपालिकाको तयारी छ । 


यसैबीच नगरपालिकाले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत् नियुक्त भएका नर्सहरुको लागि सञ्चालन गरेको चार दिने सेवा प्रवेश सम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ । समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, प्रवक्ता सुरेन्द्र श्री, प्रेस सल्लाहकार बीपी गौतम, मुख्य प्रशिक्षक सस्मिता केसी, स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल, प्रकाश ज्ञवाली, प्रशिक्षार्थी मञ्जु न्यौपाने लगायतले विद्यालय नर्सिङ कार्यक्रमको महत्वको बारेमा प्रकाश पारेका थिए । 

कमेन्ट गर्नुहोस्