
२०७७ भाद्र १४
बुटवल । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै रुपन्देहीमा २० गतेसम्म लकडाउन थप गर्न सिफारिस गरिएको छ । आइतबार बसेको जिल्लास्तरीय कोभिड-१९ व्यवस्थापन केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई भदौ २० गतेसम्म लकडाउन थप गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २ गतेदेखि ७ गतेसम्म पहिलो पटक लकडाउन गरेको थियोे । संक्रमितको संख्या बढेपछि पुनः भदौ १४ गते राति १२ बजेसम्मका लागि लकडाउन थप गरिएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले आइतबार सांझ सूचना जारी गर्दै कोरोना संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको बताए । निषेधाज्ञा अवधिमा खाद्यान्न, फलफूल, तरकारी, माछा मासु, दुध तथा डेरीजन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन हुन पाउने छन् । बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने वा सहज आपूर्तिमा अवरोध गर्नेलाई कानुन बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्