लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्काकी छोरी -सागर न्यौपाने

IMG

खोज्दै थिए म तिमीलाइ पाठशाला अनि मन्दिरहरुमा

हराएको त म रहेछु बलात्कारी हरुको भिडहरुमा

चौतारी मा, भट्टि मा, दोबाटो मा, बजार मा,

चार भित्ता भित्र, पुरै छोपिएको त कतै अर्धनग्न शरिरहरुमा तिमी हिडिरह्यौ चुपचाप, न मैले जान्न खोजे न तिमिले जनाउन।  

सायद मेरो अनुहारमा पनि छर्लङ्ग बलात्कारी को मुकुट झल्किन्थ्यो।  र पो त तिमी तर्कियौ। अलि अलि गर्दै ओझेल पर्यौ।

आखिर

तिमी त्यही थियौ यौन का भोका राक्षस हरुको मस्तिष्कमा,  समाजको भेदभावका उदाहरणमा, फेमिनिज्म का भाषण मा, महिनावारी हुदा मन्दिर नछिरी बाहिर उभिनेको घुइचोमा अनि चुलोचौको, घरव्यवहार र संस्कार हस्तान्तरण  मा गुजुल्टिएकि। 

म त उल्लु थिए देखिन नत कोसिस नै गरे। तिमी त समझदार थियौ किन पोखिनौ कुन्ठाहरु मनका?


के म पनि यौन को प्यासी झै देखिन्थे र?

के मेरा आँखा पनि तिम्रा नितम्ब अनि छातितिर दौडिए र? 

सायद या भ्रम हुदो हो।


नत्र एक्लिएकी हुदि हौ। त्यो रात सडकको छेउमा गाडी कुरेर बसिरहेकी तिमी मैले बाइक रोकेर लिफ्ट दिदा तिमी फिक्का मुस्कानसहित टाउको हल्लाउँदै नकारिदियौ अनि अलिक पर सर्यौ। अनि म आफ्नो बाटो लागे।

के मैले बोकेको झोलामा पनि एसिड का बोटलका आकारहरु झल्किन्थे?

म कारण जान्न नखोज्ने मूर्ख अनि तिमी दबाइएको आवाजकी धनी। किन पोखिनौ भय?

 

मबाट तर्किन्थेउ तिमि। मायाप्रेम बाट जोगिन खोज्थेउ तिमि।

हुन त मैले सोधिन तिमिलाइ,

नत्र अनेक कुन्ठा,डर,रिसले भरिएर फुट्न लागेको मुटु हल्का बनाउथेउ होला। दुनिया भुलेर, अरुको बारे नसोचेर आफ्नो लागि जिउथेउ होला एकपल, सुनाउथेउ होला कसैले नसुनेका, सुन्न नचाहेका अनि सुनेर पनि नबुझेका भोगाइ।

भन्थ्यौ होला "गरेकी थिए प्रेम मैले पनि। सुम्पिएकी थिए शरीर। गरेकी थिए बिस्वास। खोलेकी थिए दिल। उ लगाउदै थियो चुकुल। होटल रुम को। म जीवन बिताउने कुरा गर्दा उ समय हेरिरहन्थ्यो। म मायाको कुरा गर्दा उ रातको कुरा निकाल्थ्यो। म फुलको कुरा गर्दा उ माली बनेर चुट्थ्यो। 

हो यस्तै थियो मेरो प्रेम"

गुलाफको फुल झै थिए म। पत्र पत्र गरि निकाल्यो।चुड्यो, एक-एक गरि।" 

रुन्थेउ होला, कराउथेउ होला, चिथोर्थेउ होला।

तर म पुरुष थिए।


के म पनि उस्तै रातको राक्षस देखिन्थे?


तिमी थियौ। तिमि  आँखा अगाडी नै गुमनाम थियौ। पल्लो कोठा मै चुपचाप थियौ। पल्लो घरमा रोइरहेकी थियौ। तल करेसाबारीमा चिच्याइरहेकी थियौ। पर सहरको ठूलो घरको कुनामा बसि सुक्क सुक्क आँसु लुकाइरहेकी थियौ।


तर मैले खोजिन। खोजे तर भेटिन। हैन, भेटे तर वास्ता गरिन।


त्यसैले त तिमी भेटिन्छेउ करेसाबारिमा अर्धनग्न, अचेत अनि रगताम्य। 

उखुबारिमा यौनाङ्ग क्षदबिक्षद पारिएको, चिथोरिएको, लुटिएको, हारेको अनि अचल।

अस्पतालको बेडमा,जङ्गलमा, खोलामा जलेको अनुहार सहित।


पत्रपत्रिका को हेडलाइनमा, टेलिभिजनको ब्रेकिङ न्युजमा 

अनि सामाजिक सन्जाल अनि रेडियो मा। अनेक नामले

  "बालिक बलात्कृत" " महिला हिंसा" "एसिड प्रहार" अनि अरु,अरु।

कमेन्ट गर्नुहोस्