लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डलर भाडा हटाउने सरकारको तयारी, वायुसेवा कम्पनीको चर्को विरोध

IMG
सरकारले आन्तरिक उडानमा विदेशी यात्रुका लागि २०२८ सालदेखि लागू हुँदै आएको डलर भाडा हटाएर नेपालीले तिर्ने अधिकतम सीमा लागू गर्ने तयारी गरेपछि वायुसेवा कम्पनीहरू रुष्ट बनेका छन्। हवाई भाडा पुनरावलोकन समितिले नेपाली र विदेशी नागरिकसँग लिइने हवाई भाडामा एकरूपता गर्न डलर फेयर हटाउन सिफारिश गरेको हाे।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाको संयोजकत्वमा रहेको हवाई भाडा पुनरावलोकन समितिले पाँच वटा सेक्टर बाहेक सबै क्षेत्रमा लागू रहेको डलर भाडा हटाउन सरकारलाई सिफारिश गरेको हो। समितिले सोलुखुम्बुको लुक्ला, चितवनको भरतपुर, मुस्ताङको जोमसोम, कास्कीको पोखरा र संखुवासभाको तुम्लिङटार विमानस्थलमा हुने उडानमा मात्र विदेशी नागरिकसँग डलरमा हवाई भाडा लिन पाइने सिफारिश गरेको छ। 

यी बाहेक देशभरका सबै विमानस्थलमा उडान गर्दा यात्रा गर्ने विदेशीसँग लिइँदै आएको डलर भाडा हटाउन सिफारिश गर्दै प्राधिकरण मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाइएको प्राधिकरण स्रोतले हिमालखबरलाई बतायो।अहिले आन्तरिक वायुसेवाले विदेशी यात्रुबाट सबै उडान सेक्टरमा डलरमा भाडा लिने गरेका छन्। यस्तो भाडा नेपाली यात्रुको तुलनामा विदेशीलाई चार गुणासम्म महँगो पर्ने गर्छ।प्राधिकरणका उपमहानिर्देशक थापा संयोजक रहेको समितिमा पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल, प्राधिकरणकै उपप्रबन्धक हिराचन काफ्ले, नेपाल वायुसेवा निगमका सौरभ रिजाल र पर्यटन मन्त्रालयका पूर्व उपसचिव प्रभा वैद्य सदस्य छन्। त्यस्तै समितिमा वायुसेवा सञ्चालक संघका उपाध्यक्ष तथा यती एअरलाइन्सका सीईओ अनोज रिमाल र संघका महासचिव तथा समिट एअरका प्रबन्ध निर्देशक मनोज कार्की पनि छन्। 

हवाई भाडा पुनरावलोकन समितिको पहिलो बैठकमै ‘डलर फेयर’ हटाउने प्रस्ताव आएपछि वायुसेवाको सञ्चालक संघबाट प्रतिनिधित्व गर्ने दुवै जनाले असहमति जनाउँदै त्यसपछिका बैठकमा बसेका थिएनन्। त्यसपछि समितिले सरकारी वायुसेवा संघ बाहेकका प्रतिनिधि बसेर भाडादर तय गरेको हो। नयाँ भाडादर सहितको सिफारिश प्रतिवेदन समितिले गएको ३२ साउनमा प्राधिकरणलाई बुझाएको थियो। प्राधिकरणले त्यसलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको हो।

कमेन्ट गर्नुहोस्