
भक्तपुर । सूर्यविनायक नगरपालिका २ स्थित बालकोट मिट सपले खसीको मासु प्रतिकिलो १ हजार ६ सयमा बिक्री गर्दै आएको छ । बजारमा खसीको अभाव देखाउँदै व्यवसायीले मासुको मूल्य प्रतिकिलो ४ सय रुपैयाँसम्म वृद्धि गरेका हुन् । लकडाउनअघिसम्म प्रतिकिलो १ हजार २ सयमा बिक्री हुँदै आएकोमा अहिले १ हजार ६ सय पुगेको हो ।
बालकोटमा मात्रै होइन, जिल्लाका अधिकांश मासु पसलमा लकडाउन भएसँगै खसीको मासु प्रतिकिलो ५ सयसम्म वृद्धि गरिएको छ ।
बालकोट मिट सपका सुनिल शाहीले लकडाउनपछि खसीको अभाव भएकाले मूल्य वृद्धि भएको दाबी गर्नुहुन्छ । ‘लकडाउन हुनुअघि प्रतिकिलो १ हजार २ सयमा खसीको मासु बिक्री गरिन्थ्यो ।’ उहाँ भन्नुहुन्छ, अहिले त खसी नै पाइँदैन, पाइए पनि जिउँदो खसी नै प्रतिकिलो ८ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ ।’
कुखुराको मासु प्रतिकिलो ३ सय ५० मा बिक्री गर्ने गरेको छ । कुखुरा सहजै पाइने भएकाले मासुको पनि खासै वृद्धि नभएको उहाँको दाबी छ । भक्तपुर सूर्यविनायक चोकका सूर्यविनायक मिट सपका सञ्चालक सूर्यबहादुर शाहीले खसीको मासु प्रतिकिलो रु १ हजार ६ सयमा बिक्री गरेको बताउनुभयो ।
वैशाख १ गते १ हजार ८ सयसम्ममा बिक्री गरेको बताउँदै खसीको अभावले मासुको भाउ पनि बढेको उहाँको दाबी छ । व्यापारीले जिउँदो कुखुरा प्रतिकिलो १ सय ९० रुपैयाँमा ल्याउने गरे पनि तयारी मासु भने ३ सय ५० मा बिक्री गर्ने गरेका छन् । लकडाउनमा मासु व्यापारीले मनोमानी मूल्य राखेर चर्को भाउमा बेच्ने गरेको अनुगमनका क्रममा पनि पाइएको छ । व्यवसायीले बजारमा मासुको मनपरी मूल्य निर्धारण गरी बिक्री गरेपछि भक्तपुर नगरपालिकाले पसलहरुमा छापा मारेको छ ।
नगरपालिकाले मंगलबार बिहान विभिन्न पसलमा छापा मार्दा व्यापारीले मनोमानी मूल्यमा मासु बिक्री गरेको पाइएको हो । भक्तपुर नगरपालिका बजार अनुगमन समिति संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालासहितको टोलीले मासु पसलको आकस्मिक अनुगमनमा गर्दा कालोबजारी गरेर मासु बिक्री गरेको पाइएको हो । कोभिड–१९ महामारी नियन्त्रण गर्न गरिएको लकडाउनका बेलामा कुखुराको मासु प्रतिकिलो ३ सयसम्म र खसीको १ हजार ५ सयसम्म लिई मनपरी मूल्यमा कालोबजारी गरेको पाइएको संयोजक गोराले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा भक्तपुरको केजी कोल्ड स्टोर, ख्वप कोल्ड स्टोर, पूर्ण शाहीको खसी र कुखुराको मासु पसल, भक्तपुर भ्याली कोल्ड स्टोरलगायतले दर्ता नवीकरण नगरेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको, खसीको मासु महँगोमा बिक्री गरेको, मासुको मनपरी मूल्य लिएको, मूल्य सूची नराखेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, फ्रिज चलाएको नमिलेको, मासु जालीले छोपेर नराखेको पाइएपछि तत्काल त्यस्ता गल्ती सुधार्न सचेत गराएको थियो ।
अनुगमन टोलीका राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापाले लकडाउनयता मासु पसलदेखि अन्य दैनिक उपभोग्य वस्तुमा मनोमानी मूल्य निर्धारण गरेर कालोबजारी गरेको पाइएको जानकारी दिनुभयो ।
स्थानीय तहले प्रभावकारी ढङ्गले लकडाउनमा बजार अनुगमन गर्न नसक्दा मनोमानी मूल्य लिएको, सुरक्षा सामग्री मास्क, पञ्जा, सेनिटाइजरको प्रयोग नगरेको, एक मिटरको दूरी कायम नगरेको पाइएको उहाँले जानकारी दिनुभयो । (राससबाट)
कमेन्ट गर्नुहोस्