
नेपालको लागि यो वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ०७ मिनेटमा रहेको छ। बिहान सबेरैदेखि घरघरमा चहलपहल सुरु भइसक्यो होला, दिदीबहिनीहरू दाजुभाइलाई टीका लगाउन माइती पुगिसक्नुभयो होला भने कति जना दाजुभाइ आउने प्रतीक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुहुन्छ कि? झिलिमिली, उज्यालो, पशुपन्छीको पूजा, भाइबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्तीजस्ता विशेषता बोकेको तिहार आएको छ।
हिजोसम्म त बजारहरू नै फूल र मालाले पहेँलपुर थिए। किनमेल भयो त?
सप्तरङ्गी टीका, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजु, किसमिस, नरिवल, छोकडा, मिठाई, मरमसलालगायतका खानेकुराहरूसहित आज दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ।
भाइटीकाका विषयमा जनउक्ति
भाइटीकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ। एक पटक एउटी चेलीले आफ्नो दाजुलाई टीका लगाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आइपुग्छ। यमदूतका अनुसार उनका दाजुको आयु पुगिसकेको हुन्छ र अब उनको मृत्यु निश्चित हुन्छ। ती चेलीले यमदूतलाई टीका–टालो नसकुन्जेलसम्म पर्खिन भन्छिन् र टीका–टालाका क्रममा यमदूतलाई पनि सँगै राखेर टीका–टालो लगाई पूजा गर्छिन्। यसरी चेलीको श्रद्धा र सम्मानबाट खुसी भएका यमदूतले प्रसन्न भएर चेलीसँग वरदान माग्न भन्छन्। उनले आफ्ना दाजुलाई नलैजानुहोस् भनी वरदान मागेर दाजुलाई बचाउँछिन्। अर्थात्, चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्छ भन्ने जनविश्वास रहेको छ।यमराजले पनि आफ्नी बहिनीसँग यमपञ्चकको पाँचौँ दिन टीका लगाउँदा बहिनीले वरदानस्वरूप हरेक वर्ष दाजुलाई यसै गरी टीका लगाउन र पूजा गर्न पाऊँ भन्ने वरदान मागेकाले भाइटीकाको चलन चलिआएको किंवदन्ती रहेको छ।विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।
स्थान र देश, मिति, टीकाको साइत (स्थानीय समयानुसार)
१ .काठमाडौं, नेपाल, कार्तिक २५ गते, प्रात: ११:०७
२.दिल्ली, भारत ,११ नोभेम्बर प्रातः ११:२१
३.न्युयोर्क, अमेरिका, १० नोभेम्बर प्रातः ११:२५
४.फ्रयांकफर्ट,केन्टुकी, अमेरिका, १० नोभेम्बर प्रातः ११:२३
५.वोवेन्सवोरो, केन्टुकी, अमेरिका १० नोभेम्बर प्रात: ११:१३
६.टेक्सास, अमेरिका, १० नोभेम्बर प्रातः ११:३५
७.क्यालिफोर्निया, अमेरिका, १० नोभेम्बर प्रातः ११:०५
८.टोरेन्टो, क्यानडा, १० नोभेम्बर प्रातः ११:५७
९.भ्यानकुभर, क्यानडा, १० नोभेम्बर प्रातः ११:५५
१०.टोकियो, जापान, ११ नोभेम्बर प्रातः११:०१
११.सिड्नी, अस्ट्रेलिया,११ नोभेम्बर प्रातः ११:४५
१२.मेलवर्न, अस्ट्रेलिया, ११ नोभेम्बर प्रातः ११:५०
१३.ब्रिसबेन, अस्ट्रेलिया,११ नोभेम्बर प्रातः १०:५५
१४.क्यानबेरा, अस्ट्रेलिया,११ नोभेम्बर प्रातः ११:२१
१५.एडीलेड,अस्ट्रेलिया, ११ नोभेम्बर प्रातः ११:२९
१६.न्युजिल्याण्ड,११ नोभेम्बर प्रात: ११:५५
१७.पर्चुगल,१० नोभेम्बर प्रात: ११:५७
१८.लण्डन, बेलायत, ११ नोभेम्बर प्रात: ११:३१
१९.पेरिस, फ्रान्स, १० नोभेम्बरप्रात: ११:३५
२०.ओस्लो, नर्वे, १० नोभेम्बरप्रात: ११:५५
२१.मलेसिया, ११ नोभेम्बर प्रात: ११:३३
२२.यु.ए.ई.,११ नोभेम्बर प्रात: ११:११
२३.दोहा, कतार,११ नोभेम्बर प्रात: ११:२५
२४.थाईल्याण्ड, ११ नोभेम्बर प्रात: १०:५७
२५.दक्षिण कोरिया, ११ नोभेम्बर प्रात: ११:५५
२६.इजरायल, १० नोभेम्बर प्रात: ११:०१
२७.सिङ्गापुर,११ नोभेम्बर प्रात: ११:२३
२८.हङ्कङ्ग, ११ नोभेम्बर प्रात: ११:१५
२९.साउदी अरेबिया,११ नोभेम्बर प्रातः ११:५१
३०.याङ्कन, म्यानमार,११ नोभेम्बर प्रात: ११:५७
३१.स्वीट्जरल्याण्ड,१० नोभेम्बर प्रात: ११:४५
३२.तस्मनिया,अस्ट्रेलिया ११ नोभेम्बरप्रात: ११:०३
३३.वासिङ्टन डि.सी १० नोभेम्बरप्रात: ११:३३
३४.पर्थ,अस्ट्रेलिया ११ नोभेम्बर प्रात: ११:११
३५.फिनल्याण्ड ११ नोभेम्बर प्रात :११:४५
-तिहारको हार्दिक शुभकामना !!
दिदीबहिनीले पान, सुपारी, नरिवल या मिठाईलगायतका कुराहरू दिएर दसैँ पछि दाजुभाइलाई भाइटीकाको निम्तो दिने चलन छ। यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीबहिनीसँग टीका लगाउँछन्। टीका लगाउनुअघि दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्न भुइँमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल–पानी राखेर हरियो दुबोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ। त्यसपछि अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार पारिएको लाभा छर्कँदै कलशको पानीलाई दुबोले अभिषेक गर्दै पूजा गरिन्छ। यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठूलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि, ढोकामा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ। कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य र दीर्घायुको कामना गर्ने चलन छ।
शिरमा तोरीको तेल लगाएर दाजुभाइको कपाल कोरेर अनि सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन्। सप्तरङ्गी टीकाको रङ एकअर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरू आफ्नो गच्छेअनुसार फलफूल, नैवेद्य, मरमसला दाजुभाइलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसारको दक्षिणा या अन्य उपहार दिदीबहिनीको पाउमा राखेर ढोग्दछन्।आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्। दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठमन्दिरमा अनि काठमाडौँको रानीपोखरीमा गएर टीका लगाउने अनि सामूहिक भाइटीकामा सहभागी हुने चलन पनि छ।
कहाँकहाँ मनाइन्छ भाइटीका?
आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजुभाइ तथा दिदीबहिनीको भेटघाट हुँदै छ। आपसमा माया र सद्भाव साटासाट हुँदै छ। नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यो चाड आ–आफ्नै तरिकाले मनाउने चलन छ। भ्रातृत्व र आत्मीयताको यो दिन साँच्चै नै अत्यन्त महत्त्वपूर्ण र रमाइलो हुन्छ।यस महान् पर्व तिहारको आज पाँचौँ दिन यमपञ्चकको औपचारिक अन्त्य हुँदै छ। दसैँलाई बिस्तारै बिदा गरेर तिहारको रमाइलोमा लुटपुटिँदै गर्दा तिहारको झटपट बिदाइले साह्रै नरमाइलो पनि लाग्छ। बिदाहरू सकिएर अब विद्यालयहरू सुचारु हुन्छन्, कार्यालयमा पनि नियमित दैनिकीका कामकाजले आफ्नो गति लिन थाल्दछ। हिउँदका छोटा दिनहरू बढ्दै जाँदा न्यानो कपडा अनि तातो खानपानसमेत प्राथमिकतामा पर्न थाल्दछ।
कमेन्ट गर्नुहोस्