लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साढे दुई दशकपछि चल्न थाल्यो हेटौँडा कपडा उद्योग

IMG

काठमाण्डौ - साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल भएको छ ।सरकारले नेपाली सेनालाई उद्योग मर्मत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि आज प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवम् प्रधानमन्त्री वालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै ४० जना प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर सरसफाइ र मेसिनको प्रारम्भिक मर्मत गरी परीक्षण सञ्चालन गरेका हुन् ।


परियारले आफ्नो फेसबुकमा कपडा बुन्ने तान चलेको भिडियो सामग्री राख्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको ‘खट्खट्’ आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ । चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापित यस उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण २०५६ सालदेखि बन्द भएको थियो ।


गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त ३० लाख रुपैयाँ बजेटमा मर्मत कार्य अघि बढाइएको हो । सेनाको अध्ययन प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आफ्नै १६६ रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन सुरु भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपडाको माग सहजै परिपूर्ति हुने विश्वास लिइएको छ । 

कमेन्ट गर्नुहोस्