
बुटवल। आर्थिक मन्दी, सरकारी विज्ञापनमा आएको कमी र डिजिटल रूपान्तरणका चुनौतीबीच नेपाली सञ्चार क्षेत्रमा महिला सञ्चारकर्मीको भूमिका, सुरक्षा र नेतृत्वका विषयमा बुटवलमा दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा सञ्चारिका समूह लुम्बिनी प्रदेशको समन्वयमा असार १७ र १८ गते सम्पन्न ‘लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालनका लागि सञ्चारकर्मी महिलाको भूमिका’ विषयक कार्यक्रममा लुम्बिनी प्रदेशका १० जिल्लाका महिला पत्रकार सहभागी थिए।कार्यक्रममा सञ्चार क्षेत्रको आर्थिक संकट, डिजिटल पत्रकारितामा महिलाका अवसर र चुनौती, साइबर हिंसा, न्यून पारिश्रमिक, अस्थिर रोजगारी, नेतृत्वमा सीमित पहुँच तथा सुरक्षित कार्यस्थलका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले महिला सञ्चारकर्मीका लागि प्रविधिमैत्री तालिम, सुरक्षित कार्य वातावरण, संस्थागत संरक्षण र लैङ्गिकमैत्री नीति आवश्यक रहेको निष्कर्ष निकाले।
दोस्रो दिन ‘बुटवल घोषणा–पत्र २०८३’ जारी गर्दै महिला सञ्चारकर्मीको अधिकार, सुरक्षा, सम्मान र नेतृत्व सुनिश्चित गर्न १३ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ। घोषणा–पत्रमा समान अवसर, समान कामको समान पारिश्रमिक, ९८ दिनको सुत्केरी बिदाको कार्यान्वयन, सामाजिक सुरक्षा, कार्यस्थलमा हुने लैङ्गिक हिंसा तथा यौनजन्य दुर्व्यवहारको अन्त्य, नेतृत्व विकास, डिजिटल सीप अभिवृद्धि र ग्रामीण पत्रकारलाई प्रविधिको पहुँच विस्तार गर्नुपर्ने विषय समेटिएका छन्। साथै महिलाले नेतृत्व गरेका सञ्चारगृहलाई लैङ्गिकमैत्री बजेट उपलब्ध गराउन र समावेशी तथा उत्तरदायी पत्रकारितालाई प्रवर्द्धन गर्न आग्रह गरिएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले घरेलु हिंसाविरुद्ध सञ्चारमाध्यमको प्रभावकारी भूमिका आवश्यक रहेको बताए। सञ्चारिका समूह नेपालका केन्द्रीय अध्यक्ष कमला पन्थ, प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भगवती अधिकारी घिमिरे र सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले महिला सञ्चारकर्मीका लागि सुरक्षित, सम्मानजनक र अवसरयुक्त कार्य वातावरण निर्माणमा सरकार, सञ्चार संस्था र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।दुईदिने कार्यक्रमले महिला सञ्चारकर्मीको पेशागत सुरक्षा, लैङ्गिक समानता र डिजिटल रूपान्तरणका विषयमा साझा प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यदिशा तय गरेको आयोजकले जनाएको छ।
संञ्चारिका समूह लुम्बिनीद्धारा पत्रकार महिलाहरुको लुम्बिनी प्रदेश बुटवल घोषणा पत्र २०८३ घोषणा–पत्र तयारी समितिमा संयोजक पार्वती पाण्डे तथा सदस्य कल्पना तिवारी र रुपा गहतराज थिए । समितिले सहभागीहरूको सुझाव, प्यानल छलफल र समूहगत बहसबाट आएका निष्कर्षलाई समेट्दै ‘लुम्बिनी घोषणा–पत्र २०८३’ तयार गरी सार्वजनिक गरेको हो।
कमेन्ट गर्नुहोस्