
तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले दलित समुदायका उद्यमीहरूको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले उद्यम औजार, मेसिन तथा आवश्यक सामग्री वितरण गरेको छ।
आर्थिक विकास समितिका संयोजक तथा तिलोत्तमा–६ का वडा अध्यक्ष गणेश पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाण प्रमुख अतिथि तथा उपप्रमुख जागेश्वर देवी चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख रामकृष्ण खाणले नगरपालिकाले सीपसँगै आवश्यक औजार उपलब्ध गराएर उद्यमीलाई आत्मनिर्भर बनाउने नीति लिएको बताउनुभयो। उहाँले वितरण गरिएका सामग्रीको सदुपयोग गर्दै आयआर्जन वृद्धि गर्न र सफल उद्यमीका रूपमा स्थापित हुन आग्रह गर्नुभयो। उत्पादनमुखी कार्यक्रमले स्थानीय रोजगारी सिर्जना गर्दै नगरको आर्थिक विकासमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो।
विशिष्ट अतिथि उपप्रमुख जागेश्वर देवी चौधरीले महिलासहित दलित समुदायको आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले प्राप्त सामग्रीको सही उपयोग गरी व्यवसाय विस्तार गर्न आग्रह गर्दै नगरपालिकाले उद्यमशीलता विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक गणेश पाठकले सीप सिकेका व्यक्तिलाई व्यवसाय सञ्चालनका लागि आवश्यक औजार उपलब्ध गराउनु नगरपालिकाको उद्देश्य रहेको बताउनुभयो। उहाँले औजारको प्रभावकारी प्रयोग गरी आफ्नै गाउँ–ठाउँमा रोजगारी सिर्जना गर्न उद्यमीलाई आग्रह गर्दै नगरपालिकाले उत्पादन र स्वरोजगारलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
कार्यपालिका सदस्य राधा शाहीले लक्षित वर्गको जीवनस्तर उकास्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। कार्यपालिका सदस्य राधा शाहीले उद्यमशीलतामार्फत दलित समुदायको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सीप, श्रम र आधुनिक औजारको संयोजनले दिगो आयआर्जन सम्भव हुने बताउँदै वितरण गरिएका सामग्रीलाई व्यवसायिक रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो।
सामाजिक विकास शाखा प्रमुख विनोद ज्ञवालीले उपस्थित सबैलाई स्वागत गर्दै नगरपालिकाले सीप विकाससँगै उद्यम प्रवर्द्धनलाई जोड दिँदै लक्षित समुदायलाई आत्मनिर्भर बनाउने गरि आबेदन आब्हान गरेर सामाग्री बितरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।कार्यक्रममा कार्यपालिका सदस्यहरू सुरेन्द्र श्री, राधा शाही, रवि सेन्चुरी तथा सामाजिक विकास शाखा प्रमुख विनोद ज्ञवालीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन मेड्पा शाखा प्रमुख शान्ता बिकले गर्नुभएको थियो।
कार्यक्रममा करिब १७ जना दलित उद्यमीलाई सिलाइ–कटाइ मेसिन, आरन सञ्चालनका सामग्री, मोटर, पम्प लगायत विभिन्न उद्यम सञ्चालनका लागि आवश्यक औजार तथा मेसिन वितरण गरिएको थियो। सहभागीहरूले प्राप्त सामग्रीले आफ्नो व्यवसाय विस्तार गर्न र आयआर्जन बढाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्