लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीका सबै स्थानीय तहले नदीजन्य पदार्थ उपलब्ध गराउने

IMG

बुटवल, जेठ २७ गते । रुपन्देहीका सबै स्थानीय तहले महत्वपूर्ण विकास आयोजनाका लागि आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । नदीजन्य पदार्थको अभावमा बुटवल–गोरुसिङ्गे सडक आयोजनाको काम प्रभावित भइरहेका बेला पालिकाहरूको घुम्ती बैठकले आर्थिक वर्ष २०८३/८४ देखि समयमै नदीजन्य पदार्थको ठेक्का गरी आवश्यक नदीजन्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।  जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा जिल्लाका स्थानीय पालिकाहरूबिचको ३० औँ घुम्ती बैठकमा नदीजन्य पदार्थको अभाव, निर्माण सामग्रीको मूल्यवृद्धिलगायतका विषयले निर्माण आयोजना प्रभावित भएको र निर्धारित मितिमा काम गर्न समस्या भइरहेको विषयमा छलफल गरिएको थियो । देवदह नगरपालिकाका प्रमुख धु्रव खरेलले जिल्ला समन्वय समितिको आयोजनामा हुने घुम्ती बैठकले गर्ने निर्णय कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएकाले निर्णय कार्यान्वयनमा जोड दिनुभयो । 


बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले यो वर्ष नदीजन्य पदार्थ ठुला आयोजनालाई दिने अवस्था नरहेको भन्दै यसलाई क्रमागत आयोजनाका रूपमा नगर सभामा लैजाने प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले नदीजन्य पदार्थको १० वटा टेन्डर आह्वान गरिएको तर निर्माण व्यवसायीले दर दररेटको कारण देखाएर बिडिङ नगरेकाले नदीजन्य पदार्थ ठुला आयोजनालाई दिन नसकिएको बताउनुभयो ।   

कमेन्ट गर्नुहोस्