लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आदिवासी जनजाति तथा सिमान्तकृत पत्रकारलाई एआई सम्बन्धी तालिम

IMG

बुटवल । आदिवासी जनजाति तथा सिमान्तकृत समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तालिम मंगलबार एक समारोहका बीच समापन गरिएको हो।


समापन समारोहलाई सम्बोधन गर्दै खेलराज पाण्डेय ले पत्रकारिता क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा पत्रकारहरूको क्षमता विकासका लागि बुटवल उपमहानगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो। पत्रकार तथा आम नागरिकप्रति राज्यको दायित्व रहने उल्लेख गर्दै उहाँले नागरिकको समृद्धि र विकासका लागि उपमहानगरपालिकाले कुनै सम्झौता नगरी काम गरिरहेको स्पष्ट पार्नुभयो।नगर प्रमुख पाण्डेयले समावेशी र उत्तरदायी पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै मूलधारको पत्रकारितामा आदिवासी जनजाति, महिला तथा सिमान्तकृत समुदायका मुद्दा र आवाजलाई स्थापित गर्न उनीहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले यस्ता समुदायबाट आएका पत्रकारहरूलाई मूलधारमा थप अवसर र पहुँच प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।


कार्यक्रममा सरु राना, सनु थापा, कमल चौधरी, थर्क बहादुर बारघरे मगर, माया केसी, कृष्ण रणपाल तथा तेज बहादुर गुरुङ लगायतले तालिमले पत्रकारहरूलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।दश दिनसम्म सञ्चालन भएको तालिममा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, खोज पत्रकारिता, डिजिटल तथा अनलाइन पत्रकारिता, फोटो तथा भिडियो सम्पादन, सञ्चार प्रविधिको प्रभावकारी उपयोग लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा सहभागी पत्रकारहरूले आधुनिक पत्रकारितामा आवश्यक सीप र ज्ञान हासिल गरेको आयोजकले जनाएको छ।तालिममा उमङ्ग निरौला, चित्र गुरुङ, कमल चौधरी, विष्णु भट्टराई, यम राना तथा डिबी सुस्लिङ लगायतले सहजीकरण गर्नुभएको थियो।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष मीन राना को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष राज चौधरी ले गर्नुभएको थियो भने सञ्चालन सचिव आकृति थापा ले गर्नुभएको थियो।तालिमले आदिवासी जनजाति तथा सिमान्तकृत समुदायका पत्रकारहरूलाई आधुनिक सञ्चार प्रविधि र एआईको प्रयोगमार्फत व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कमेन्ट गर्नुहोस्