लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सीमा क्षेत्रबाट सात लाखका सामान बरामद

IMG

पश्चिम नवलपरासी, जेठ २६ गते । पश्चिम नवलपरासी प्रहरीले सीमा क्षेत्रबाट हुने अवैध चोरी–तस्करी तथा भन्सार छलीविरुद्धको अभियानलाई तीव्र बनाएसँगै जिल्लामा यस्ता गतिविधि घट्दै गएको जनाएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै हुने अवैध आयात–निर्यात नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय तथा मातहतका सुरक्षा निकायले विशेष रणनीतिसहित निगरानी बढाएका हुन्।


प्रहरीको बढ्दो सक्रियताका कारण पछिल्लो २४ घण्टामा मात्रै जिल्लाका विभिन्न स्थानबाट झण्डै सात लाख रुपैयाँ बराबरका अवैध सामान तथा सवारीसाधन नियन्त्रणमा लिइएको छ। खाद्यान्न, पशुचौपाया, अवैध ब्रोइलर कुखुरा, लत्ताकपडा, चिजबिज तथा किराना सामग्री भन्सार छली गरी ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको हो। बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले ‘शून्य सहनशीलता’ (जिरो टोलरेन्स) नीतिका कारण जिल्लामा तस्करीका गतिविधि निरुत्साहित हुँदै गएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले केही समययता सीमा क्षेत्रका सबै नाका र गस्ती टोलीलाई २४सै घण्टा ‘हाई अलर्ट’मा राखेका छौँ। स्थानीय तहमा हुने सानातिना भन्सार छलीदेखि संगठित तस्करीका रुट र सञ्जाल पहिचान गरी राज्यको राजस्व चुहावट रोक्न तथा कानुनी शासनको प्रत्याभूति दिलाउन प्रहरी सक्रिय छ। बदमासी गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याइनेछ।”


विशेषगरी खाद्यान्न, पशुचौपाया, अवैध ब्रोइलर कुखुरा, लत्ताकपडा तथा विभिन्न पाटपुर्जाको तस्करी नियन्त्रणमा प्रहरीले पछिल्लो समय उल्लेखनीय सफलता हासिल गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाले सूचना सङ्कलन र मोबाइल गस्तीलाई थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पछिल्लो समय हामीले आकस्मिक चेकजाँच (सरप्राइज चेकिङ) र मोबाइल गस्तीलाई निकै बढाएका छौँ। विशेष सूचनाका आधारमा रातिको समयमा तथा भित्री सडकमा समेत कडा निगरानी राख्ने गरिएको छ। सरावल, रामग्राम, बर्दघाटलगायत क्षेत्रबाट भन्सार छली गरी ल्याइएका लाखौँ रुपैयाँका सामान, गाडी तथा मोटरसाइकल नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाउने क्रम बढेको छ।”


प्रहरीले तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिने तथा सीमा सुरक्षामा खटिएका अन्य सुरक्षा निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।


स्थानीयवासीले पनि प्रहरीको सक्रियताको प्रशंसा गर्दै सीमा क्षेत्रमा तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण हुँदा शान्ति सुरक्षाको अवस्था सुधारिएको महसुस भएको बताएका छन्।

कमेन्ट गर्नुहोस्