
तुलसीपुर,वैशाख १८ गते । काठमा सामग्रीप्रति आकर्षण बढ्न थालेपछी उत्पादनका लागि ती सामग्री बनाउने जनशक्तिसमेत बढाउन सुरु गरिएको छ ।
प्लास्टिकका भाडामा सामग्री राखेर प्रयोग गर्नाले स्वास्थ्यमा असर पुग्ने भन्दै बजार क्षेत्रमा समेत यस्ता सामग्रीको माग बढेको छ।
काठका सामग्री निर्माणमा समन्वय, बजारीकरण गर्दै आएको तुलसी सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक गणेश भण्डारीले काठका सामग्रीको बजारमा माग बढेपछि उत्पादन गर्ने जनशक्तिसमेत वृद्धि गर्न थालिएको बताउनुभयो । उहाँले पहिलो चरणमा २८ जना महिलाले घरमै बसेर त्यस्ता सामग्री निर्माण गरी आर्थिकरूपमा आत्म निर्भर बनाउनका लागि गिठोको रुख बढी पाइने क्षेत्रका सामुदायिक वनका महिला र पुरुषलाई तीन महिनासम्म सिप सिकाउन थालिएको बताउनुभयो।
संयोजक भण्डारीले उत्पादन गरेका काठका सामग्रीको बजारीकरणसमेत गरिने बताउनुभयो । परम्परादेखि ठेकीमा दही जमाउने,मोही पार्ने, चौठ्ठीमा घिउ, तेल, चुक राख्ने गरिन्थ्यो ।
भुल्के सामुदायिक वनका सदस्य पूर्ण पुनले वनको भीर,पाखामा गिठाका रुख पाइने गरेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका-१९ को भुल्के, कालिका मालिका, सिदेथरी सामुदायिक वनमा गिठाका रुख पाइने गर्दछ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले वडाको उत्तरीतर्फका सामुदायिक वनमा पर्याप्त मात्रामा गिठाका रुख पाइने भएकाले यसको गिठोका सामग्रीको व्यवसायिकरूपमा निर्माण गर्ने वडावासीलाई वडाको तर्फबाट काठका सामग्री निर्माणका लागि आवश्यक पर्ने औजार सहयोग गर्ने बताउनुभयो ।
काठका सामग्री बनाउन आएकी तुलसीपुर-१९, पकर्रेकी सुन्तली चौधरीले सिप सिकेपछि व्यवसायिकरूपमै बनाउने बताउनुभयो। तुलसीपुर उपमहानगरपालिका-३, भट्टेका नैनसिहं विश्वकर्मा ३६ वर्षदेखि काठका विभिन्न सामग्री बनाउँदै आउनुभएको छ ।
नैनसिंहले एक वर्षमा एक हजारभन्दा बढी काठका विभिन्न सामग्री बनाउँदै आउनुभएको छ । उहाँले ठेकी, माना, पाथी, बेला, बाटा, मादल, चिया पिउने कप बनाउँदै आउनुभएको छ ।
ठेकीको मूल्य प्रति माना तीन सय रुपियाँ, मादल एक हजार दुई सयदेखि छ हजारसम्म,चिया पिउने कपको मूल्य भने पाँच रुपियाँमा बिक्री हुँदै आएको छ ।
नैनसिंहले बनाउनुभएका काठका सामग्री दाङ जिल्लासहित प्यूठान,कपिलवस्तु जिल्लामा बिक्री गर्दै आउनुभएको छ भने बाग्लुङ, कास्की जिल्लाबाट समेत धेरै माग आएको तर आफूले उत्पादन गर्न नसकेको बताउनुभयो ।
एउटा गिठोका रुखको मूल्य तीन हजारदेखि तीस हजारसम्म पर्ने गर्दछ । तीस हजार रुपियाँ पर्ने गिठाको रुखबाट ६० देखि ६० वटासम्म काठका ठेकी बनाउन सकिने नैनसिंह बताउनुहुन्छ ।
कमेन्ट गर्नुहोस्