
बुटवल । बुटवलमा शनिबार राती प्रहरीले चलाएको 'अपरेसन साइलेन्ट स्ट्रिट' अभियानबाट करिब २ दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय बुटवलले शनिबार राती कालिका पथ क्षेत्रमा यो अभियान सञ्चालन गरेको हो ।विशेष गरी रातको समयमा चर्को स्वरमा आवाज निकाल्ने मोटर साइकल, स्वरूप परिवर्तन गरिएका तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई कारबाही गर्ने उद्देश्यसहित अपरेसन सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी गराए । बजार क्षेत्रमा शान्ति भङ्ग हुने गरी चर्को स्वरमा मोटर साइकल हुइँकाउँदा जनजीवन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले यो अभियान सञ्चालन गरिएको उनले बताए ।
प्रहरीले शनिबार राती ९ बजेदेखि सञ्चालन गरिएको अभियानमा २ घण्टामै करिब २ दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकल धनीलाई कानुनी प्रक्रिया अनुसार कडा कारबाही गरिने प्रनाउ श्रीवास्तवले बताए । यो अभियानलाई निरन्तरता दिँदै बुटवलका अन्य क्षेत्रमा समेत सर्च अभियान सञ्चालन गरिने उनले बताए ।बुटवलमा यसअघि पनि स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकल सर्च तथा कारबाही अभियान सञ्चालन गरेको थियो । उक्त अभियानपछि केही शान्त रहेको बुटवल पछिल्लो समय पुनः मोटरसाइकल पड्काउनेहरूले गर्दा अशान्त बन्दै गएको थियो ।
कमेन्ट गर्नुहोस्