
ओमसतिया। रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर जुध्दा २१ जना विद्यार्थी घाइते भएका छन् ।धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन् ।आज मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा यपचार गराइरहेका छन् भने ४ जना डिस्चार्ज भएर घर फर्केका छन् ।
नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको बस र लु३त ३५३० नं को ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले बताए ।बिहानपख बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी सापकोटाले बताए ।बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्